अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:३१ | Colorodo: 12:46

बल्झिदै नेकपा विवाद, ओली प्रचण्डबीच भनाभन, बहुमतले निर्णय गर्न ओलीको चुनौती

बिआरटीनेपाल २०७७ असार २४ गते २३:४० मा प्रकाशित

नेकपाका दुई केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच फेरि पनि भनाभन भएको छ। बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा दुई अध्यक्षबीच पार्टीभित्र बढेको विवाद समाधानको उपाय सुल्झनुको साटो फेरि भनाभन भएको बुझिएको छ । बुधबार साँझ दुई नेताबीच एक्लाएक्लै भएको छलफलको सुरुमै प्रचण्डले सडकमा ओलीको पक्षमा निस्केको प्रदर्शन बन्द गर्न आग्रह गरेको स्रोतले जनाएको छ । जवाफमा ओलीले ‘प्रदर्शन बन्द हुँदैन’ भन्ने जवाफ फर्काउनुभएको थियो ।

बुधबार दिउँसो देशभर ओलीले आफू पक्षीय कार्यकर्तालाई प्रदर्शनमा उतार्नुृभएको थियो । बिहानै महासचिव विष्णु पौडेललाई प्रदर्शन रोक्न भन्नुभएका प्रचण्डले साँझ ओलीलाई भेट्नेबित्तिकै त्यही कुरा दोहोर्याउनुभएको थियो । छलफलमा ओलीले आफूलाई पार्टीको बहुमतबाट कारबाही गरेर देखाउन चुनौती दिएको बालुवाटार स्रोतले जानकारी दिएको छ । ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट हट्न प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल पक्षले दबाब दिँदै आएका छन्।

बुधबारको बैठकमा ओलीले प्रचण्डलाई आफू दुवै पदबाट नहट्ने दोहोर्याउदै पार्टीको बहुमतले कारबाही गरेर देखाउन चुनौती दिनुभएको हो । विगत ४ दिनदेखि ओली–प्रचण्ड छलफलमा रहे पनि विवाद जहाँको त्यहीँ रहेको नेताहरु बताउँछन्। यसले गर्दा नेकपाभित्रको विवाद थप जटिल अवस्थामा पुगेको छ।

असार १० गते सुरु भएको स्थायी समिति बैठकमा एकाएक ओलीको राजीनामाको विषय प्रवेश गरेपछि प्रचण्ड नेपाल पक्षले ओलीले दुवै पदबाट राजीनामा दिनुपर्ने भन्दै दबाब बढाएका छन्। सहमतिबाट अघि बढ्ने प्रयासस्वरुप चौथोपटक शुक्रबारसम्मका लागि स्थायी समिति बैठक स्थगित गरिएको छ। ओली गत मंसिर ४ गते भएको सहमतिबाट अघि बढ्ने पक्षमा रहँदा प्रचण्ड २०७२ जेठ २ गते भएको सहमित कार्यान्वनय गर्नु पर्ने अडानमा हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू