अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:३४ | Colorodo: 10:49

स्वदेशी तथा विदेशी लगानीबिच कुनै विभेद नगरिने व्यवस्था

बिआरटीनेपाल २०७६ मंसिर ४ गते १०:३० मा प्रकाशित

काठमाडौँ, उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले कानुनी रूपमै लगानी सुरक्षाको प्रत्याभूति गरिएको भन्दै नेपालमा लगानी गर्न संयुक्त अरब इमिरेट् (युएई) का लगानीकर्तालाई आग्रह गर्नुभएको छ । युएईको औपचारिक भ्रमणमा रहनुभएका उप प्रधानमन्त्री पोखरेलसँग दुबई उद्योग वाणिज्य सङ्घका अध्यक्षले आज गर्नुभएको भेटमा उहाँले नेपाल सरकारले निजी सम्पत्तिको राष्ट्रियकरण नगरिने, स्वदेशी तथा विदेशी लगानीबिच कुनै विभेद नगरिने व्यवस्था गरेको बताउनुभयो ।

ठुला परियोजनामा लगानीसम्बन्धी सहजीकरण गर्न सरकारी स्तरमा प्रधानमन्त्रीको नेतृत्वमा लगानी बोर्डको व्यवस्था, करका दरमा सुधार, विशेष आर्थिक क्षेत्र र वस्तु तथा सेवा निर्यातमा कर छुटको व्यवस्था र विदेशी लगानीबाट प्राप्त नाफा र बिक्रीबाट प्राप्त रकम विदेशी मुद्रामा फिर्ता लैजाने सुविधा मिलाइएको भन्दै उहाँले ढुक्क भएर लगानी गर्न आग्रह गर्नुभयो । उहाँले कृषि, पर्यटन, जलस्रोत, भौतिक पूर्वाधारलगायत क्षेत्रमा लगानी गरेर उच्च प्रतिफल लिन सकिने बताउनुभयो ।

दुई ठुला मुलुकको बिचमा रहेकाले बजारको कुनै पनि समस्या नरहेको र मध्यपूर्वका मुलुकमासमेत नेपाली उत्पादन भएका सामग्रीको बजार राम्रो रहेको उहाँको भनाइ थियो । युएई नेपालको तेस्रो ठुलो व्यापारिक साझेदार मुलुक भएको अवगत गराउँदै उप प्रधानमन्त्री पोखरेलले कृषि जन्य उत्पादन, पस्मिना, गहनालगायत सामानको निर्यात वृद्धि गरी नेपालको व्यापार घाटा न्यूनीकरणका लागि पहल गर्न आग्रह गर्नुभएको उहाँका प्रेस संयोजक लोकेन्द्र केसीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू