अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:४० | Colorodo: 20:55

नयाँ नक्सा सार्वजनिक गर्ने प्रस्ताव आफुले राखेको नेकपा नेता गौतमको दावी, कसैको देवत्वकरण नगर्न अपील

बिआरटीनेपाल २०७७ जेठ ७ गते ७:५९ मा प्रकाशित

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले भारतले अतिक्रमण गरेको भूभागसमेत समेटेर नक्शा सार्वजनिक गर्नुपर्ने प्रस्ताव आफ्नो रहेको दावी गर्नुभएको छ । बुधबार प्रेस नोट सार्वजनिक गर्दै गौतमले नेपालका अतिक्रमित भूमिलाई समेटेर देशको नक्शा जारी गर्नुपर्ने सन्दर्भमा आफुले शुरूदेखि नै पार्टीमा सशक्त विचार र जोडदार माग राख्दै आएको उल्लेख गर्नुभएको छ । यसपटक पनि छुटेका नेपाली भूभाग समेटेर नक्शा जारी गर्नुपर्ने प्रस्ताव पार्टीको वैठकमा आफैले राखेको उहाको भनाई छ ।

गौतमले सरकारले पार्टीको निर्णय अनुसार लिम्पियाधुरासहितको नक्शा पारित गरेकाले कसैको देवत्वकरण जरुरी नरहेको टिप्पणी समेत गर्नुभएको छ । गौतमले भन्नुभएको छ , ‘अनुयायीहरु व्यक्ति केन्द्रित हुन्छन् र निश्चित व्यक्तिका नामलाई देवत्वकरण गर्न व्यस्त हुने प्रचलन छ । तर, यो निर्णय पार्टीको सामूहिक निर्णय प्रक्रियाअनुसार भएर, नेपाल सरकारबाट पनि त्यहीअनुरुप अनुमोदन भएको वास्तविकतालाई सबैले स्वीकार गर्नुपर्छ ।’

उपाध्यक्ष गौतमले ऐतिहासिक तथ्य, प्रमाण र लिखतद्वारा निर्दिष्ट गरिएको आधारमा नेपाल सरकारले देशको नयाँ नक्शा सार्वजनिक गरेको पनि बताउनुभएको छ । वर्तमान सरकारका अनेकन कार्य आलोचना योग्य हुँदाहुँदै पनि यो काम स्वागतयोग्य भएको उहाको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू