अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:३६ | Colorodo: 16:51

क्याल्गरिमा नेपाली पाठशालाको अभिभावक दिवस सम्पन्न

रुद्र दाहाल २०७७ साउन १ गते २२:०६ मा प्रकाशित

क्यानडा, २०२० जुन २८ का दिन नेपाली बालबालिकाहरूका लागि नेपलिज कम्युनिटी सोसाइटी अफ क्यालगरी द्वारा सञ्चालित नेपाली पाठशालाले अभिभावक दिवस “जूम” वाट सम्पन्न गरेको छ। बिश्वोभर फैलिएको कोरोना भाइरस माहमारिका कारण विगतका वर्षहरूमा झैँ सबै जना एकै ठाउँमा भेला भई कार्यक्रम गर्न नपाए पनि प्रविधिको प्रयोगद्वारा कार्यक्रम सम्पन्न गर्न पाएकोमा पाठशाला सञ्चालक समिति सबैमा धन्यवाद ज्ञापन गर्न चाहन्छ।  यो कार्यक्रमको सभापतित्व नेपलिज कम्युनिटी सोसाइटी अफ क्यालगरीका उपाध्यक्ष समीर पाण्डेयले गर्नु भएको थियो भने कार्यक्रम सञ्चालन पाठशालाकी प्रिन्सिपल बिना गजुरेलले गर्नुभएको थियो ।

कार्यक्रमको सुरुवात बालबालिकाहरूले गायत्री मन्त्रोच्चारण र सरस्वती वन्दना वाचनबाट गरेका थिए। तत्पश्चात् बिधार्थिद्वारा नेपाली राष्ट्रिय गान “सयौँ थुँगा फूलका हामी एउटै माला नेपाली” तथा क्यानेडियन राष्ट्रिय गान “ओ क्यानडा” गाइएको थियो। कार्यक्रममा पाठशालामा नेपाली भाषा अध्ययन गर्ने बिध्यार्थीहरुले कथा, कविता, चुट्किला ,नाच लगायतका राम्रा राम्रा प्रस्तुति गरेका थिए।

नेपाली पाठशालाको उद्देश्य, व्यवस्थापन, चुनौती आदीको बारेमा प्रस्ट पर्दै यसका भावी कार्यक्रमहरू र हालसम्मका गतिविधि सम्बन्धमा पाठशाला सञ्चालक समिति सदस्य सचिव शर्मिला रानाभाटले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो। त्यसै गरी उहाँले पाठशालामा आफ्नो अमूल्य समय दिई स्वयम् सेवा गर्ने ४ जना स्वयंसेवकहरूलाई विशेष धन्यवाद दिनुभएको थियो ।

अभिभावकको तर्फबाट नेपाली पाठशालाको आवश्यकता बारेमा पूजा ढकाल, निर्मल अर्याल तथा उषा चालिसले प्रकाश पार्नु भयको थियो, पाठशालाले गरेको योगदानका बारेमा बोल्दै बालबालिकाहरूले सामूहिक रूपमा महत्त्वपूर्ण चाडबाड मनाउन, नेपाली भाषा, कला, संस्कृति तथा साहित्यको माध्यमबाट सिक्ने र नेपाली भाषामा पठन पाठन गर्न सक्ने बनाउनुका साथै नेपालमा रहेका आफन्तसँग राम्रोसँग नेपाली भाषामै बोल्न सक्ने भएकाले नेपाली पाठशालाको योगदानको राम्रो सन्देश नेपालमा समेत रहेको पूजा ढकालले बताउनु भयो।

त्यसैगरि अभिभावक निर्मल अर्यालले कोरोना भाइरसको महामारीका बाबजुद पाठशालाले अन्लाईन कक्षाहरू सञ्चालन गरेकोमा आभार व्यक्त गर्नुभएको थियो । अर्को अभिभावक उषा चालिसेले सात समुन्द्र पारि रहेर समेत आफ्ना छोराछोरीलाई नेपाली भाषा कला संस्कृतिप्रति जानकार बनाई राख्ने काममा अतुलनीय कार्य गर्न सफल नेपाली पाठशालाको प्रशंसा गर्दै आगामी दिनहरूमा अझ उन्नति एवम् प्रगतिको शुभकामना दिनु भएको थियो ।

कार्यक्रममा गुरुआमाहरू बिना गजुरेल, टिका शर्मा भुसाल र चन्द्रकला घिमिरेले आध्यपनका क्रमका अनुभवहरू सुनाउँदै सम्पूर्ण बिद्यार्थीहरुलाई उत्साहपूर्ण सहभागिता र उपलब्धि का लागि बधाई तथा शुभकामना दिनुका साथै अभिभावकहरूको निरन्तर विश्वास र सहयोगका लागि आभार व्यक्त गर्नु भयो।

यो वर्ष नेपाली पाठशालामा ७० जना बिध्यर्थिहरुले अध्ययन गरेका थिए ।