अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:४० | Colorodo: 21:55

स्वबियू निर्वाचन अनिश्चितकालसम्मका लागि स्थगित

बिआरटीनेपाल २०७६ फागुन ६ गते ७:३२ मा प्रकाशित

त्रिभुवन विश्वविद्यालयले फागुन १४ गते तोकेको क्याम्पसहरुको स्वतन्त्र विद्यार्थी युनियन (स्वबियू) को निर्वाचन अनिश्चितकालका लागि स्थगित गरेको छ । त्रिवि कार्यकारी परिषदको आज बसेको बैठकले अर्को सूचना नहुँदासम्मका लागि स्ववियू निर्वाचन स्थगित गर्ने निर्णय गरेको हो ।

त्रिविको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका कार्यकारी निर्देशक गंगाबहादुर थापाले स्ववियू चुनाव स्थगित भएको सूचना आएको जानकारी दिनुभयो । ‘सबै विद्यार्थी संगठन एकमत हुन नसकेकाले स्ववियू चुनाव स्थगित भएको छ,’ थापाले भन्नुभयो । त्रिविले यसअघि क्याम्पसहरुमा हाल रहेको स्वतन्त्र विद्यार्थी युनियनको कार्यकाल पूरा भएकाले नयाँ स्ववियू चुनाव फागुन १४ गते गर्ने निर्णय गरेको थियो ।

तर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले आफूहरुसँग छलफल नगरी मिति तोकेको भन्दै असहमति जनाएको थियो । उसले स्ववियू निर्वाचन गराउन त्रिविको निर्वाचन समिति प्रमुख रहने रेक्टर पदमा पदपूर्ति गर्न माग गरेको थियो । रेक्टरको माग गर्दै नेबिसंघ चुनावमा जानै नचाहेकोले त्रिबिले स्थगित गरेको हो ।

सत्तारुढ नेकपाको बिद्यार्थी संगठन अनेरास्वबियूले भने फागुन १४ मै स्वबियू निर्वाचन हुनुपर्ने अडान राख्दै आएको थियो । तर त्रिबिले अखिलको मागलाई बेवास्ता गर्दै चुनाव नै नगर्ने निर्णयमा पुगेको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू