अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:०५ | Colorodo: 16:20

विनय लामिछानेलाई पत्र

ध्रुव थापा २०७६ माघ ७ गते ११:२८ मा प्रकाशित

विनय ! बरु तिमी पनि मरेको भए म एउटा समवेदनाको आँसु कविता लेख्ने थिए होला या तिम्रो जिन्दगीको कथा लेख्ने थिए होला तर आफ्नै परिवार मारेर तिमी मात्र एक्लै बाच्यौ त्यसैले तिमी महान् अपराधीको लागी एउटा आक्रोशको पत्र लेखेको छु । यो पत्र कतै पढेछौ अथवा सुनेछौ भने आशा छ तिम्रो अपराधको सजायमा थप सहयोगी बन्नेछ । म चाहन्छु तिमीलाई जिन्दगीले पलपल पोली रहने सजाय होस । सायद तिमी पनि यही नै चाहन्छौ ।

भनिन्छ बरु ऋण लागोस् तर दिन कहिल्यै नलागोस् वास्तविकता पनि यही नै हो विनय तिमीले कसरी बुझेनौ, ऋण लागेर केही हूदैन, धन त कमाउन सकिन्छ, परिस्थिति आफैले बनाउने हो कहिले धनी भ्ईन्छ त कहिले ऋणी भ्ईन्छ, त्यसैले ऋण धन आफ्नो बसमा हुन्छ, तर मान्छेले समयलाई भने नियन्त्रण गर्न सक्दैन । समयसँग हिंडन सकेर आफ्नो अनुकूल बनाई रहन सके मात्र जीवनले गति लिन सक्छ नत्र पल पल प्रतिकूल समय आई नै रहन्छ प्रतिकूल समयलाई अनुकूल बनाउन सङ्घर्ष गर्नुलाईनै जीवन सङ्घर्ष भनिन्छ । वैभव जीवनको सपना सबैले देख्छन् देख्नु पनि पर्छ तिमीले पनि देखेकै थियौ र त व्यापारमा हात हाल्यौ, देखेका कति सपना पुरा होलान् कति तुहिएर जालान् तर कर्म गरिरहे जीवन चलिरहन्छ लाग्छ तिमी कर्म देखि डराएका लाछी युवा हौ कामचोर मान्छे हौ । समय आफ्नो पक्षमा नभएको र आफूले ऋणी जीवन बाच्नु अर्थहीन रहेको कमजोर मानसिक निष्कर्षमा पुगेर पुरै ज़िन्दगीसंग हार मानेर ३८ वर्षको जोसिलो जिन्दगी तहसनहस पार्‍यौ, विनय ! आफ्ना दुई सन्तान र सुन्दर पत्नी जमुना रेग्मीलाई लिएर बगिरहेको त्रिशूली नदीमा हाम फाल्यौ । कसैले तिम्रो त उद्धार गर्‍यो तिमी,”दुर्भाग्य” बस बाचेका छौ तर हेर त तिम्रो परिवारको जीवनमा पूर्ण विराम कसरी लाग्यो । दुवै सन्तान र पत्नी तिनै जना त्रिशूलीसँगै बगेर गए कहिल्यै नफर्कने गरी, अब तिमीले कुनै मूल्यमा पाउन सक्दैनौ उनीहरूलाई ।

विनय तिमी यति वेला मरेर बाचेका छौ तर को खुसी होला र तिमीले पुनर्जीवन पाएकोमा ? न तिमी स्वयं खुसी हुनेछौ तिमीले भनेझैँ त अव बल्ल हुनेछ तिम्रो अर्थ हीन जिन्दगी । प्रेमले भरिएको सुन्दर संसार उजाडेर फेरी त्यही जिन्दगीसँग सम्झौता गर्नु पर्दा तिम्रो अवस्थामा के बित्यो होला ? त्यो त भनिसाध्दे छैन तर अब तिमी बाचेर पनि पलपल मरिरहन्छौ तर असली मृत्यु तिमीबाट टाढा गएको छ । कति राम्रो संसार भत्कायौ हगी ? त्यही परिवारसँग हुर्कने माया र खुसीले तिमीलाई आकाश जस्तै फराकिलो जिन्दगी दिने थियो । तिमीले संसार जित्ने थियौ जावो ऋणको के कुरा, तर तिम्रो मनस्थितिले कहिल्यै जितको गोरेटो कोर्न सकेनछ । सायद सोचेका रहेछौ ऋणी जिन्दगी रित्याएर जित पाउनेछु मुक्ति पाउनेछु, लाचारी जिन्दगीसँग बदला लिनेछु त्यसैले असहज मृत्यु वोलायौ, तर अफसोस तिमी आफू मात्र बाचेका छौ सायद नियतिले यही जन्ममा तिम्रो कर्मको सजाय दिन बचाएको हुनु पर्दछ मलाई यही लाग्छ ।

विनय तिमीलाई थाह हुनुपर्ने हो आजको दिनमा प्रेममा घात गर्ने नारीहरू कति छन् हिसाब छैन विश्वासमा धोखा दिने आइमाईले जिन्दगीमा डढेलो लगाइदिएका कति घटना छन्, तर तिमीसँगै बाच्ने तिमी सँगै मर्ने कसम खाएर तिम्रो जीवनको रङ्गहरू भर्न लालुपाते र मखमली लिएर आएकी जमुना महान् लाग्यो जसले तिम्रो पागल पनलाई पनि साथ दिएर तिम्रै मायाका निम्ति सहर्ष मृत्यु रोजेकी छन् तिमीलाई धिक्कार छ विनय यस्तो प्रगाढ माया गर्ने अर्धाङ्गिनीलाई जाबो डेढ करोड ऋणसँग डराएर जिउँदै नदीमा खसाल्यौ एउटा पति भएर उसको अनुहारको चमकता मनको भावना पढ्नै सकेनछौ एउटी पत्नी लाई आड भरोसा ढाडस र प्रेम दिनु साटो जिउँदै नदीमा बगायौ। भर्खर सत्ताइस पुगेकी जवान केटी कति धेरै रहर पालेकी होली मन भरी, सन्तान हुर्काएर ठुलो बनाउने सपना सजाएकी होली आँखामा उसका सबै चाहाना त्रिशूलीमा बगाई दियौ हगी ।
तिमी त पतिको नाममा कलङ्क रहेछौ तिमी प्रति सबै लोग्ने मान्छेको सधैँ घृणा र आक्रोश रहोस् ।

विनय तिमी शिक्षित थियौ अरे ! तर आफ्नै सन्तान ती दुई वटा कोमल र अबोध अनुहारमा प्रेम र भविष्य देख्न नसक्ने तिम्रो कुहिएको मानसिकता रहेछ, सम्पत्तिको के कुरा ती अनमोल रत्नहरूमा हाँसोका खित्काहरू कति थिए, चाहनाका रङ्गहरू थिए तिम्रै बुढ्यौलीमा आड थियो समग्रमा भन्नु पर्दा संसारका सबै खुसीहरू थिए । जावो डेढ करोड ऋणसँग डराएर आफ्नै मुटुका टुक्राहरू बगाई दियौ त्रिशूलीमा ? तोते बोल्ने अबोध आवाजले बाबा भनेको एक पटक पनि सम्झेनौ ? आँगनमा खेली रहने ती कोमल फूलहरू कत्ती सम्झेनौ ? तिमी मर्न भनेर जादैगर्दा बाटो छेउकै पसलमा छ महिनाको त्यो शिशुलाई जमुनाले तातो दूध फुकेर पियाएको मर्मस्पर्शी दृश्य देखेर पनि नरोकिने तिमी घाती हौ ।

६ महिने बालकको पास्नी कुरेर बसेका उसका ती मामाको मनभित्र कति ठुलो चोट लाग्यो होला ? अमूल्य जिन्दगीहरूलाई क्षणभरमा रित्याएर तिमीले श्वास फेर्नुको अर्थ छैन । विनय तिमी मरेकै भए पनि यमराजको अदालतमा अपराधी हुने थियौ बाचेका छौ अब मान्छेको अदालतमा अपराधी हुनेछौ र सजाय भोग्नेछौ ।