अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:५८ | Colorodo: 22:13

“नेपालमा लकडाउन खुकुलो भए पनि कोरोना महामारी टरिसकेको छैन, सतर्कता अपनाऔँ”– विश्व स्वास्थ्य संगठन

बिआरटीनेपाल २०७७ असार ८ गते ६:२७ मा प्रकाशित

विश्व स्वास्थ्य सङ्गठनको नेपालमा रहेको कार्यालयले कोभिड–१९ को महामारी कायमै रहेकोले पर्याप्त सतर्कता अपनाउन सार्वजनिक रुपमा अपिल गरेको छ । विश्व स्वास्थ्य सङ्गठनका प्रमुख डाक्टर जोस भ्यान्डेलरले नेपाल सरकारले लडकडाउन खुकुलो बनाए पनि कोरोना भाइरसको महामारी टरिनसकेकोले आवश्यक सतर्कता अपनाउन सबैलाई अपिल गर्नुभएको हो ।

लकडाउन खुकुलो बनाएसँगै सर्वसाधारणको क्रियाकलाप बढ्दै गएको, कार्यालय सञ्चालन भएको तथा एक आपसमा भेटघाटलगायत बढेको भन्दै उहाँले त्यस क्रममा सबैले आ–आफ्नो तर्फबाट थप सतर्क हुनु जरुरी रहेको बताउनुभयो ।

उहाँले सङ्क्रमण नियन्त्रणको लागि प्रत्येक व्यक्तिले आ–आफ्नो तर्फबाट जीवनशैली र कार्यशैलीमा परिवर्तन ल्याउनुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले भिडभाडमा नजाने, जानै परे दुरी कायम गर्ने, मास्क लगाउने तथा बेलाबेलामा साबुन पानीले हात धुन पनि आग्रह गर्नुभएको छ ।

उहाँले भन्नुभयो, ‘लकडाउन हामी सबैको लागि गाहो कुरा थियो । घर मै बस्नुप¥यो । साथीभाइलाई भेट्न पाइएन । काममा जान पाइएन । अहिले लकडाउन केही हदसम्म खुकुलो भएको छ र हामी वरपर जान पाएका छौँ । काममा जान पाएका छौँ । नातेदार परिवारहरुलाई भेट्न जान पाइरहेका छौँ । तर हामीले याद गर्नुपर्ने कुरा के हो भने महामारी अझै पनि गइसकेको छैन । महामारी अझै पनि छ र हामी अझै पनि सङ्क्रमित हुन सक्छौँ, तसर्थ हामी अलि होसियार हुनु जरुरी छ ।’

‘यो सङ्क्रमणलाई नियन्त्रण गर्न हामी आफैले केही कदमहरु चाल्नु जरुरी छ । हामीले चाल्न सक्ने कदमहरु भनेको एक अर्कासँग भौतिक दुरी कायम गर्ने, मास्क लगाउने । कपडाकै मास्क भए पनि हुन्छ । विशेषगरी धेरै मानिसहरु भएको अवस्थामा अनिवार्य रुपमा मास्क लगाउने । त्यसैगरी साबुन पानीले बारम्बार हात हुने किनभने सङ्क्रमित व्यक्तिलाई तपाईँले छुनु भएको छ भने त्यो हातमा सर्छ र तपाईँको हातले मुखलाई, नाकलाई छुदाँ त्यहाँबाट भाइरस तपाईँको शरीरमा प्रवेश गर्छ ।

त्यसैगरी खोक्दा मुख छोप्ने । साथै ज्वरो, खोकी वा कुनै पनि किसिमको बिसन्चो भयो भने तुरुन्तै स्वास्थ्यकर्मीलाई देखाउने । यी कुराहरु तपाईँहरुले गर्नुभयो भने भाइरस थप फैलिन पाउँदैन र भाइरस मर्छ । भाइरस नियन्त्रण गर्न लकडाउन एउटा उपाय थियो भने अबको अर्को उपाय भनेको हामीले यी नियमहरु पालना गर्नु नै हो’, उहाँले थप्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू