अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:४८ | Colorodo: 18:03

गणतन्त्र दिवस दीपावली मात्रै गरेर मनाइने

बिआरटीनेपाल २०७७ जेठ १४ गते २२:३५ मा प्रकाशित

आज १३ औँ गणतन्त्र दिवस । कोरोनाको प्रकोप र लकडाउन भएकाले यस वर्षको गणतन्त्र दिवस भव्य समारोह र तामझाम नगरी मनाउने सरकारले निर्णय गरेको छ । सरकारले यस वर्ष तीनै तहका सम्पूर्ण सरकारी कार्यालय र विदेशस्थित नेपाली कूटनीतिक नियोगमा तीन दिन दीपावलीमात्रै गरेर गणतन्त्र दिवस मनाउने भएको छ । गृह मन्त्रालयले एक विज्ञप्ति जारी गरी मन्त्रिपरिषद्को जेठ १२ को निर्णयअनुसार जेठ १४, १५ र १६ गते साँझ घरघरमा दीपावली गरेर गणतन्त्र दिवस मनाउन अनुरोध गरेको हो ।

अघिल्ला वर्षमा सरकारले राष्ट्रपतिको उपस्थितिमा राजधानीको सैनिक मञ्चमा भव्य समारोह गरी गणतन्त्र दिवस मनाउने गर्दथ्यो । प्रदेश राजधानी, जिल्ला सदरमुकाम र सबै स्थानीय तह र विदेशस्थित सबै नेपाली कूटनीतिक नियोगहरूमा समेत भव्य उत्सव र कार्यक्रम गरी तामझामका साथ गणतन्त्र दिवस मनाइन्थ्यो ।

संविधानसभाको पहिलो बैठकले विसं २०६५ जेठ १५ गते नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको सम्झनामा प्रत्येक वर्ष जेठ १५ गते विविध कार्यक्रम गरी यो दिवस मनाइन्छ । आज झन्डै २ सय ४० वर्षको इतिहास बोकेको शाह वंशीय राजतन्त्रलाई हटाएर नेपालमा गणतन्त्र स्थापना भएको दिन हो ।

२०७४ सालसम्म गणतन्त्र दिवसमा विदा हुने गरेको थियो । तर २०७५ सालदेखि यो विदा कटौती गरिएको छ । सरकारले लोकतन्त्र दिवस, गणतन्त्र दिवस, प्रजातन्त्र दिवस जस्ता दिवसलाई एकीकृत गरि ति दिवसको साटो एक दिन बिदा दिएर विशेष दिवस मनाउने निर्णय गरेको हो ।

सरकारले २०७५ चैत्र १ गते प्रकाशित गरेको नेपाल राजपत्रमा पनि गणतन्त्र दिवसलाई राष्ट्रिय रुपमा मनाइने तर कार्यालय खुल्ने विदाको रुपमा सुचिकृत गरेको छ। कोरोना महामारीका कारण यस वर्ष कुनै औपचारिक कार्यक्रम भने हुने छैनन्।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू