अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:२३ | Colorodo: 16:38

शुभ मुकारुङ प्रतिभा पुरस्कारद्वारा पुरस्कृत

बिआरटीनेपाल २०७६ पुष २० गते ९:४६ मा प्रकाशित

काठमाडौँ, ‘मैले किन तिमीजस्तो पत्थर हुन नसकेको, सधैँ तिम्रो सम्झनामा पग्लिरहेँ हिउँजस्तो’ बोलको चर्चित गीतका रचनाकार एवम् संस्कृतिकर्मी शुभ मुकारुङ नगद एक लाख राशिको ‘प्रतिभा पुरस्कार’द्वारा पुरस्कृत भएका छन् । नेपाली गीतिकाव्य तथा संस्कृतिका क्षेत्रमा खोज अन्वेषण गरी उल्लेखनीय योगदान दिएबापत उनलाई नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले उक्त पुरस्कार प्रदान गरेको हो ।

यसै गरी समारोहमा नगद पच्चिस हजार राशिको ‘प्रतिभा सम्मान’द्वारा प्रयोगवादी धाराका वरिष्ठ स्रष्टा कवि गोपाल पराजुलीलाई सम्मानित गरियो । नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपति एवम् वरिष्ठ वैरागी काइँलाले मुकारुङ र पराजुलीलाई टोपी, माला, नगद, दोसल्ला र सम्मान पत्र अर्पण गरी पुरस्कृत तथा सम्मानित गरेका थिए ।

समारोहमा प्रमुख अतिथि काइँलाले विदेशमा क्रियाशील सङ्घसंस्थाले नेपालका रहेका स्रष्टा र नेपालमा क्रियाशील सङ्घसंस्थाले विदेशमा रहेका स्रष्टालाई सम्मान गर्ने परिपाटीले अन्तर्देशीय सम्बन्ध वृद्धि हुने बताए । उनले भने– “पुरस्कार तथा सम्मानले स्रष्टामा हौसला थप्ने काम गर्छ । कला, साहित्य तथा संस्कृतिको क्षेत्रबाट पनि राष्ट्र निर्माणमा विशिष्ट योगदान पुग्ने भएकाले यो क्षेत्रको महत्त्वलाई सबैले बुझ्नु जरुरी छ ।”

प्रा.डा. गोविन्दराज भट्टराईले नेपाली साहित्यको श्रीवृद्धिमा डायस्पोरामा रहेका सङ्घसंस्था र स्रष्टाहरूको उल्लेखनीय योगदान रहेको बताए । उनले भने– “नेपाली प्रतिभा प्रतिष्ठान बेलायत यस्तै एउटा अग्रणी वाङ्मयिक संस्था हो जसले नेपाली भाषा, साहित्यको उन्नयनमा प्रशंसनीय कार्य गरिरहेको छ ।”

नेपाल प्रज्ञा–प्रतिष्ठानका काव्य विभाग प्रमुख प्रा.डा. हेमनाथ पौडेलले डायास्पोरिक साहित्यको प्रवर्द्धनका लागि प्रज्ञा–प्रतिष्ठानले योजना बनाएरै काम गरिरहेको सुनाए । उनले भने– “डायास्पारोका स्रष्टाहरूको सम्मानका लागि प्रज्ञा–प्रतिष्ठानले प्रज्ञा अन्तर्देशीय नेपाली साहित्य पुरस्कार स्थापना गरेको छ ।”

प्रतिभा प्रतिष्ठानका नेपाल संयोजक तथा मानार्थ सदस्य प्राज्ञ शशी लुमुम्बूले संस्थाको गतिविधिमा प्रकाश पार्दै सन् २००८ मा बेलायतमा स्थापना भएको प्रतिभा प्रतिष्ठानले अहिलेसम्म २४ जना स्रष्टालाई सम्मानित तथा पुरस्कृत गरिएको जानकारी बताए । पौवादुङमा गाउँपालिका, भोजपुरका अध्यक्ष किरण राईले नेपालको मौलिक कला–संस्कृति तथा अनुपम संस्कृतिको प्रवर्द्धनका लागि स्रष्टाले साहित्य सिर्जना गरेमा मुलुकको समृद्धिमा टेवा पुग्ने बताए ।

प्रतिभा प्रतिष्ठानका महासचिव एवम् समारोहका सभापति मिजास तेम्बेले नेपाली भाषा, साहित्य, कला तथा संस्कृतिको विकासका लागि बेलायतमा स्थापित प्रतिभा प्रतिष्ठानले निरन्तर काम गरिरहेको बताए । उनले भने– “स्रष्टाहरूलाई सम्मानित र पुरस्कृत गर्दै उनीहरूको योगदानको कदर गर्नु पनि यस संस्थाको अर्को उद्देश्य हो र आज सोहीअनुसार यो समारोह आयोजना गरिएको हो ।”

कार्यक्रममा गीतकार सङ्घ, नेपालका अध्यक्ष समेत रहेका गीतकार चूडामणि देवकोटाले पुरस्कृत स्रष्टा गीतकार मुकारुङका बारेमा र कवि तथा समालोचक सुरेश हाचेकालीले सम्मानित कवि पराजुलीका बारेमा सपरिचय व्यक्तित्व प्रकाश पारेका थिए । कार्यक्रमको सञ्चालन गीतकार टीका चाम्लिङले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू