अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:२२ | Colorodo: 22:37

सन्दर्भ: मेरो जन्मदिन, क्वारेन्टाइन र अमेरिकन आइडल

ध्रुव थापा २०७७ वैशाख २९ गते १५:२२ मा प्रकाशित

हामी सानो छदा, जन्मदिनको केक भन्दा नयाँ लुगा पाउने आशामा हरेक महिना औला गन्दै मनका लड्डु फुटाइन्थ्यो । त्यस बेला केक काट्न त जानिएकै थिएन । तर निक्कै मिठो पकवान भने पाक्थ्यो हाम्रो घरमा । आमाले खाने बेलामा अरूलाई भन्दा धेरै र पहिलै पस्किनु हुन्थ्यो र भन्नु हुन्थ्यो ल कान्छा आज तेरो जन्म दिन हो । त आज देखि यति वर्षको भइस् । छेउमै खाना खादै गरेको बाबाले भन्नु हुन्थ्यो,”उमेरले हैन इमानले बाच्नु, कहिले नराम्रो नगर्नु, सकेसम्म र तेरो बुद्धिले भ्याए सम्म राम्रो र नराम्रोको पहिचान गर्नु । सधैँ सत्यको बाटोमा हिडनु”, त्यसपछि भान्छामा मौनता छाउँथ्यो कोही बोल्दैन थिए । आ-आफ्नो भागको खाना खाएर निस्किन्थे । कतै कसैले ह्याप्पी बर्थडेको कोरस गाउँदैन थिए न त मैन बत्ती नै फुकेर निभाईन्थ्यो।हाम्रो घरमा खाना खादा बोलेको राम्रो मानिँदैनथ्यो त्यस बेला ।

तर त्यस बेलाको जन्मदिन आजको जन्मदिन भन्दा आकाश पातालको फरक हुन्थ्यो । अमेरिका आए देखिनै हरेक वर्ष मैन बत्तीलाई फुक्दै मनमनै “बिस” गर्दै केक काटन थालेको छु। तर कहिले पनि रहरले जन्म दिन मनाउँछु भनेरै केक चाहिँ किनेर ल्याइएन । साथै कुनै भोज वा जन्मदिनको पार्टीको आयोजना पनि गरिएन । कहिले साथीहरूले त कहिले घरपरिवारले लुकाएर ल्याएर रेफरिजेरेटरमा राखेका हुन्छन् केक । मध्यरातमा सबै जना भेला भएपछि सुटुक्कै केक निकालेर आफ्नो अघिल्तिर राखिन्छ । सर्प्राइज बर्थ डे केक अरे । सायद यस्तै हुँदो हो प्राय सबैको घरमा पनि । झन् हिजो आज त मध्यरातमा सर्प्राइज केकसँगै सर्प्राइज फेसबुक लाइभ समेत हुने गर्छ । वाह कस्तो समय आइ सक्यो । तर मलाई भने त्यसरी मध्यरातमा फेसबुक लाइभमा आएको पटक्कै मन पर्दैन ।

तर हाम्रो घरमा भने हरेक वर्ष सात देखि बाह्र वटा सम्म केक काटिइन्छ । त्यो कसरी भने केटा केटीहरू नेपाली र अङ्ग्रेजी क्यालेन्डर अनुसारै मनाउन खोज्छन् जन्म दिन र हाम्रो म्यारिज एनिभर्सरि पनि । म भन्ने गर्छु, “किन ल्याएको यो सब ! खै मलाई त केक काटन र यो मैन बत्ती निभाउन पनि मन लाग्दैन”, तर केटा केटीहरू एकै स्वरमा उत्तर दिन्छन् “हजुर काट्नु न केक”, खान मन लागेर पो ल्याएको त, यसो रमाईलोपनि हुने र केक पनि खान पाइने । लौ त, भनेर आफुपनि केक काटेर सबैको मुखमा बुचो लगाई दिन्छु । “लौ रमाइलो गर”, त्यस बेला सम्ममा कम्प्युटरले ह्याप्पी बर्थडेको गीत गाउन थालिसकेको हुन्छ यस्तै छ यहाँको रीत … थाहै नपाई यसपालिको जन्म दिनसम्ममा त ९ वटा जत्ति केक काटी सकिएछ । तर नौ वटा केक काटी सक्दा पनि नव ग्रह भने भगाउन सकिएको छैन । न त आफ्नो जन्म घरको त्यस भान्छा घरमा बसेर जन्मदिनमा पाकेको मिठो परिकार खान पाइएको छ न त अब कहिले आफ्नै आमा र बाबाको आर्शिवादनै थाप्न पाइनेछ ।

अमेरिका आएको पहिलो वर्ष होला बर्थ डे को केक काटेर घरमा फोन गरेको आमा बा सित बोल्न पर्‍यो भनेर उल्टा हप्की पो खान परेको थियो, ” किन हिजो फोन नगरेको ? अमेरिका गएर आफ्नै जन्मदिन पनि बिर्सिस् कि क्या हो ? हामी भने तेरो फोन आउछकि भनेर घरमा मिष्टान्न भोजन बनाएर बसेको तैँले भने फोन पनि गरिनस् ? थाहा छ बाले खानै नखाई राती सुत्नु भयो ! खै जीउ सन्चो छैन भनेर सुत्नु भएको हो तर वास्तवमा तैँले फोन न गरेर हो । यस्तै छ तेरो बुवा ! आफ्नो दुख कहिले अरू सामु देखाउनु हुन्न । थाहा छ ? बुवालाई न्यास्रो लागेर हो । हुन त मैले पनि हिजो खान खाइन आमाले मलिन स्वरमा भन्नु भयो । त्यसपछि फोनमा केही क्षण मौनता छायो म पनि केही बोल्नै सकिन । एक छिनको मौनतालाई तोड्दै आफै भने,” हैन मेरो जन्म दिन त आज पो हो त यहाँ, त्यसैले आज फोन गरेको नि । मैले परिस्थिति सम्हाल्दै भने ।

अ तैँले भनेर हुन्छ ? एक दिनको फरक भए पनि समय त उही नै होइन ? यदि यहाँ कुनै बच्चा जन्मियो भने त्यही समयलाई मान्नुपर्छ अमेरिकामा छस् भने र एक दिन पछि जन्मियो भनेर भन्न मिल्छ ? आमाको तर्कलाई जित्ने मेरोमा कुनै जवाफ थिएन । मन मनै सोचे हो त नि ! तर के गर्नु तारिख अनुसार त मान्न पर्योनि जन्मदिन । तर अहँ मैले आमालाई यो बुझाउनै सकिन किनभने वहाँको भनाइमा सत्यता थियो । सत्य एउटै हुन्छ । जति बेला आमाले घरमा मलाई सम्झिनु भएको थियो, त्यही समय त हो नि मलाई जन्माएको पनि । आखिर यहाँ एक दिन पछि सूर्य उदायो भन्दैमा मान्छे पनि एक दिन पछि जन्मन्छ र ?

वास्तवमा भन्ने हो भने मैले त्यस बेला आफ्नै कार्य व्यस्तता र भाग दौडले होला आफ्नै जन्मदिन समेत भुलेको थिए । तर फेसबुकको चमत्कार र यस सामाजिक सञ्जालको करामत पनि गज्जबको छ बा । बिहानै देखि सोसियल मिडियाबाट मेरो जन्मदिनको बधाईको ओइरो लागेको थियो । मेरो आइ फोनमा हरेक क्षण नयाँ म्यासेजको टिंग टिंगले दिनभरिनै आएको थियो । यो फेसबुकलेपनि गजबै गर्छ ! मलाई भन्दा पहिला अरूलाई जानकारी गराउँछ, आज फलानाको जन्म दिन रे भन्दै ।

जे होस मेरो त सही जन्मदिन हालेको रहेछु फेसबुक प्रोफाइलमा मेरो एक जना चिनेको दाइको त जन्मदिन चैतमा हो भनेर मलाई धेरै पल्ट भन्नु भाकै हो । तर असारमानै वहाँलाई पनि जन्मदिनको बधाईको ओइरो लाग्यो । मन मनै सोचे बधाई दिउकि नदिऊ भनेर तर मन मानेन सबैले दिइरहेको बेला आफुभने किन पछि पर्ने ? जे सम्झुन् भन्दै मैले पनि हतार हतार बधाई सन्देश पठाए । तर मन भने मानेकै थिएन जे होस धेरै दिन भयो नभेटेको पनि । यसो फोन नै गर्न मन लाग्यो र फोनमापनि शुभकामना दिएको मात्र के थिए उल्टा हप्की खाइयो, “ए तिमी पनि मलाई जिस्काउने ?” मैले केही बोल्नै पाएको थिइन उताबाट अलिक असमञ्जस स्वरमा उत्तर आयो, हन किन सबैले आज मलाई शुभकामना दिई राखेकाछन ? मैले भने, हैन दाजै तपाइको फेसबुकका साथीहरूलाई आज तपाईँको जन्मदिन भनेर आएको छनि त्यसैले पो हो त ! अब हजुरले जे हाल्नु भएको थियो त्यसै अनुसार फेसबुकले जनाएको त हों नि ! तर मलाई भने पत्यार नलागेर यसो बुझ्न फोन गरेको नि !

ए त्यसो पो हो ! यो फेसबुकमा आफ्नै जन्मदिनको जानकारी आफूलाई चाहिँ नआउने तर सबै साथीहरूलाई भने जाने कस्तो सञ्जाल बनाएको हो यो ? सायद सरप्राईज दिन भनेरै यसो गरिएको होला । मैले उनलाई सम्झाउँदै भने । त्यस पछि यस विषयमा निक्कै लामो गफ र हाँसो चलेको थियो हामीबिच ।

तर कुरै कुरामा बहाले भन्नु भयो मैले आफ्नो आइडेन्टीटी थेप्टवाट(Identity theft) बचाउन पो अर्कै डेट राखेको त । कहाँ यस्तो सामाजिक सञ्जालमा आफ्नो बारेमा सबै जानकारी दिने हो ? त तर जे होस यो कम्प्युटरको खेल हो यसले कुरा घुमाएर बुझ्दैन, जस्तो डाटा हालेको छ त्यही त दिने हो नि । मान्छेलाई जस्तो यसलाई कहाँ शङ्का लाग्छ र भाइ, अनि तपाइले जस्तो फोन गरेर सोध्छ र । त्यसपछि सायद बहाले आफ्नो जन्म दिनको अपडेट गोप्य गर्नु भयो होला फेसबुकमा अचेल वहाँको जन्म दिनको अपडेट फेसबुकले गराउँदैन तर म भने वहाँको जन्म दिनमा अवश्य शुभकामना दिन्छु किनकि मैले मेरो फोनमा रेमाइण्डर सेट गरेर राखेको रहेछु ।

अब प्रसङ्ग यस वर्षको मेरो जन्म दिनको गरौँ । यसपल्ट मेरो जन्म दिनको शुभकामना सधैँको वर्षको तुलनामा मेरो फेसबुकमा, इनबक्समा र वाट्स एप्समा ओइरो लाग्यो । हुन् पनि किन नहोस् अहिले कोरोना भाइरसको कारणले सबै लकडाउनमा घरमै बसेका छन् । संसारभरिका मानिसलाई फुर्सदै फुर्सद छ । सोच्छु वास्तवमा यदि यो फेसबुक, वाट्स एप्स नभएको भए यो लकडाउन कस्तो डरलाग्दो र भयावह हुने थियो होला । अहिले त झन् यो जुमले गर्नु गरेको छ, हुन त यसको फाइदा पनि धेरै छ, सबै स्कुल कलेजले अनलाइन क्लास यसै मार्फत चलाएका छन् । अहिले त विश्व विद्यालयको दिक्षान्तर समारोह समेत भर्चुअल हुन् थालेको छ । मानिस घरमै बसेर काम गरी रहेका छन् । अनलाइनबाट सपिङ देखि मिटिङसम्म भई रहेको छ । तर ताई न न तूईको हरेक घण्टामा हुने जुम र फेसबुके लाइभ प्रोग्रामले यो कोरोनाको भन्दा पनि धेरै भय र त्रास फैलाई रहेको धेरैले आफ्नो फेसबुक स्टाटसमा लेखेका छन् । अति आवश्यक र जानकारी मूलक प्रोग्राम त ठिक छ तर जो पनि बिग्य हुने र यस महामारीबाट बच्न यसो गर्नु होस् उसो गर्नु होस भनेर हैरान ।

सायद केही वर्ष अघिको कुरो हो, हरेक वर्ष एक दिन अघि देखिनै मेरो जन्म दिनको सुभाकामना नेपालबाट आउन थाल्थ्यो तर किन हो त्यस वर्ष मेरा आफन्त र शुभचिन्तकहरूले एउटा पनि शुभकामना पठाएका थिएनन् र मलाई अचम्मै लागेको थियो । तर भारतबाट भने मेरा पुराना कलेजका साथीहरूले जन्म दिनको शुभकामना भने अवश्य पठाएका थिए । अमेरिकामा भने मेरो जन्मदिन सुरु भएकै थिएन र भोलिपल्ट मात्र आउने निश्चित थियो । हरेक वर्ष जस्तै त्यस वर्ष पनि त्यहाँको समय अनुसार फेसबुक रिमाइण्डरमा जन्म दिनको अपडेट आई सकेको रहेछ । तर कुरो भने अर्कै परेछ । म यही सोची रहेको थिए ।

त्यति नै खेर देखे मेरो फेसबुकमा नोटिफिकेसन आयो, मेरो एक जना विद्यार्थीले मेरो स्टाटसमा जन्मदिनको शुभकामना साथै यो पनि लेखेका रहेछन् “आदरणीय सर, के गर्नु समयमा शुभकामना समेत दिन पाइन यसपल्ट मेरो गुरु हजुरलाई । हेर्नु न आज त दोस्रो दिन भई सक्यो यहाँ त । तर जे होस त्यहाँ त आजै हो नि हैन हजुरको जन्म दिन ? के गर्नु सर यो नेपालको लोडसेडिङले गर्दा इन्टरनेट डाउन थियो । आज बल्ल बल्ल १८ घण्टापछि बिजुली आयो र फेसबुकमा हजुरलाई जन्मदिनको शुभकामना दिएको । सानै देखिको हजुरको म प्रिय विद्यार्थीले पनि भुलेछ भन्नु होला भन्ठानेर ढिलै भए पनि लेखेको हु ।

मेरो त्यो विद्यार्थीको म्यासेज देखि तल भने नेपालबाट आएको शुभकामनाको ओहिरोनै लागेको थियो । मन मनै सोचे बिचरा नेपाली जनता । समयमा जन्मदिनको शुभकामना समेत दिन पनि नपाउने । यस्तो देशमा समयमा संविधान निस्किएन भनेर त्यसै आन्दोलन गर्छन् । मैले त्यस बेला मन मनै भनेको थिए नेपाल जलश्रोतको धनी देश हो । त्यही पानीबाट उत्पादन हुने बिजुलीको पनि खडेरी परेको छ देशमा । सायद यसले नेपालको अन्धकार भविष्यको सङ्केत पो दिएको हो कि ? अब त नेपालका नेता र सांसदहरू संविधान बनाउन ढिलो हुनमा लोडसेडिङको कारण मात्रै देखाउन बाकी रहेको छ । सायद त्यो पनि कसै कसैले त भन्दै होलान् ।

तर जे होस् यस वर्षको जन्मदिनमा खै किन हो धेरै कुराहरू खेल्यो मेरो मनमा । हुन पनि किन नखेलोस् यसपालि जत्ति शुभकामना मेरो जन्म दिनमा कहिले पो आएको थियो र ? थाहा छ ? म जस्तो साधारण मान्छेको जन्मदिनको मध्य दिन हुँदा सम्ममा मलाई शुभकामनादिनेहरु २,७३३ जना रहेछन् । म त दङ्गै परे । मन मनै सोचे यो सब कोरोनाको चमत्कार हो । साथै यही कोरोनाको फुर्सदले गर्दा मैले मेरो इमेल, फेसबुक, प्यासेन्जर, भाइबर, आइफ़ोन म्यासेज, वाट्स एप र अन्य माध्यमबाट आएको सबै शुभकामनाहरू समेत गन्ने कौतूहल जाग्यो । हो अहिलेको परिस्थितिमा सबै घरमा बसेका छन्, सबै फुर्सदमा छन् । अहिले यस महिनामा जन्मदिन पर्नेहरूको त बाहिर गएर पार्टी दिन पनि नपर्ने, केक पनि काटी रहनु नपर्ने तर सु स्वस्थ र दिर्घुको शुभकामना भने जीवनकै सबै भन्दा धेरै पाइने । अङ्ग्रेजीमा भनिन्छ, a blessing in disguise ब्लेस्सिंग इन डिस्गाइस जस्तै भयो यो क्वारेन्टाइन ।

अचानक मेरो दिमागमा एउटा कुरा फुर्‍यो म जस्तो जाबो एक जना साधारण मान्छेलाई यति धेरै जन्मदिनको शुभकामना यो फेसबुकको कारणले आउँछ भने, हामी अनलाइन भोट हालेर प्रशान्त तामाङ, सुशान्त खत्री र तेरिया मगरलाई भारतीय टेलिभिजनको विजेता बनाउन सक्छौ भने अन्तर्राष्ट्रिय रूपमा सी एन एन हिरोको रूपमा अनुराधा कोइराला र पुष्पा बस्नेतलाई विजेताको रूपमा देखि सकेका छौ । यो हामी सबैको लागि गर्वको विषय हो । यसपल्ट फेरी अर्को अवसर आएको छ । अहिले हाम्रै भोटले टप ७ मा पुगेका अमेरिकन आइडलका हाम्रै नेपाली छोरो “आर्थर गन” अर्थात् दिबेस पोख्रेललाई अत्यधिक भोट दिएर अमेरिकन आइडलको ताज पहिराउन लागि पर्ने हो कि ? यदि त्यसो गर्न सके हामी कोरोना भाइरसको कारण अहिले क्वारेन्टाइनमा बसेको पनि सदुपयोग हुने र एउटा नयाँ इतिहास पनि रचिने छ । फेसबुकमा उसको पेज नै हेर्ने हो भने पनि एउटा फ्यान पेजमा ४५,००० भन्दा धेरै फ्यान रहेको छ भने त्यस्ता थुप्रै फ्यानहरूले उसको नाममा फेसबुक पेज बनाएर सहयोग गरी रहेका छन् । जुन दिन प्रतिदिन बढी रहेको छ । र हरेकले एकपल्टमा ३० पल्ट सम्म भोट हाल्न मिल्नेछ । हामी सब एक जुट हौ । र एउटा नयाँ रेकर्ड कायम गरौँ । हाम्रो भोटले नै जिताउने छ अमेरिकन आइडलका विजेतालाई पनि ।

अमेरिकन आइडलका निर्णायकहरुले (judges) समेत निक्कै राम्रो र प्रशंसनीय टिप्पणीहरू दिँदै आएका छन् दिबेस पोख्रेल अर्थात् आर्थर गनलाई । हालै भएको राउन्डमा समेत उसको राम्रो प्रशंसा गरिएको छ । त्यसैले उनी एक सफल र विजेता हुने लायकको कलाकार समेत भएको हुँदा र हाम्रो सानो प्रयासले नयाँ कीर्तिमान बन्छ भने हामी किन पछि पर्ने ?

टप टेनको प्रस्तुति पति निर्णायकगणले दिएको टिप्पणी यस प्रकार छ । जसमा क्याटीले उ आराम र शान्त देखिन्थे र श्रोता र क्यामेरामा दर्शकलाई आरार्सित गर्न सफल थिए । त्यसै गरी ल्यूकले भनेका थिए कि उ एक धेरै नरम/कम बोल्ने मान्छेबाट एक सम्भावित विशाल रेकर्डिङ कलाकारको रूपमा देख्न पाउँदा रमाइलो लागेको छ । लियोनेलले त झन् उसको तारिफ गर्दै भने कि उसले जुन गीत गाउँदछ त्यसमा आर्थर गन को स्ट्याम्प लाग्छ, र त्यो शैली र पहिचान हुनुपर्ने धारणा व्यक्त गर्छन् । अहिले उनी टप ७ मा पुगी सकेका छन् र अहिले उसको लागि दिनु पर्ने भोटिङ लाइन यस सप्ताहको लागि बन्द भई सकेको छ । अब मात्र एक सप्ताह छ ग्रान्ड फिनालेको लागि जसमा एउटा नयाँ किर्तिमानतय हुनेछ, र यो एउटा अवसर हो हामी सबैको लागि कि पहिलो पल्ट एउटा नेपाली छोरोलाई विश्वको सबै भन्दा ठुलो रियालिटी सो को विजेता बनाउने । जुन हामी सबैको लागि एकदमै महत्त्वपूर्ण घडी हो । आउनु होस् हामी सब मिली यो एउटा इतिहास कायम गरौँ । यसले हाम्रै जित हुनेछ र अमेरिका र विश्वले पनि नेपाल सगरमाथा र बुद्धको देश मात्र नभएर कला र सङ्गीतको देश पनि हो भनेर चिन्ने छन् ।