अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:५४ | Colorodo: 09:09

नेपाल–भारत सचिव स्तरीय बैठकको पहल सुरु

बिआरटीनेपाल २०७६ कार्तिक २४ गते १३:१३ मा प्रकाशित

भारतले अघिल्लो साता सार्वजनिक गरेको नयाँ राजनीतिक नक्साका कारण उत्पन्न विवाद समाधान गर्न नेपाल र भारत दुवै पक्षले सचिव स्तरीय बैठक बस्ने तयारी सुरु भएको छ।

परराष्ट्र सचिव शङ्कर वैरागीका अनुसार केही साताभित्रै बैठक गर्न पहल सुरु भएको छ ।

बङ्गलादेशका राष्ट्रपतिको भ्रमणपछि भारतीय पक्षसँगको छलफलले गति लिने र मिति पनि तय हुने परराष्ट्र स्रोतको भनाई छ । बङ्गलादेशका राष्ट्रपति अब्दुल हमिद तीन दिने नेपाल भ्रमणका लागि मङ्गलवार काठमाडौँ आउदैछन् ।

बैठकका लागि भारतीय पक्ष पनि सकारात्मक रहेको मन्त्रालयले जनाएको छ ।

गत शुक्रवार नेपाली राजदूत नीलाम्बर आचार्य र भारतीय विदेश सचिव विजय शेखर गोखलेबीच भएको भेटमा पनि कालापानीमा सीमा विवादका बारे छलफल भएको बुझिएको छ।

भारतको विदेश मन्त्रालयमा भएको उक्त नियमित भेटमा सचिव गोखलेले पनि विवाद समाधानका लागि छिट्टै सचिव स्तरीय बैठक गर्नुपर्ने आवश्यकता औँल्याएको स्रोतले जनायो ।

त्यसअघि बिहीबारको पत्रकार सम्मेलनमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता रविशकुमारले सीमा निर्धारणको काम विद्यमान दुई पक्षीय संयन्त्रबाट भइरहेको र त्यससम्बन्धी समस्याको समाधान दुई देशबिचको घनिष्ठ र मैत्रीपूर्ण सम्बन्धको भावनाअनुसार आपसी संवादबाट खोज्न भारत प्रतिबद्ध रहेको जनाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू