अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:२५ | Colorodo: 09:40

बेइमानी याद

ध्रुव थापा २०७६ वैशाख १२ गते २३:५५ मा प्रकाशित

उदेक लाग्छ
तिमी टाढा भएपछि
केवल अतीत मात्र छ साथमा
तिनै विगतहरू
याद बनेर हुरुरु आउँदा रहेछन्
र जताततै बस्दा रहेछन्।
खै
तिमी त कहाँ…..छौ कहाँ……?

कहिले काहि आँखा बाट
वर्षा को समयमा
बगिरहेको सेती नदी जस्तो
धमिलो आँसु झर्दै
बग्दछ अतीत
म निथ्रुक्क भिज्दछु।

मैलै
तिम्रो
सम्झनाको घुमले
ढाकी रहेछु तातो विगत
पानीको साम्राज्य बिचको
डुब्नै लागेको
सानो याद को टापुमा ।

मान्छेहरूको भिडमा
एक्लै छु अचेल
तर
म सङगै बसेको छ
तिम्रो झल्को।

बनका सुरिला सालका पथराहरू
तिमी जस्तै देख्छु
हुर्कँदा
मकैका बोटहरू मा
तिम्रो जवानी खोज्दछु
केराका पातहरू हावाको तालमा हल्लिदा
तिम्रो इसारा सम्झन्छु।

बतासे चौतारी मा
प्रेम को बात मारेको देखि
कल्पना सिनेमा हलभित्र
सङ्गै हेरेको
कुसुमे रुमालको
याद आऊछ।

सबै भन्दा बेइमानी त
याद पो हुदोरहेछ ।

तिम्रो सम्झना
पुरानो घरको
भित्ताहरूमा देख्छु
गोरेटो को छेऊमा
उभिएको
पाती को बोटमा
पनि देख्छु
तिम्रै अनुहारको
त्यो हँसिलो झझल्को
कहाँ सँगै छैनन् र मसँग ?

त्यो
टारीको बर्से घाँस देखि
मङसिरका
धानका बालाहरू सम्म
फागु को सप्तरङगी
देखि
दशैको लठ्ठे पिङग सम्म
त्यो गाउँको पानी घट्ट देखि
निबुवा पेल्ने कोल सम्म।
तिम्रो याद

अझै पनि
हाम्रो पहाडी बाटोमा
गुड्ने गाडीको
छाँयाँसरी
रफ्तारमा
झुन्डी पछ्याइरहन्छ किन ?
त्यो पल
लियोनार्दो को
मोनालिसा
पेन्टिङ जस्तै
मेरा आँखा भित्र बसेको
छ तिम्रो आकृति ।

अरुण नदीले छोडेको बगर जस्तै
यो मनको क्यानभासमा
तिम्रै मायाको अग्लो धरहरा
कोरेको छु।

तर
बेखबर तिमी
कुन धरातलमा
जीवनका पाइलाहरू नाप्दै हौली
या तिमी पनि मेरा यादहरू
सङग रोमान्स गरेकी पो छौ की ?

अनन्त
यादहरू
बाच्ने गरी जोडियौ
फेरि कहिल्यै नफर्किने गरी
कता…….. मोडियौ…… कता

घामले नभेटेको
एउटै आकाशको जुन

सिक्का का दुई पाटाहरू
जस्तै,
नजिक भएर पनि
एक अर्को लाई
देख्न नसक्ने
दुई आँखाहरू जस्तै
मिलन नहुने भाग्य,
मा
म र तिमी।

मत
सलाईको बाकस भित्र को
बन्दी बारुद जस्तै भएको छु
आऊ तिमीले नै कोरिदेऊ
म आफूलाई
बाल्न चाहन्छु
ती सबै सबै
यादहरू खरानी
बनाउन चाहन्छु।।।।

प्रतिक्रिया