अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:२४ | Colorodo: 21:39

कोरियाबाट नेपाल आउने सवै यात्रुको स्वास्थ्य परीक्षण अनिवार्य, कोरिया जाने कामदारको उडान रोकियो

बिआरटीनेपाल २०७६ फागुन १२ गते ६:३९ मा प्रकाशित

सरकारले दक्षिण कोरियाबाट नेपाल आउने सबै यात्रुको स्वास्थ्य परीक्षण (ज्वरो) सहित सबै विवरण लिन त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलस्थित आपत्कालीन हेल्थ डेस्कलाई निर्देशन दिएको छ । करिब ४० हजार नेपाली कामदार रहेको कोरियामा कोरोनाको प्रकोप बढेपछि नेपालमा उच्च सतर्कता अपनाइएको हो ।

कोरोनाको प्रारम्भिक परीक्षण गरी शंका लागे आइसोलेसनका लागि अस्पतालमा रिफर गर्न स्वास्थ्य मन्त्रालयले स्वास्थ्यकर्मीलाई निर्देशन दिएको छ । स्वास्थ्य मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा आइतबार बसेको आकस्मिक बैठकले कोरियाबाट आउने सबैको स्वास्थ्य परीक्षण अनिवार्य गर्ने निर्णय गरेको हो । यसअघि चीनको वुहानबाट आएका यात्रुको मात्रै स्वास्थ्य परीक्षण हुँदै आएको थियो ।

महाशाखाका वरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट डाक्टर हेमन्त ओझाले जोेखिमलाई मध्यनजर गर्दै कोरियाबाट आउने सबैको स्वास्थ्य परीक्षण अनिवार्य गर्ने निर्णय भएको बताउनु भयो । अध्यागमनको तथ्यांकअनुसार कोरियाबाट दैनिक करिब दुई सय नेपाली आउने गरेका छन् । चीनमा भन्दा कोरियामा कोरोना देखिँदा नेपालमा बढी जोखिम हुने स्वास्थ्यका अधिकारीहरुले बताएका छन् ।

चिकित्सकहरूले कोरियाबाट नेपालीलाई उद्धार गर्नुपर्ने अवस्था आउनेतर्फ पनि सचेत रहनुपर्ने सुझाव दिएका छन । यसअघि चीनबाट एक सय ७५ नेपालीको ४ फागुनमा उद्धार गरी भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको कर्मचारी तालिम केन्द्रमा क्वारेन्टाइन गरी राखिएको छ । कोरोना प्रभावितको उपचार गर्दै आएका सहिद शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुका डा. अनुप बाँस्तोलाका अनुसार नेपाल कोरोना भाइरसको जोखिमबाट बाहिर निस्कन सक्ने अवस्थामा छैन ।

यसैबीच, श्रम तथा रोजगार मन्त्रालयअन्तर्गतको इपिएस कोरिया शाखाका निर्देशक कृष्ण खनालका अनुसार तत्काल नेपालबाट कोरिया पठाउन रोकिएको छ । ‘कोरोनाको संक्रमण बढ्दै गएपछि कोरियाली अधिकारीसँग छलफल गरेर गत हप्तादेखि कोरिया जाने कामदारको उडान रोकिएको छ । गत हप्ता करिब दुई दर्जन कामदार तालिकाअनुसार उड्न पाएनन,’ खनालले भन्नुभयो ।

आगामी १८ फागुनमा ४० कामदार कोरिया पठाउने कार्यसूची पनि प्रभावित भएको छ । कोरियामा कोरोना भाइरसबाट संक्रमितको संख्या ६ सय दुई पुगेको छ भने ६ जनाको मृत्यु भएको छ । चीनमा हालसम्म ७८ हजार आठ सय ८८ मा संक्रमण भएको र दुई हजार चार सय ६७ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ । कोरोना भाइरसको संक्रमण बढेसँगै कोरियास्थित नेपाली दूतावासले नेपालीलाई सतर्क रहन अनुरोध गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू