अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:४१ | Colorodo: 03:56

कोभिड १९ रोकथामका लागि स्थानीय तहमा स्वास्थ्य समुह खटाइने

बिआरटीनेपाल २०७७ वैशाख १२ गते ६:४९ मा प्रकाशित

कोरोना भाइरस कोभिड १९ नियन्त्रण र रोकथामको लागि स्थानीय तहमा समूह खटाइने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले सबै स्थानीय निकायमा जनस्वास्थ्य अधिकारी, ल्याब टेक्निसियन, र नर्स गरी तीन जनाको समूह बनाएर कोभिड १९ को नियन्त्रण र रोकथामको लागि समूह खटाइने जानकारी दिनुभयो ।

यो समूहले कोरोना संक्रमणलाई नियन्त्रण, रोकथामसँगै ट्रेसिङ गर्ने काम गर्ने पनि उहाँले जानकारी दिनुभयो । गठन गरिएको समूहमा स्थानीय तहमा रहेका कर्मचारीहरुलाई प्राथमिकता दिइएको देवकोटाले बताउनुभयो । गाउँपालिकामा एउटा, नगरपालिकामा दुईवटा, उपमहानगरपालिकामा तीन, र महानगरपालिकामा पाँच वटा समूह खटाइने बताएको छ ।

स्थानीय तहमा उपलब्ध स्वास्थ्य कर्मचारीलाई प्राथमिकतामा राखेर परिचालन गर्ने निर्णय भएको हो । जनशक्ति अभाव भएमा प्रादेशिक जिल्ला स्वास्थ्य कार्यालय, प्रादेशिक कार्यालय, सामजिक विकास मन्त्रालय लगायतमा माग गर्न अनुरोध गरिएको छ । हालसम्म नेपालमा भेटिएका कोरोना संक्रमितको संख्या ४८ रहेको छ, जसमा १० जना निको भएर घर फर्किएका छन् । बाँकी ३८ जनाको देशका विभिन्न स्थानमा पिसिआर परीक्षण भइरहेको छ ।

देशैभरका विभिन्न स्थानमा उपचाररत रहेका मध्ये सबैभन्दा धेरै २९ जना विराटनगरस्थित कोशी अञ्चल अस्पतालमा रहेका छन् । पिसिआर र आरडिटीमार्फत भइरहेको परीक्षणमा हालसम्म ४७ हजार ४ सय ९३ जनाको परीक्षण भएको छ । जसमा पिसिआर विधिबाट ९ हजार ४ सय ७ जनाको परीक्षण भएको छ भने आरडिटी विधिबाट कूल ३८ हजार ९९ जनाको परीक्षण भएको छ ।

देशभरका विभिन्न क्वारेन्टाइनमा हाल १२ हजार ९ सय ८५ जना रहेका प्रवक्ता देवकोटाले जानकारी दिनुभयो । उपत्यकाबाट बाहिरिएर जाने मान्छेलाई क्वारेन्टाइनमा राखिएकाले दैनिक क्वारेटाइनमा बस्नेको संख्या बढेको उहाँले बताउनुभयो । हाल आइसोलेसनमा ८९ जना रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू