अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:१८ | Colorodo: 22:33

मृत्युलाई जितेको त्यो पल

ध्रुव थापा २०७७ वैशाख २६ गते ९:३२ मा प्रकाशित

रातको एघार बजी सकेको थियो, र ११:५ मा अन्तिम ट्रेन थियो उसको रुटको नत्र फेरी दुइटा ट्रेन फेरेर जानुपर्ने बाध्यता थियो । एकै श्वासमा उ स्टेसन पुगेर ट्रेन चढ्ने लाइनमा खडा भयो, हतार हतारमा उ झन्डै एक जना केटीसित ठोकिन पुग्यो, हडबडमा उसले सोसियल डिस्टेन्स समेत भुलेर अघि बढेको थियो । उसलाई त्यस केटीले कर्के नजरले साङ्केतिक नजर लेनै तिरस्कृत तरिकाले हेरी र आफ्नो फोनमा टाउको लगाई । त्यति नै खेर ट्रेन आइपुग्यो र सबै दौडिए आ-आफ्नो सिटतिर ।

उसलाई आज सामान्य भन्दा धेरै थकित महसुस भएको थियो । कारण एक जना कर्मचारीले सिक (बिरामी) कल गरेको थियो र उसले बाध्यतावश केही दिन यता उसको काम गर्ने ग्रोसरी स्टोरमा १४ देखि १६ घण्टा काम गर्नु परेको थियो, एक महिना अघि नै राज्य पाल (गभर्नरले) कोविद-१९ (covid -19) को महामारीको कारण, (shelter in place) सेल्टर इन प्लेसको घोषणा गरी सकेको थियो । तर उ भने नियमित ट्रेनको यात्रा गर्दे काममा गई रहेको थियो ।

यो महामारीको प्रकोप अमेरिकाको साना, ठुला सहरहरूमा केही महिना देखिनै उच्च जोखिमको रूपमा फैलिएको समाचारमा आइरहेको थियो । दिन प्रतिदिन झन् झन् भयावह स्थिति सिर्जना भई रहेको थियो । उसको लागि यो विशेष गरी गाह्रो सप्ताहान्त थियो । भोलि बिहानै फेरी काममा जानु थियो र उ काम गर्ने स्टोर बन्द नहुने जानकारी उसको म्यानेजरले दिएको थियो ।

उ सँगै काम गर्ने अन्य धेरै अमेरिकी कर्मचारीहरू काममा आउन छाडी सकेका थिए, सबै बिरामी बिदा लिँदै बस्न थालेका थिए । उ पनि बिदा लिएर बस्न त सक्थ्यो तर यो उसको बाध्यता थियो किनकि भर्खर केही महिना अघि मात्र छोरीको बिहेको लागि उ नेपाल गएको थियो, जुवाई अमेरिकाकै हुनाले बिहे पछि एउटी छोरी जो नेपालमै मेडिकल पड्दै थिई र उनीहरूसित त्यस बेला अमेरिका आउन नचाहेको तर अहिले परिस्थिति बस उसलाई ल्याउन कानुनी अड्चन आएको थियो । त्यसैले बिहे गराएर ल्याउने सोचले उसले यो कदम चलेको थियो । त्यसैले छोरीको बिहेमा धेरै खर्च भएको हुनाले अहिले ओभर टाइम काम गर्न बाध्य थियो उ । उसको श्रीमती र छोरा भने नेपालमै छोरीको बिहे देखि बसेका थिए उ मात्र अमेरिका फर्किएर आएको थियो । केही दिनपछि श्रीमती र छोरा आउने प्लेन समेत यही महामारीको कारणले रद्द भएकोले उतै बस्न बाध्य बनेका थिए । अहिले विश्व भरिका अन्तर्राष्ट्रिय हवाईजहाजहरू उड्न छाडेको पनि महिना दिन हुन् लागि सकेको छ ।

केही दिन देखि उसको शरीर र खुट्टामा दुखाइ बढ्न थालेको थियो र मनमा एक प्रकारको भय उत्पन्न भई रहेको थियो । घरमा पुगेर नेपालबाट ल्याएको सिटामोल खाएर सुत्ने सोची रहेको थियो अचानक त्यही केटीले हप्काई “किन मास्क नलगाई ट्रेनमा यात्रा गरेको, “यु लुक सिक टु”, उ आफूलाई सम्हाल्न खोज्दै, सरि भन्छ र हतारमा मस्क लगाउनै भुलेकोले ब्याग खोतल्न थाल्छ त्यही हड्बडीमा उ अचानक खोकन थाल्छ, त्यो देखे पछि सबै उसको छेउ छाउमा बसेकाहरू यता उता दगुर्न थाल्छन्, सबैले उसलाई कोरोना सङ्क्रमित ठानेर टाढा हट्न थाल्छन् । उ भने केही बोल्ने सक्दैन र आँखा चिम्म गरेर निदाएको जस्तो गर्न थाल्छ । एकै पलमा उ चढेको ट्रेनको डब्बा खाली खाली हुन्छ । उ मन मनै सोच्न थाल्छ कतै मलाइ कोरोना भाइरस त लागेको छैन ? हुन पनि गएको एक हप्ता जति भएको थियो शरीर दुख्ने र राति एक प्रकारको ज्वरो जस्तो आउने, तर अधिक कामको चापले होला भनेर उ त्यति वास्ता गरी रहेको थिएन । सधैँ बेलुका घरमा गएर ज्वानो, बेसार र मह मिसाएको पानी पिएर सुत्ने गरेको थियो ।

अचानक ट्रेनले आफ्नो गन्तव्य आइपुगेको घोषणा गर्‍यो र उ हतार हतार ट्रेनबाट निस्किएर आफ्नो डेरा तिर लाग्यो । बाहिर निस्किएर हिँड्दा बाटोमा उसलाई निक्कै जाडो लागेर काँपिरहेको महसुस गर्छ । उसको शरीर पनि शिथिल र लाचार भई सकेको महसुस गर्छ । उ एक्लै सुनसान बाटो हुँदै घरतिर लाग्छ । मन भरि डर र त्रास हुन्छ, झन् मध्य रातमा बाटो अरुदिन भन्दा सुनसान र चकमन्न थियो, यो बाटो सधैँ व्यस्त हुने गर्थ्यो तर अहिले एकदम चकमन्न थियो । प्राय सबै अफिसहरू बन्द भएकोले हरेक ठाउँमा ट्राफिक एकदम पातलो वा शून्य प्राय भएको थियो । उ एक्लै आफ्नो डेरा तर्फ लागि रहेको हुन्छ, अचानक उसको अघि सबै अन्धकार छाउँछ र त्यही नजिक बस बिसौनी अघिको लामो बेन्चमा केही क्षण आराम गर्न थचक्क बस्छ ।

आजको ट्रेनको घटनाले उ विचलित र त्रसित भई सकेको थियो, त्यही माथि दिन रात सोसियल मिडिया र पत्र पत्रिकामा विश्वभरि यस भाइरसले आतङ्क मच्चाएको खबर पढी रहेको थियो जसले अझ बढी भय र त्रास उत्पन्न गरेको थियो ।

अचानक उसको मनमा आगो सल्किएको थियो उसको मनोबल पूर्ण रूपमा टुक्री सकेको थियो । उसलाई न त केही खान मन थियो न कोही सित केही बोल्नै, उसको शरीर एकै क्षणमा हिउँ जस्तो चिसो भएर आएको थियो, फेरी केही क्षणमै खै कसरी हो ज्वालामुखी जस्तै शरीर तातेर आउँछ र शरीर पसिनाले भिजेको जस्तो महसुर गर्छ । अचानक उसलाई श्वास फेर्न गाह्रो हुन थाल्छ। उसको मस्तिस्क्ले काम गर्न छाड्छ र उसको दिमाग शून्य बन्छ, त्यसपछि उसलाई केही थाहा हुँदैन । सायद उ बेहोस भएको हुनुपर्छ ।

उसलाई लाग्यो उसलाई लिन प्यारामेडीकहरू आइपुगे र उसलाई एम्बुलेन्समा हालेर कहीँ लैजाँदै छ । उ असहाय र विवश भएर हरेक घटना क्रम हेरी रहेको छ, केही क्षणमा त्यहाँ डाक्टर, नर्स र बिरामीहरू निकै भयभीत अवस्थामा यता उता गरी रहेका देख्छ, मान्छेहरू चारै तिरबाट आइरहेका हुन्छन्, हरेक पल फोनको घण्टी बजी रहेको सुन्छ । मानौँ त्यहाँ एकदमै असामान्य हलचल भई रहेको छ ।

अब उसले आफूलाई अस्पतालको विशेष कक्षमा पाउँछ । पल भरमै उसको भाइरस टेस्ट गर्न नाकबाट स्वाब लिइन्छ, तत्कालै उसको छातीको एक्स-रे पनि गरिन्छ । उ केही सोच्नै सक्दैन यो पलभरमै “के भइरहेको छ ?” उसलाई महसुस हुन्छ उसको मुखमा अक्सिजनको मास्क लगाइएको छ र उसलाई अन्य थुप्रै बिरामी भएको वार्डमा सारिएको छ । उसको आफन्त वा चिने जानेको कोही छैन उसको वर पर ।

उ नितान्त एक्लो र असहाय महसुस गर्छ र पशुपति नाथलाई सम्झेर प्रार्थना गर्न थाल्छ, हे प्रभु यो के भई रहको छ मलाई ? म कहाँ छु अहिले ?

यसो टाउको घुमाएर उ अर्को बेडमा हेर्छ त्यहाँ एउटी बुढी नारी त्रसित हुँदै उसको लोग्नेलाई हेरी रहेकी हुन्छे, उनी नजिक आउन सकिनन् सायद उसलाई भाइरस सर्छ भन्ने डर लागेको हुनसक्छ । त्यस बेला उसले आफ्नो हृदयमा एकदमै पीडा महसुस गर्छ, सायद यस्तो पिडा उसले आज सम्म कहिले अनुभव सम्म गरेको थिएन ।

उसको नजिकै अन्य छ वटा ओछ्यानहरू देख्छ र त्यहाँ सबै कोरोना संक्रमितहुनु पर्छ जस्तो लाग्छ उसलाई। उ पनि त सुगर र उच्च रक्तचापको औषधि लिँदै गरेको थियो र यस्तोमा उसलाई संक्रमण हुने उच्च जोखिम हुन्छ भनेर उसले पत्र पत्रिकामा हरेक दिन अध्ययन गरी रहेको थियो।
चारै तिर केवल नर्सहरू आउँदथे औषधि दिन्थे र केही आएर सर सफाइ गर्थे तर उसलाई हेर्न अहिले सम्म चिनेको आएका थिएनन् । मात्र त्यहाँ डाक्टर र नर्सहरू देखिन्थे सायद उनीहरू प्रतिदिन १०- १२ घण्टा काम गर्दै थिए। उनीहरू एकदम थकित देखिन्थे। उसलाई यो पनि थाहा हुँदैन किन उसलाई यहाँ कसले र कहिले ल्याइएको हो भनेर।

उसको नजिकको बिरामी पानी माग्दै थियो छेउमा रहेको उसकै श्रीमतीले पानी दिन हिचकिचायो र नर्सलाई बोलाई। नर्सले पानी दिएपछि उसको सामु आई र सोधी तपाइलाई पनि केही चाहिन्छ ? उसले सोध्यो त्यो के को बिरामी हो ? उसले भनी उ “जीवनको अन्तिम श्वास लिँदै छ अन्तिम स्थितिमा छ उसको फोक्सोले काम गर्न छाडी सकेको छ ” उसलाई लाग्यो चारै तिर डाक्टर र नर्स हैन यमदूत घुमी रहेकछन र सबैको जाने समय पर्खी रहेका छन् । अचानक अर्को बिरामीले जोडले पुकार्‍यो , “डाक्टर सेभ मि आई कान्ट वृथ” म पनि त त्यस्तै मृत्युसित जुझी रहेको छु , कुन बेला सम्मको लागि हो। खै म कहाँ छु मेरो श्रीमती, छोरा कहाँ होलान् , कतै उनीहरूलाई पनि कुनै अस्पतालको बेडमा सुताई राखेको छैन ? यो कस्तो दिन आयो ? विश्वको शक्तिशाली राष्ट्र हरू अहिले निरीह बनेको छ एउटा जाबो भाइरस सित ? मलाइ भय र रिस सँगै उठी रहेको छ , के म फेरी फर्के आफ्नालाई भेट्न पाउँछु ? अचानक उ भयभीत र सशङ्कित हुन्छ, “के म जिउँदै छु ?”होइन, म मरेको छु जस्तो मलाई लाग्दैन, किनकि मलाई लिन यमदूत आएको छैन। त्यति नै खेर एउटी नर्स कराउँछे

“उ गयो ।” मेरो छेउको त्यो वृद्ध मानिस मरी सकेछ। उसले सोच्यो अब त्यो बेडमा अर्को मृत्यु रोज्न आउने छ , सबैलाई बाच्ने इच्छा हुँदा हुँदै पनि यस रोगले सबैलाई लाने भयो । केही बेरमा त्यो लास लाई एउटा प्लास्टिक को ब्याग जस्तो थैलोमा हालिन्छ र त्यहाँ बाट लगिन्छ , सायद उसको आफन्तले समेत देख्न पाउने छैन अन्तिम श्रद्धाञ्जली दिन पाउने छैन। कसले दाह संस्कार गर्छ , सायद मेरो लास पनि लावारिस कुनै कुनामा केही दिन रहने छ र सामूहिक दाह संस्कार गरिने छ। यस्तो सोचले झन् उ विचलित हुन्छ। चारै तिर अन्धकार भएको महसुस गर्छ र आँखा चिम्म गरेर सुत्ने कोसिस गर्छ । केही समय पछि यसो टाउको घुमाएर हेर्दा अर्को लासपनी त्यही वार्डबाट ठुलो प्लास्टिकको थैलो मा हालेर लादै गरेको हुन्छ। उ चारै तिर नजर घुमाउँछ थुप्रै ओछ्यानहरू खाली हुँदै थियो। त्यो सोचाइले उसलाई झनै विचलित पार्‍यो।

अर्को कुनामा एक जना बिरामी कोमामा गई सकेको हुन्छ , उसलाई कसैले ,”बुवा, बुवा, म आए अब ठिक हुन्छ, कस्तो छ अहिले ? “, भनेर जोड जोडले बोलाउँदै गरेको सुन्छ तर उसको बुवा अचेत भएकोले छोरालाई केही जवाफ फर्काउन सक्दैन। यो सब दृश्य उसको लागि एकदमै कष्टकर हुन्छ।तर उ एक प्रकारले शिथिल भई सकेको हुन्छ।

अचानक उसको बाच्ने चाहना बढेर आउँछ र फेरी सोच्छ , हामी त नेपालको जडी बुटी खाएर हुर्केको हाम्रोमा अरूको भन्दा धेरै रोगसँग लड्ने क्षमता छ भनेर छोरीले फोनमा भनेको सम्झन्छ र आफूलाई मजबुत बनाउन आफैलाई हौसला दिन खोज्छ। मैले यसरी हरेस खाएर हुँदैन मैले सङ्घर्ष गर्नु पर्छ , म पहिलो र दोस्रो विश्व युद्धमा लड्ने ती वीर गोर्खा सन्तानको छोरो हु। यस जाबो भाइरस सँग किन लड्न सक्दिन , मैले यसलाई जित्नै पर्छ। म अब उठ्नै पर्छ यो बिमारीहरूको लाइन मा यसरी नै सुत्ने हो भने म पनि लास बन्न बेर लाग्दैन। म अहिले मर्नै सक्दिन मेरो लागि मात्र होइन म मेरो परिवार, सन्तान, आफन्त र साथीहरूको लागि भए पनि बाच्नु पर्छ । म मर्छु त मेरै देशमा गएर मर्छु , हे पशुपति नाथ , हे मनकामना माई मलाई शक्ति दिनोस्, मैले त्यस्तो के कर्म गरेको छु र मलाई यस्तो सजाय दिन्छौ। हे भगवान् बुद्ध मैले जीवनमा कुनै राम्रो कर्म गरेको छु र अझै गर्न वाकी छ भने मलाई बचाउनु होस्। म बाच्न चाहन्छु। उ दृढ सङ्कल्प गर्छ र नर्सलाई बोलाउँछ। मिल्छ भने अब घर जान चाहन्छु , मलाई अहिले केही भएको छैन, मलाई सन्चो हुँदै छ। म अब यहाँ धेरै बसे भने बरु मेरो आत्मबल क्षीण भएर मर्न सक्छु। मलाई डिस्चार्ज गरिदिनुस्।

उसले इटालीको घटनामा सुनेको थियो कि धेरै मानिस यो कोरोना भाइरसले भन्दा त्यसो डर त्रास र मनोबल कमजोर भएर मरी रहेका छन्। अब म अस्पतालमै बस्ने गल्ती गर्दिन यहाँ दिन प्रतिदिन म कमजोर हुँदै छु र अझ धेरै सङ्क्रमित हरूको बिचमा झनै कमजोर हुनेछु। किनकि यो एक उच्च जोखिम कोविद वार्ड हो र उनीहरू सबै मर्दैछन , मैले बाच्नु छ । ”

उसको कुरा सुनेर नर्सले डाक्टरसित सल्लाह गर्छु भनेर बाहिरियो र केही क्षणपछि नर्स र डाक्टरको टोली आएर उसको रगत, अक्सिजन लेभल , रोग प्रतिरोधक क्षमता जाँचेर गए , केही बेर पछि सोही डाक्टरले आएर जानकारी दिए कि “अचानक हिजो र बिहानको भन्दा तपाईँको स्थितिमा सुधार आएको छ , म तपाईँको उच्च मनोबलको कदर गर्छु , तपाइले यस रोगलाई जित्न सक्नु हुनेछ , तर हामी भिडियो कल बाट नियमित तपाइको सम्पर्कमा हुनेछौ। आज तपाईँलाई डिस्चार्ज गर्न पाउँदा हामी सबै खुसी छौ “, उ धेरै उत्साहित हुँदा डाक्टर र ईश्वरलाई एकै रूप देख्छ।हृदयबाट उसले डाक्टर र नर्सलाई धन्यवाद दिन्छ, केही कागज पत्रमा सही गरिसकेपछि उ उत्साहित हुँदै मन मनै भन्छ म बाचेर घर जाँदै छु, मैले मृत्युलाई जितेर पुन नयाँ जीवन पाएको छु। उसको साथमा उसको आफ्नो फोन समेत हुँदैन थाहा छैन कसरी उ यहाँ सम्म आइपुग्यो कसले ल्यायो सबै उसलाई सपना जस्तो लाग्छ। उसकोमा फेर्ने लुगा समेत हुँदैन ।

त्यही अस्पतालको लुगामा उसले नर्सलाई घरमा फोन गर्न आग्रह गर्छ, त्यही बेला नर्स ले उसको फोन र वालेट ल्याएर दिन्छ। उ तुरुन्तै आफ्नो श्रीमतीलाई नेपालमा कल गर्छ , उता श्रीमती भने केही दिनदेखि आफ्नो पतिको फोन पनि नआएकोले घरमा पागल सरह भएकी हुन्छे। आफन्त चिने जानेको सबैलाई फोन गर्दा समेत केही पत्ता लगाउन सकेको हुँदैन ,नेपालमा सबै लक डाउन मा बसेको हुनाले कहीँ कतै जान समेत सक्दैन। सबै यस जोखिम परिस्थितिमा आफ्नो घरमै बसेका हुन्छन् । अमेरिकामा पनि उसले चिने जानेको सबैलाई फोन गरेर सोधी रहेको हुन्छ तर कसैलेपनि उसको जानकारी दिन सक्दैन। उसले सम्पूर्ण घटना आफ्नो श्रीमतीलाई सुनाउँछ र भगवानलाई सम्झन्छ। उताबाट श्रीमती भन्दै गरेकी हुन्छे आज बुद्ध जयन्ती हो , भगवान् बुद्धले हजुरलाई नयाँ जीवन दिनु भयो। सायद वहालेनै तपाइलाई बचाएको हुनु पर्छ। धन्य छ प्रभु मेरो श्रीमानलाई नयाँ जीवन दिनु भएको मा।

उसले सम्झन्छ हो भगवान् बुद्धले मलाई नयाँ जीवन दिनु भयो। म कति भाग्यशाली रहेछु।मेरो प्रार्थना सुन्नु भयो। मलाई सकारात्मक सोच र मनोबल चमत्कारिक रूपमा प्रदान गर्नु भयो। मैले अझै धेरै गर्नु छ यो भौतिक संसारमा। यहाँ आफू मात्र बच्ने हैन सबै एक अर्का सित मिलेर बस्नु पर्छ, ईश्वरले कहिले काहीँ आफ्नो सन्तानलाई परीक्षा लिने गर्छन्। यसमा हामी सफल हुनु पर्छ। उसलाई लाग्छ अहिले सवैतिर शुद्ध हावा चली रहेको छ , बाहिर उसलाई शुद्ध हावामा श्वास फेर्दा लाग्छ मैले यो विश्वको सौन्दर्य लाई जोगाउनु छ , यसको इको सिस्टमलाई जोगाउन केही गर्नै पर्छ। छेवैमा एक जोडी चरा भयमुक्त भएर चरी रहेको हुन्छ र पर एक हुल टर्की चराहरू बाटो काटी रहेको हुन्छन् ।

नोट: अहिलेको परिस्थिलाई मध्य नजरमा राखेर कसरी आफ्नो आत्मबलले यस महामारीलाई जित्न सकिन्छ , त्यसैको आधारमा तयार पारिएको यो एउटा काल्पनिक कथा हो। – लेखक