अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:५९ | Colorodo: 07:14

श्रममन्त्री यादवद्धारा तीन महिने कार्ययोजना सार्वजनिक

बिआरटीनेपाल २०७६ पुष २२ गते ८:२३ मा प्रकाशित

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले तीन महिनामा आफूले गर्ने कामको विवरण सार्वजनिक गर्नुभएको छ । आज मन्त्रालयमा पत्रकार सम्मेलन गरी मन्त्री यादवले चालु आर्थिक वर्षमा ६० हजार बेरोजगारलाई न्युनतम एक सय दिनको रोजगारी प्रदान गर्ने गरी स्थानीय तहबाट रोजगार आयोजना सञ्चालन गर्ने बताउनुभएको हो ।

वैदेशिक रोजगार विभागका सबै अभिलेख विद्युतीय अभिलेखांकन गर्ने, विदेशस्थित कुटनीतिक नियोगबाट पुनः श्रम स्वीकृति दिने व्यवस्था कार्यान्वयनमा ल्याउन मन्त्रालयको कार्ययोजना छ । त्यस्तै बिमा र कल्याणकारी कोषवापतको रकम अनलाइन प्रणालीमार्फत बुझाउने व्यवस्था गर्ने, दुई वर्ष पुराना सबै संस्थागत उजुरीहरुको छानबिन प्रक्रिया सम्पन्न गर्ने पनि कार्ययोजनामा उल्लेख छ ।

मन्त्रालयले थप १० हजार जनालाई लक्षित गरी वैदेशिक रोजगार बोर्डबाट निशुल्क तालिम प्रदान गर्ने, वैदेशिक रोजगारबाट फर्केका कामदारका लागि आर्थिक तथा सामाजिक पुनः एकीकरण कार्यक्रम कार्यान्वयनमा ल्याउने योजना बनाएको छ । त्यस्तै ओमनसँग द्विपक्षीय श्रम समझदारी गर्ने पनि कार्ययोजनामा उल्लेख छ ।

यसैविच केही सातायता इरान र अमेरिकाबीच तनाव चुलिँदै गएपछि मध्यपूर्वमा रहेका नेपालीको अवस्थबारे सरकारले चासो दिएको छ । पत्रकार सम्मेलनमा इराकमा रहेका नेपालीलाई उद्धार गर्ने योजना बनाइरहेको मन्त्री यादवले जानकारी गराउनुभएको हो ।

उहाँका अनुसार परराष्ट्र मन्त्रालयको अगुवाइमा ’एक्टिभ’ टोली बनाउने र पलपलको खबर राख्ने योजना सरकारले बनाएको छ । पत्रकार सम्मेलना श्रम तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव विनोद केसीले इराकमा रहेका नेपालीको तथ्यांक संकलन कार्य भइरहेको बताउनुभयो । सरकारले नेपाली नागरिकलाई इराक जान प्रतिबन्ध लगाएको छ । इराकामा अवैध तरिकाले नेपाली पुग्ने गरेका छन् ।

अवैध तरिकाले नेपाली इराक जाने गरेकाले यसबारेमा सरकारसँग एकिन तथ्यांक नभएकाले परराष्ट्र मन्त्रालयमार्फत तथ्यांक संकलनको काम अघि बढेको सचिव केसीले बताउनुभयो । दुई मन्त्रालयबीच अस्तिमात्रै छलफल भएको छ । परराष्ट्रसँग सहकार्य गरेर इराकमा रहेका नेपाली नागरिकलाई सुरक्षित राख्न केन्द्रित भएको उहाँले बताउनुभयो ।

यसअघि दुई शक्ति राष्ट्रबीचको तनाव युद्धको अवस्थामा पुगेपछि परराष्ट्र मन्त्रालयले खाडी तथा मध्यपूर्वी क्षेत्रमा रहेका नेपालीको अवस्थाबारे सम्पूर्ण जानकारी लिन त्यहाँस्थित राजदूतावासलाई निर्देशन दिएको थियो । आइतबार परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र श्रम तथा रोजगारमन्त्री रामेश्वर राय यादवसहितको बैठक पनि बसेको मन्त्रालयले जनाएको छ । उक्त बैठकले खाडीका सबै राजदूतावासलाई त्यहाँस्थित सबै नेपालीसँग नजिकबाट सम्पर्कमा रहन भनेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू