अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:१७ | Colorodo: 01:32

कांग्रेसको १४ औं महाधिवेशन ०७७ फागुन ७ देखि १० सम्म हुने

बिआरटीनेपाल २०७६ माघ १३ गते ८:१८ मा प्रकाशित

नेपाली कांग्रेसले पार्टीको १४ औं महाधिवेशन २०७७ फागुन ७ देखि १० गतेसम्म गर्ने निर्णय गरेको छ । सोमबार बसेको केन्द्रीय कार्यसमिति बैठकले पार्टीको आगामी महाधिवेशन काठमाडौंमा गर्ने सर्वसम्मत निर्णय गरेको हो । बैठकमा यसअघि बहिष्कारमा उत्रिएका वरिष्ठ नेता रामचन्द्र पौडेल र तेस्रो धारको नेतृत्व गर्दै आएका नेता कृष्णप्रसाद सिटौला पनि सहभागी हुनुहुन्थ्यो । गत पुस ११ गते बहुमतका आधारमा सभापति शेरबहादुर देउवाले महाधिवेशनको मिति तय गरेपछि पौडेल र सिटौला पक्षले केन्द्रीय कार्यसमिति बैठक बहिष्कार गर्दै आएका थिए ।

गत शुक्रबार बूढानीलकण्ठमा बसेको बैठकमा सभापति देउवाले महाधिवेशनको मिति यथावत राखेर अन्य विषय सच्याउन आफू तयार रहेको बताएपछि असन्तुष्ट समूह सोमबार बैठकमा उपस्थित भएको हो । बैठकले पुर्वनिर्धारित मितिमै १४ औं महाधिवेशन गर्ने सर्वम्मत निर्णय गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार बैठकले क्रियाशील सदस्यता छानविनका लागि सात सदस्यीय समिति पनि गठन गर्ने निर्णय गरेको छ ।

बैठकले महाधिवेशनलाई सफलतापूर्वक सम्पन्न गर्नका लागि विधान र नियमावलीमाथि थप छलफल गर्न माघ २३ गते केन्द्रीय कार्यसमिति बैठक बोलाउने पनि निर्णय गरेको छ । उक्त बैठकमा महाधिवेशन प्रयोजनार्थ निलम्बन गरेका विधानका धाराका बारेमा छलफल गरिने शर्माको भनाई छ ।

गत शुक्रबार बूढानीलकण्ठमा बसेको बैठकले केन्द्रीय कार्यसमितिले बहुमतले गरेका निर्णय सच्याएर सर्वसम्मतिमा पारित गर्न महामन्त्रीद्वय डा. शशांक कोइराला, पूर्णबहादुर खड्का र केन्द्रीय सदस्यद्वय रमेश लेखक तथा मिनेन्द्र रिजाल सम्मिलित कार्यदल गठन गरेको थियो । सोही कार्यदलले सहमतिको खाका निर्माण गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू