अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:०२ | Colorodo: 07:17

नेपालमा कोभिड– १९ को सङ्क्रमण बढ्दै

बिआरटीनेपाल २०७७ वैशाख २ गते २२:१७ मा प्रकाशित

विश्वव्यापी महामारीको रुपमा फैलिएको नोबेल कोरोना भाइरस कोभिड १९ को सङ्क्रमण नेपालमा बढ्दै गएको छ । अहिलेसम्म द्रुुत परीक्षण विधि र पीसीआर विधिबाट १२ हजार ९ सय ६ जनाको नमुना परीक्षण गर्दा १६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । नेपालमा कोरोना पुष्टि हुनेमा १९ वर्षका युवतीदेखि ८१ वर्षका वृद्धासम्म छन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार सङ्क्रमित १६ मध्ये पहिलो पटक सङ्क्रमित देखिएका एकजना निको भएर घर फर्किसकेका छन् । १५ जनाको विभिन्न अस्पतालमा उपचार भइराखेको छ । पाँचजनाको कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ भने चारजनाको वीरगन्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको छ ।

शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुमा दुई, पाटन अस्पताल लगनखेलमा दुई र धौलागिरि अस्पताल, बागलुङमा दुईजनाको उपचार हुँदैछ । हिजो मात्रै भक्तपुरको पेप्सीकोलामा एउटा अपार्टमेन्टमा बस्ने एउटै परिवारका दुईजनामा सङ्क्रमण पुष्टि भएको थियो । द्रुत परिक्षण किटबाट परिक्षण गर्दा परिवारका तीन जनामा संक्रमण देखिएपछि उनीहरूको पुनः पीसीआर विधिबाट परीक्षण गरिएको थियो ।

जसमा ५८ वर्षका पुरुष र ८१ वर्षका महिलामा सङ्क्रमण देखिएको मन्त्रालयले जानकारी गराएको हो । एक जनाको भने परिक्षणको नतिजा आउन बाँकी रहेको प्रवक्ता देवकोटाले जानकारी दिनुभयो । हालसम्म देशभरका क्वारेन्टाइनमा ५ हजार ७ सय ७१ रहेका छन् ।

यसैबीच, काभ्रेमा वैदेशिक रोजगारीबाट फर्केका दुई युवामा द्रुत विधिबाट गरिएको परीक्षणका क्रममा कोभिड–१९ भएको पाइएको छ । सङ्क्रमण देखिएपछि बेथानचोक गाउँपालिका र मण्डनदेउपुर नगरपालिकाका ती युवालाई धुलिखेल अस्पतालमा आइसोलेसनमा राखिएको छ ।

धादिङको ज्वालामुखी गाउँपालिकास्थित स्वास्थ्य केन्द्रमा एक २७ वर्षका युवकको पनि दु्रत परीक्षणका क्रममा कोरोना भएको पाइएको हो । उनी फागुन २० गते दक्षिण कोरियाबाट नेपाल फर्किएका थिए । सप्तरीमा दिल्लीको निजामुद्धिनस्थित तबलिकी जमातमा सहभागी भई घर आएर बसेका ८ मध्ये दुईजनाको द्रुत परीक्षण नतिजामा पनि कोरोना भएको पाइएको छ ।

गजेन्द्रनारायण सिंह अस्पताल राजविराजका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासका अनुसार ७ जनाको परिक्षणमा २ जनामा कोरोना पाइएको हो । कोरोना देखिएका मध्ये एकजना तिलाठी कोईलाडी गाउँपालिकाका र अर्का खडग नगरपालिकाका भएको उहाँले जानकारी दिनुभयो ।

गोरखाको आरुघाटमा पनि परीक्षणको क्रममा एकजनामा कोरोना सङ्क्रमण भएको पाईएको छ । हिजो स्वास्थ्य कार्यालय गोरखा र आरुघाट गाउँपालिकाको स्वास्थ्य इकाइले द्रुत विधिमार्फत जाँच गर्दा आरुघाट गाउँपालिका ५ का १ जनामा कोरोना देखिएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू