अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:१९ | Colorodo: 15:34

एमसीसी सम्झौता भए लगत्तै अमेरिका नेपाल भित्रने सीपी गजुरेलको चेतावनी

बिआरटीनेपाल २०७६ फागुन ११ गते ५:५२ मा प्रकाशित

नेकपा (क्रान्तिकारी माओवादी)का उपाध्यक्ष सीपी गजुरेलले नेपालले अमेरिकी सहयोग अर्थात् मिलेनियम च्यालेञ्ज कर्पोरेशन एमसीसीमा हस्ताक्षर गर्ने वित्तिकै असंलग्न आन्दोलनबाट बाहिरिने खतरा औंल्याउनु भएको छ । आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा उपाध्यक्ष गजुरेलले नेपालले अमेरिकी सहयोग लिनेबित्तिकै अमेरिका नेपाल भित्रिने चेतावनी पनि दिनुभयो ।

उहाँले एमसीसीमा आबद्ध हुने वित्तिकै नेपाल चीन र अमेरिकाको रणनीतिको शिकार बन्ने खतरा औल्याउँदै त्यसपछि नेपाल अमेरिका र चीनको क्रिडास्थल बन्ने चेतावनी पनि दिनुभयो । एमसीसी खारेज नभएसम्म आफूहरुको संघर्ष र आन्दोलन जारी रहनेपनि उहाँको भनाइ थियो । कार्यक्रममा नेता गजुरेलले गोकुलप्रसाद बाँस्कोटाको अडियो टेप प्रकरण सुनेर पनि यत्रो दिन गुपचुप राख्नुको रहस्यको जवाफ प्रधानमन्त्री केपी शर्मा ओलीले दिनै पर्ने माग पनि अघि सार्नुभयो ।

उहाँले वर्तमान सरकारका महत्वपूर्ण व्यक्ति नै भ्रष्टाचार काण्डमा मुछिएको र उनलाई राजीनामा मात्रै गराउन लगाउनु पर्याप्त नभएको जिकिर पनि गर्नु भयो । नेता गजुरेलले वर्तमान सरकार नै भ्रष्टाचारमा लिप्त रहेको आरोप पनि लगाउनुभयो । ‘सरकारले समृद्ध नेपाल, सुखी नेपाली’ को नारा दिएर बकवास गरिरहेको पनि उहाँको टिप्पणी छ ।

उहाँले गोकुलप्रसाद बाँस्कोटाको कमिशनको अडियो प्रकरणबारे गम्भीर छानबिन हुनुपर्ने बताउँदै यसको जिम्मा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि लिनुपर्ने माग गर्नुभयो । उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीको जानकारी बिना यो सम्भव छैन् ।’ गजुरेलले उक्त अडियो दुई महिना पहिले नै प्रधानमन्त्रीकहाँ पुगेको विषय सार्वजनिक भएको सुनाउँदै किन त्यो प्रकरण बाहिर ल्याउनुभएन ? भन्दै प्रश्न समेत गर्नुभयो ।

उहाँले अगाडि भन्नुभयो, ‘प्रधानमन्त्री ओलीले यत्रो दिन किन गुपचुप राख्नुभयो ? यसले पनि के देखाउँछ भने यो प्रकरणमा प्रधानमन्त्रीको पनि कुनै न कुनै हात छ, अहिले उहाँले गोकुल बाँस्कोटा प्रकरणमा छानबिनको सवालमा अर्कै टिप्पणी गर्नुभएको छ । अख्तियारले सत्यतथ्य छानबिन गर्ने कुरामा विश्वास छैन्, अख्तियार त सरकारले जे भन्यो त्यही गर्छ, यो प्रकरणमा अख्तियारलाई छानबिन गर्न दिएर कतै बाँस्कोटालाई जोगाउन खोजिएको त होइन, अडियो आएपछि उहाँले किन केही गर्नुभएन ? २ महिनासम्म के हेरेर बस्नुभयो ? उल्टै उहाँले यो अडियो लुकाउने चेष्टा गर्नुभयो, अब स्थिति धेरै नै गम्भीर छ ।’

अर्को एक फरक प्रसंगमा नेता गजुरेलले नेपालले लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटेर नयाँ नक्शा जारी गर्नुपर्ने बताउनुभयो । उहाँले ५८ वर्षदेखि कालापानी क्षेत्रमा बसेको भारतीय सेनालाई तत्काल हटाउनुपर्ने पनि बताउनुभयो । नेता गजुरेलले वर्तमान सरकार अब दुई तिहाईको बलमा टिक्ने अवस्था नभएको चित्रण गर्दै भन्नुभयो,‘हामी त सरकारको तमाशा हेरिरहेका छौं । यो व्यवस्था र संविधानमा नै खोट छ, पछिल्ला विभिन्न काण्डले त झनै व्यवस्था र संविधानमाथि प्रश्न खडा भएको छ । यो व्यवस्था र संविधान नै नेपाली जनताको हितमा छैन् । यो परिवर्तन हुनुपर्छ ।’

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू