अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:२९ | Colorodo: 03:44

कोरोना सतर्कता – जनस्वास्थ्य प्रयोगशालामा दैनिक ५० को हाराहारीमा नमूना परीक्षण, हालसम्म सवैको रिपोर्ट नेगेटिभ

बिआरटीनेपाल २०७६ चैत ८ गते ८:१५ मा प्रकाशित

सरकारले कोरोना भाइरसको सम्भावित जोखिम रोकथामका लागि परीक्षण कार्यलाई तीब्रता दिएको छ । यस क्रममा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा दैनिक ५० को हाराहारीमा नमूना परीक्षण हुन थालेको छ । शनिबार मात्र देशभरबाट कोरोना भाइरसको परीक्षणका लागि ५० भन्दा बढी नमूना परीक्षण भएको छ ।

काठमाडौंका निजी तथा सरकारी अस्पतालहरुका साथै कास्की, सुर्खेत, दैलेख, रसुवा, कैलाली, कञ्चनपुर लगायतका जिल्ला अस्पतालहरुबाट नमूना संकलन गरिएको छ । हरेक अस्पतालमा आइसोलेसनमा राखिएका कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका बिरामीको थ्रोट स्वायाबको नमूनाको परीक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाम भइरहेको छ ।

शुक्रबार ३३ जनाको परीक्षण भएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको थियो । हालसम्म ५ सय ८० जनाको रिपोर्ट सार्वजनिक भएको छ । कसैलाई पनि कोरोना पोजेटिभ देखिएको छैन । हाल कोरोना परीक्षण गर्ने मेसिनमा एउटा पीसीआरमा एकपटकमा ९६ जनाको परीक्षण गर्न मिल्छ । टेकु प्रयोगशालामा ३ वटा पीसीआर मेसिन छ ।

१२ घण्टामा २ सय ८८ वटा परीक्षण गर्न सकिन्छ । बिरामीको थ्रोट स्वायब अर्थात घाँटीको ¥याल पीसीआर मेसिनमा १२ घण्टा राखेपछि रिपोर्ट निस्किन्छ । अन्य भेरिफिकेसन लगायत कामले अहिले २४ घण्टामा रिपोर्ट दिने गरिएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका प्रवक्ता राजेशकुमार गुप्ताले जानकारी दिनुभयो ।

देशभरका अस्पतालले कोरोना भाइरसको शंका लागेका व्यक्तिको भाइरल ट्रान्सपोर्ट मिडिया मार्फत नमुना प्रयोगशाला पठाउँछ । भाइरल ट्रान्सपोर्ट मिडिया भनेको भाइरस मर्न नदिने एक प्रकारको भाँडो हो ।त्यसलाई ‘त्रिपल प्याक’ गरेर आइस प्याक पनि गरिन्छ । त्यो भ्याक्सिन ब्याग अर्थात रगत राखिने व्याग जस्तै हुन्छ । यसरी त्यो व्याग तयार भएपछि प्रयोगशालामा कुरियर गरिन्छ ।

कुरियर गर्दाको खर्च भने विश्व स्वास्थ्य संगठनले सहयोग गर्दै आएको छ । त्यसरी प्रयोगशाला आइपुगेको नमुनालाई पीसीआरमा राखेर परीक्षण गरिन्छ ।प्रयोगशालामा विश्व स्वास्थ्य संगठनको निगरानी मै परीक्षण गरिंदै आएको छ । आइतबारदेखि प्रयोगशालाले सबै रुटिङ परीक्षण बन्द गरेर ७० जना जनशक्तिलाई नै कोरोना परीक्षणमा केन्द्रित गर्ने भएको छ । प्रयोगशालाले परीक्षणको क्षमता बिस्तार गर्ने समेत तयारी अगाडि बढाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू