अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:५१ | Colorodo: 22:06

गुगलले राख्यो नेपालको नयाँ नक्सा, अद्याबधिक नयाँ क्षेत्रफल समेटियो

बिआरटीनेपाल २०७७ जेठ १० गते ७:३७ मा प्रकाशित

गुगल सर्च ईन्जिनले नेपालको नयाँ नक्सा अद्यावधिक गर्दै विस्तारित क्षेत्रफल देखाएको छ । नेपालले आधिकारिक रुपमा नेपालको भूभाग लिम्पियाधुरा, कालापनी र लिपुलेकसम्म भएको नक्शा सार्वजनिक गरेसँगै गुगल सर्च इञ्जिनले नेपालको नयाँ क्षेत्रफल देखाउन थालेको हो ।

गुगलमा एरिया अफ नेपाल भनेर सर्च गर्दा १ लाख ४७ हजार ५१६ वर्गकिलोमिटर क्षेत्रफल देखाउँछ । नेपालले गत बुधबार (जेठ ७) मा लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नयाँ नक्शा सार्वजनिक गरेको थियो । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री पद्मा अर्यालले उक्त नक्शा सार्वजनिक गर्नुभएको थियो ।

नक्शामा नेपालको उत्तरी, पूर्वीय, पश्चिमी र दक्षिणी अन्तर्राष्ट्रिय सीमासहित राजनीतिक र प्रशासनिक प्रबन्ध पनि समेटिएको छ । यसअघि जेठ ५ गते सोमबार बसेको मन्त्रिपरिषद बैठकले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नयाँ नक्शा पारित गर्दै सार्वजनिक गर्ने निर्णय गरेको थियो ।

गत जेठ २ गते सरकारले नीति तथा कार्यक्रम संसदमा पेश गर्दा पनि भारतले अतिक्रमण गरेको लिपुलेक, लिम्पियाधुरा, कालापानीलगायत भूभाग समेटेर नयाँ नक्शा जारी गर्ने घोषणा गरेको थियो । यसअघि भारतले नेपालको लिपुलेक हुँदै चीनको मानसरोवर जाने सडक बनाएपछि सर्वत्र आक्रोश चुलिएको थियो ।

नेपाल सरकारले भारतको उक्त कदमप्रति आपत्ति जनाउँदै कूटनीतिक नोटसमेत पठाएको थियो । गुगलले देखाएको उक्त क्षेत्रफल विकीपिडियाको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू