अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:०६ | Colorodo: 21:21

नेपालमा थप २०४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १६ हजार नाघ्यो

बिआरटीनेपाल २०७७ असार २३ गते ७:२१ मा प्रकाशित

नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १६ हजार १ सय ६८ पुगेको छ । पछिल्लो २४ घण्टामा २०४ जना नयाँ संक्रमित थपिएसंगै जम्मा संक्रमित १६ हजार १ सय ६८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वोर गौतमले बताउनुभयो ।

काठमाडौं उपत्यकामा २८ जना नयाँ संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ६ सय ८८ जना कोरोना जितेर डिस्चार्ज भएका छन् । हालसम्म कोरोनाबाट निको हुनेको संख्या ७ हजार ४ सय ९९ पुगेको मन्त्रालयले जनाएको छ । हाल ७७ मध्ये तेह्रथुम, भोजपुर, सोलुखुम्बु र हुम्ला गरी ४ जिल्लामा कुनै पनि कोरोना संक्रमित नभएको मन्त्रालयले बताएको छ ।

पछिल्लो २४ घण्टामा ६ हजार १ सय ३३ जनाको पीसीआर परीक्षण भएको छ । हालसम्म २ लाख ६१ हजार ८ सय ६१ वटा पीसीआर परीक्षण भएका छन् ।हाल २५ हजार ७ सय २७ जना क्वारेन्टिनमा बसेका छन् । त्यस्तै ८ हजार ६ सय ३६ जना आइसोलेसनमा रहेका छन् ।

यसैबीच, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. बासुदेव पाण्डेले नेपालका कोरोना संक्रमितमध्ये ९९ प्रतिशतमा कुनै पनि कोरोनाका लक्षण नदेखिएको बताउनुभयो । मनत्रालयको पत्रकार सम्मेलनमा उहाँले ९७ प्रतिशत संक्रमित आयातित भएको जानकारी दिनुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू