अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:२९ | Colorodo: 09:44

सरकारको दुई वर्ष : संघीयता कार्यान्वयनमा उदासिनता

बिआरटीनेपाल २०७६ फागुन ४ गते ८:१४ मा प्रकाशित

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता शेखर कोइरालाले प्रमुख राजनीतिक दलहरुको अपरिपक्व सोचका कारण संघीयता कार्यान्वयनमा समस्या आएको बताउनुभएको छ । वर्तमान सरकारको दुई वर्ष संघीयता कार्यान्वयनमा उदासिनता विषयक अन्तरक्रिया कार्यक्रममा डा. कोइरालाले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपा र प्रमुख प्रतिपक्षी दलको अपरिपक्व सोचका कारण संघीयता कार्यान्वयनमा समस्या देखिएको बताउनुभएको हो ।

नेपाली कांग्रेस, तत्कालीन नेकपा एमाले र तत्कालिन नेकपा माओवादी संघीयताको पक्षमा नभएपनि मधेश आन्दोलन र संविधान बनाउँदा राज्य पुनसंरचना गर्ने भन्ने विषय उल्लेख भएका कारण संघीयलता लागू भएको उहाँले उल्लेख गर्नुभयो । संघीयतालाई राजनीतिक दल र सरकारमा रहेको दलले सफल पार्ने उल्लेख गर्दै कोइरालाले संसदीय व्यवस्थामा प्रमुख प्रतिपक्षमा रहनेको पनि उत्तिकै भूमिका हुने बताउनुभयो ।

सत्तारुढ दल नेकपाका नेता देव गुरुङले संविधान संशोधन नहुँदासम्म संघीयता कार्यान्वयन हुन नसक्ने बताउनुभएको छ । संविधान नै त्रृटीपूर्ण रहेको उल्लेख गर्दै गुरुङले संविधानलाई ‘सम्झौताको डकुमेन्ट हो’ भन्नुभयो । वित्तीय व्यवस्थापन र कर्मचारी समायोजनलगायतका केही विषयहरु संघीयताअनुसार भएपनि उपयुक्त समयमा सबै दलको सहमतिमा संविधान संशोधन भएन भने संघीयता कार्यान्वयनमा समस्या हुने उहाँको भनाइ छ ।

सरकारले दुई वर्षे कार्यकाल समाप्त गरेसँगै सरकारका काम कारबाहीलाई लिएर चौतर्फी आलोचना बढिरहको छ । नेकपाभित्रकै नेताहरुका असन्तुष्टिहरु सार्वजनिक कार्यक्रममा आउन थालेका छन् । यद्यपी सरकारको ध्यान विकास निर्माणमा केन्द्रीत भएका कारण संघीयता कार्यान्वयनमा केही समस्या देखिएको नेताहरुले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू