अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:१९ | Colorodo: 03:34

नेकपा विवाद– ओली–प्रचण्डबीच सहमति भएन, भोली पुनः बैठक बस्ने

बिआरटीनेपाल २०७७ असार २१ गते ७:४७ मा प्रकाशित

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र देखिएको विवाद समाधानका लागि आज बसेको शीर्ष नेतृत्वको बैठकपनि निष्कर्षबिहीन वनेको छ । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीचको छलफल विना कुनै निष्कर्ष सकिएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा कुनै सहमति जुट्न नसकेको नेताहरुले बताएका छन् ।

आफू निकट नेतासहित छलफलमा बस्नुभएका ओली र प्रचण्डले भोलिका लागि बोलाइएको स्थायी कमिटी बैठक अगाडि फेरि दुवैजना बीच छलफल गर्ने निर्णय गरेको नेकपाका स्थायी कमिटी सदस्य जनार्दन शर्माले जानकारी दिनुभयो । दुवै नेताबीच विवादित विषयमा छलफल भएको तर कुनै निर्णय भने ननिस्किएको उहाँले बताउनुभयो । दुवै अध्यक्षबीच सबै विकल्प र सम्भावनाबारे छलफल गर्न सहमति भएको बताइएको छ ।

दुवैबीच राष्ट्रपतिलाई महाभियोग लगाउन षडयन्त्र भइरहेको भनेर प्रधानमन्त्रीले दिएको अभिव्यक्तिबारे पनि छलफल भएको छलफलमा सहभागी अर्का एक नेताले बताएका छन् । अध्यक्ष प्रचण्डले आफू निकट नेताबीच राष्ट्रपतिबारे त्यस्तो छलफल नभएको बताउनुभएको ती नेताले बताएका छन् । उहाँका अनुसार अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीलाई केही कुरा नचलेको विषयमा र तयारी पनि नरहेको विषयमा कसरी कुरा आयो भनेर सोध्नुभएको थियो । पार्टी भित्रको मतभेदमा राष्ट्रपतिलाई मुछ्न नहुनेबारे अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीलाई सुझाव दिनुभएको थियो ।

त्यस्तै, सडकमा भइरहेका गतिविधिले पार्टी एकता कमजोर बनाउने भन्दै त्यस्ता गतिविधि रोक्ने विषयमा दुवैबीच छलफल भएको सहभागी नेताले बताएका छन् । बालुवाटारमा भएको छलफलमा सचिवालय सदस्य समेत रहनुभएका उपप्रधान एवम रक्षामन्त्री ईश्वर पोखरेल, महासचिव विष्णु पौडेल, स्थायी कमिटि सदस्य एवम उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुन, स्थायी कमिटि सदस्य एवम प्रदेश पाँचका मुख्यमन्त्री शंकर पोख्रेल र स्थायी कमिटि सदस्य जनार्दन शर्मा सहभागी हुनुहुन्थ्यो । नेकपाले स्थायी कमिटी बैठक भोलिका लागि बोलाएको छ । उक्त बैठकअघि दुवै अध्यक्षबीच निर्णायक छलफल हुने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू