अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:१६ | Colorodo: 12:31

महिला आयोगमा पदाधिकारी नियुक्त नभएको प्रति अन्तरपार्टी महिला सञ्जालको ध्यानाकर्षण

बिआरटीनेपाल २०७६ माघ ८ गते ८:१८ मा प्रकाशित

लामो समय देखी राष्ट्रिय महिला आयोगमा पदाधिकारी नियुक्त नभएको भन्दै अन्तरपार्टी महिला सञ्जालले सरकारको ध्यानाकर्षण गराएको छ । सञ्जालले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड, उपप्रधान एवं रक्षा मन्त्री इश्वर पोखरेल र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठीलाई छुट्टा छुट्टै ध्यानाकर्षण पत्र बुझाउदै आयोगमा तत्काल सम्पूर्ण पदाधिकारी नियुक्त गर्न पनि आग्रह गरेको हो ।

सञ्चालले तीनै जनालाई बुझाएको ध्यानाकर्षण पत्रमा राष्ट्रिय योजना आयोगले प्रकाशित गरेको दिगो विकास लक्ष्यहरु, वर्तमान अवस्था र भावी मार्गचित्र २०१६–२०३० मा सङ्घीय संसद्मा महिलाको प्रतिनिधित्व बढाएर ४० प्रतिशत पु¥याउने, सार्वजनिक सेवाका नीति निर्माणका पदमा महिला कर्मचारीको हिस्सा तीन गुणाले बढाउने प्रतिबद्धताका साथै राजनीतिक दलले आफ्नो विधान, नियमावली र घोषणा पत्रमा व्यक्त गरेका प्रतिवद्धता अनुरुप मन्त्रीपरिषद, संवैधानिक आयोग, कुटनितिक नियोग एवं राज्यका अन्य निकायमा हुने राजनीतिक नियुक्तिमा पनि महिलाको न्यूनतम ३३ प्रतिशत प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने माग गरेका छन् ।

सञ्जालले सबै आयोगमा पनि यथाशिघ्र पदाधिकारी नियुक्त गरी आयोगलाई पुर्णता दिनका साथै राज्यका हरेक निकायमा महिलालाई समानुपातिक समावेशी सहभागिता हुने हक हुनेछ भन्ने संवैधानिक व्यवस्था कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको छ । अन्तर पार्टी महिला सञ्जालले आफ्नो स्थापनाकाल देखि नै राज्यका सम्पूर्ण निकायको नीति निर्माण र निर्णय गर्ने तहमा जनसंख्याको आधारमा महिलाको समानुपातिक, समावेशी प्रतिनिधित्व सुनिश्चित गर्न तथा लोकतन्त्रको पुर्नबहाली, संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना, दिगो शान्ति र संविधान निर्माणका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू