अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:५६ | Colorodo: 00:11

नरङगिएको तिहार

ध्रुव थापा २०७५ कार्तिक २२ गते ११:०७ मा प्रकाशित

ऋतुले शरदको पछ्यौरी ओढ्दै थियो । वर्षा भरि बादलको घुम्टो ओढेको धर्तीले खुल्दै गएको निलो आकाशसँग मुस्कान साट्दै थियो । पाखै भरि फुलेको लालुपातेको रङ्ग प्रतिबिम्बित हुँदा, फेवा बेगनास र रुपातालले मौसमको फागु खेल्दै थिए । असारको बैशले सेचन गराएको खेतको गर्भबाट धान जन्मँदै थियो । बेहुली जस्तै बनेको थियो फुलहरूले सिँगारिएको पुरै धर्ती ।

प्रकृतिको अनुपम पल सँगै प्रत्येक मान्छेका मनहरू खुसीको भावमा चङ्गा बनेर उड्दै थिए आफ्नै मनको आकाशमा । समयको रङ्गमा फुलहरूले हरेक मान्छे भित्र आफ्नै रङ्ग पोती रहेका थिए । जून रङ्ग सँगै मिठा सपनाहरू फेरी जीवन्त बनेका थिए उसै गरी पहिले जस्तै ।

धेरै समय पछि म अमेरिकाबाट नेपाल जाँदै थिए मेरो मन भित्र पनि कयौँ मखमली र सयपत्री नफुलेका भने थिएनन् तर रङ्गहरू उडेजस्ता गन्धहरू नभएको जस्तो अनि, तिहारको सप्तरंगी टिकामा पनि काला धब्बाहरू मात्र देखेका थिए मेरा आखाहरुले त्यति बेला, किनकि बा सिकिस्तै बिरामी हुनु हुन्छ तुरुन्त आउनु पर्‍यो भनेर घरबाट बोलाएका थिए मलाइ ।

छातीको गर्भमा पोखिएको पिरले शीतको बनेको चिसोमा शङ्काको कुहिरो ओढेर लामो यात्रा तय गरेको थिए । कयौँ अभिलाषाहरू मेरो विवशतामा डुब्दै थिए म भने आशाका बत्तीहरू बालेर उडान भरे बा बिरामी भएको देशतिर । जहाज आकासिँदै गयो मेरो मन भने सोचमा बढारिनै गयो । मेरो अनुहारमा तड्पनका रेखाहरू कोरिए तिनै रेखाका खोल्साहरूमा व्याकुलका पसिनाहरू भरिन थाले । म रोगले ग्रस्त मान्छे जस्तै कमजोर बने
मुस्कान उडेको मेरो अनुहारको भाव पढेर छेउमै बसेको एउटा नेपाली यात्रीले सोधेको थियो दाइ के भयो ? सन्चो भएन की ? ऊ निकै हार्दिक बन्यो म प्रति नेपाली मन सधैँ सबैतिर यस्तै कोमल र मायालु हुन्छ । मैले ऊत्तरदिए मेरो अवस्था र परिस्थितिको उसले ढाडस दिँदै भन्यो दाइ नआत्तिनु होस धैर्यता राख्नुस् मेरी आमा पनि सिकिस्तै बिरामी हुनु हुन्छ भनेर नेपाल जान लागेको हुँ । लेखान्तर जे छ त्यही हुन्छ दाइ समयको प्रहारमा बनेका चोटहरू सहनु हाम्रो विवशता हो उसले मलाई ढाडसका शब्दहरूले सेकी दियो बत्तीसहजार फिटमाथि आकाशमा बाको पिरले चिसिएको मेरो मन अलिकति न्यानो बन्यो ।

म ऊसँग सहमत भए अनि हामी आ-आफ्ना अवस्थाहरू साट्न थाल्यौ । मैले त मेरो बा को अन्तिम जीवन देखेको थिए तर उसले आफ्नी आमालाई भेट्न पाएनछ बिचरा पछि फोन गरेर भनेको थियो मलाई । काठमाडौँमा जहाज लेन्ड हूनासाथ बाको मुहार मनभरि राखेर पोखरा जाने मोटर खोज्न थाले काठमांडूमा बसेका श्रीमती र छोराहरूलाई दश मिनेट समय दिएर माइक्रो बस चढेर पोखरा प्रस्थान गरे त्यो बिचको समय मेरा लागि बर्षौ झैँ लागेको थियो ।

बल्ल म घर पुगे । सबै जना बा कै समीपमा नि स्तब्ध बसिरहेका थिए । मृत्यु सँगको मौन लडाइमा बा शैयामा छ्ट्पटीई रहनु भएको थियो । म भाव बिभोर भए भावना बगाएर ए बा भनेर बोलाए । र गर्लम्म अँगालोमा बेरे बाले आँखाका परेलीहरू चलाउँदै आँसुले बोल्नु भो सबै जना स्तब्ध बने बा र मेरा दुवैका आँखाबाट गण्डकी बग्न थाल्यो माहौल साउनको झरीले भिजेको धर्ती जस्तै बन्यो मनको धरातलमा पैर्हो लड्न थाल्यो र खुसी हरू पुरिन थाल्यो।

धेरै कुरासँग सम्झौता गरेर लामो यात्रा पछि बा सँग भेट्न पाएको थिए, भलाकुसारी गर्ने धोको थियो मेरो विदेशी जीवनको दिनचर्या बालाई सुनाउने रहर थियो पुरा भएन बा बोल्नै नसक्ने हुनुभएको रहेछ । झन् बढी रुन मन लागेर आयो बा को अवस्था देखेर हाम्रो संवाद हुन नसकेर, एक तमाससगं बालाई नियाले स्तब्ध र कान्ति उडेको मुहारमा मृत्युका रेखाहरू देखिएका थिए । फोक्सोमा क्यान्सर बनेर बसेको मृत्युले आफ्नो साम्राज्य फिजाएको थियो बा को शरीर भित्र । मेरो मन मृत्युसँगको आक्रोशमा युद्धमा होमीएको सिपाही जस्तै बन्यो उसको हत्या गर्न मन लाग्यो । तर सांसरिक जीवनमा मृत्युसँग प्राणीहरूले हार्नै पर्ने नियम भएको ले यसो गर्न सकिन उसलाई, त्यसैले उसको कालो डरलाग्दो रूपसँग मौन सम्झौता गरे र शून्यतामा घोत्लिदै बासँग बितेका अतीतहरू कोट्याउन थाले । जीवनको हरेक रूप परिस्थितिसँग परिचय थियो बाको, सङ्घर्ष गर्दा गर्दै समयले डसेका घाउहरू नै वास्तविक जीवनका रङ्गहरू हुन भन्नु हुन्थ्यो हामीलाई । बाले कुल्चिएको जमिनको प्रत्येक माटोमा हाम्रा जीवनका हरियालीहरू उम्रन्थ्यो साह्रै कर्मशील असल पिता मेरो बा, सपनामा जीवन कहिल्यै अल्झाउनु भएन सङ्घर्ष र कर्ममा विश्वास गर्ने मेरो बाको जीवन जिउने शैली अर्थ पूर्ण थियो बालाई पढ्नेहरू जिबनसग नजिक बनेर सुखी बनेका मान्छेहरू पनि धेरै छन् । कति कति दुःखहरू सहनु भो, हुर्कदै गरेका सन्तानहरू गुमाउनुभो मन परेकी श्रीमती गुमाउनुभो मान्छेहरूले जिउँदै पोखरीमा डुबाएर मार्न खोजे तर सबै सहनु भो पचाऊनुभो ।

समयसँग हिँड्न सक्ने एउटा साँच्चै को युग पुरुष हूनुहुन्थो मेरो बा । आज तिनै जीवनका सबै चाङहरू नि स्तब्ध र विवशतामा ओछ्यान मा पल्टी रहेको देख्दा घरमा हामी सबैको प्रत्येक श्वास मा पिर बढेर गर्मी को तीव्रता थियो । तिहारको रङगीएको रात र देउसी भैलोको गुञजनमा समय उल्लासमय बनेको थियो । तर हामीहरू भने बा को पोलिरहेको फोक्सो सङगै जलेर अवाक् बनेका थियौ । बाको बाच्ने रहर बाकी हुँदा हुँदै जीवन हार्नु पर्दाको वास्तविकता धमिलो बनेर आँखाबाट ओर्लीयो संसारका सबै ममताका बाटाहरू अवरोध बने आमासँग केही दिन अघि बोल्न सक्दा भन्नु हुन्थ्यो रे बुढी म सन्चो भएपछि सधैँ जस्तै तेरो अगाडी बसेर तैँले पस्केको भात खाने मन छ । तर ती रहरहरू सदा सदाका लागी मेटिए कहिल्यै नपलाउने गरी ।

बाको शरीर मा नियतिले सल्काएको आगो निभाउन हामीले आँखामा सागर बोकेका थियौ, तर प्रत्येक रातमा जलिरहेको बा को वेदनाले हाम्रो आखाहरुनै सुकाई दियो अफसोच त्यो जलन सँगै हामी पनि जलेऊ । हामीले आँखै आँखामा ममता साट्न मात्र सक्यौ तप्किएका ममताका थोपाहरू बढ्दै गएर हाम्रो मनको बगरमा सेती नदीको भेल बगेको थियो, त्यो भेलमा बाको दुखाई बगाउन खोजेका थियौ । उषाको प्रत्येक आगमनमा दैवसँग बाको जीवनको भिख मागेका थियौ । प्रत्येक मन्दिरका भगवान् सँग बाको छातीमा भरिएको पीडाको मल्हम माग्यौ तर झनै तातो रापमा दुखाई बढ्दै गएको थियो .. यसरी मृतुको सैयामा छट्पटायेको बेला भावना बगाएर पिडा धुने कोसिस बाहेक अरू  केही गर्न सकेनौ हामीले ।

वरिपरि छिमेकमा सबैको घरमा भाइ टिकाको तयारी हुँदै थियो तिहारको सप्तरंगी टिका र मखमली फुलहरू सजिएका थिए, जताततै रेडियोमा पनि सम्बन्धका गीतहरू बजी रहेका थिए । तर हामी बाको बढ्दै गएको छटपटीमा बेचैन थियौ । श्वासको गतिको अन्तर बढ्न थाल्यो बालाई अत्यन्त गाह्रो भयो हस्पिटल पनि लान सकेनौ किनकि डाक्टरहरूले भनेका थिए बा को अन्तिम अवस्था थियो यो । अनन्त बा को श्वास बन्द भयो दैवसँगको हारमा उसले बाको तेजमणि चुँडेर निर्जीव बनायो, हामी दुखी बन्यौ हार्‍यौ र बाको शरीर अङ्गालेर रोयौ, हाम्रो एउटा जीवनको छानो खस्यो । ममताको घर उदाङ्गो भयो । अन्यत्र घरघरमा मखमली फुल्यो हाम्रो मनको बारीमा भने सबै फुल मुर्झाए र सुके मान्छेहरू शप्तरङगी रङग हरूमा सजिँदै थिए हामी भने बालाई सेतो वस्त्र ओढाएर अन्तिम बिदाइको लागी । सेती बगर तर्फ झरेऊ ।