अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:४८ | Colorodo: 19:03

विद्यालय तहको शैक्षिकसत्र असार १ देखि सुरु हुदै, वैकल्पिक विधिबाट पठन–पाठन गरिने

बिआरटीनेपाल २०७७ जेठ १९ गते ७:२० मा प्रकाशित

कोरोनाभाइरस र ‘लकडाउन’का कारण दुई महिना रोकिएको विद्यालय तहको शैक्षिक क्षेत्र असार १ गतेदेखि सुरु हुने भएको छ । शिक्षा मन्त्रालयले असार १ गतेदेखि वैकल्पिक विधिबाट पठन–पाठन सुरु गराउन आह्वान गरेको छ । जस अन्तरगत विद्यार्थीले अनलाइन, टीभी, रेडियोको माध्यमबाट पढ्ने व्यवस्था मिलाइएको मन्त्रालयले जनाएको छ ।

शिक्षा मन्त्रालयले वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण गर्नेसम्बन्धी निर्देशिका २०७७ जारी गरेको छ । उक्त निर्देशिकाले दुई महिना रोकिएको शैक्षिकसत्र सुरु गराउन दूर तथा खुला शिक्षा र वैकल्पिक प्रणालीबाट सिकाइ सहजीकरण गरिने जनाइएको छ । मन्त्रालयले निर्देशिका असार १ गतेबाट लागू गराउन संघ, प्रदेश र स्थानीय तहका सम्बद्ध सबै निकाय तथा सरोकारवालालाई आग्रह समेत गरेको छ ।

वैकल्पिक प्रणाली भनेको कक्षाकोठामै पठन–पाठन सुरु गर्ने भन्ने होइन । विद्यार्थीले घरमा नै बसेर अनलाइन, टेलिभिजन र रेडियोको माध्यमबाट पढ्ने व्यवस्था हो । तर, त्यो सबै क्षेत्रका विद्यार्थीको हकमा भने सम्भव नरहेको बिज्ञहरुले बताउँदै आएका छन् । देशका धेरै स्थानका बालबालिका अझैपनि रेडियो र टीभीको पहुँचबाट पनि बाहिर नै छन् ।

मन्त्रालयको निर्णयलाई निजी विद्यालयहरुको संगठन ‘प्याब्सन’ले पनि समर्थन गरेको छ । हाल कतिपय विद्यालयले अनलाइनबाट पढाउन सुरु गरिसकेको भन्दै प्याब्सनका अध्यक्ष टिकाराम पुरीले वैकल्पिक विधिबाट पढाउन सबै शिक्षकलाई तयारीमा राख्ने बताउनुभएको छ । प्याब्सन अन्तरगतका विद्यालयमा ‘भर्चुअल’ कक्षा टेलिभिजन वा रेडियोबाट पढाउने बताईएको छ ।

यसैबीच, मन्त्रालयले लकडाउनका कारण रोकिएको एसइई र कक्षा–११ र १२ को परीक्षा सञ्चालन गराउनेबारे गृहकार्यमा लागेको जनाएको छ । त्यसैगरी, उच्चशिक्षाको पठन–पाठन सुरु गराउने विषयमा भने कार्यदल बनाएको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू