काठमाडौँ । पछिल्लो समय नेपाली दर्शकको रुचि कस्तो सिनेमामा छ भनेर कसैले सोध्यो भने सायद अधिकांशले भन्छन् होला, इमोस्नल सिनेमामा । किन भन्ने प्रश्न आयो भने जवाफमा उदाहरण प्रशस्तै छन् । जस्तै : ‘पूर्ण बहादुरको सारङ्गी’, ‘बोक्सीको घर’, ‘एन्जिला’, ‘ऊनको स्विटर’ आदि ।
कमेडीबाट दर्शक आफ्नै जिन्दगी र अनुभवमा घोलिएका कथाहरू बोकेका इमोस्नल सिनेमातिर लहसिए । त्यसैले दर्शकको रुचि र चाहनालाई सम्बोधन गर्दै आफूहरू आउन लागेको बताउँछन्, हिमाल न्यौपाने । अर्थात्, चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’का निर्देशक ।
“हाम्रो सिनेमाको अनाउन्समेन्ट भिडियोदेखि अहिलेसम्म आइपुग्दा हरेक टिजरले यो प्रस्ट पारेका छन् भन्ने लाग्छ । हामी आम नेपालीले भोगेको समस्या हाम्रो सिनेमाले देखाउनेछ,” निर्देशक न्यौपाने भन्छन्, “भर्खरै आएको गीतले पनि यो प्रस्ट पारेको छ । आमालाई अघाध माया गर्ने छोराले आमालाई खुसी दिन गरेको सङ्घर्ष र पराइको पाइला चालेको देखिन्छ ।”
आम निम्न वर्गीय र मध्यमबर्गी नेपालीले भोगिरहेको समस्या आफ्नो सिनेमामा रहेको निर्देशक न्यौपाने बताउँछन् । आर्थिक रूपमा टक्टिकिएर झन् सानो भएको छोरोको ठुलो मन ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’मा देख्न पाइने उनले बताएका छन् ।
रुमानी कल्पनाको संसारभन्दा पनि यथार्थ घटानाहरुको बिचबाट दर्शकलाई यो पटक सिनेमा देखाउने रहरले आफूले यो चलचित्र बनाएको उनको भनाइ छ ।
‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ भदौ ६ गते रिलिज हुनेछ । विजय बराल यो सिनेमाको मुख्य कलाकार हुन् । निर्माणपक्षले विजयलाई ‘एपिक नेचुरल स्टार’को ट्याग दिएको छ । छायाङ्कन सकिएको यो चलचित्र अहिले पोस्टप्रोडक्सनमा छ । यो चलचित्रको छायाङ्कन काठमाडौँ, ललितपुर, भक्तपुर र काभ्रेमा गरिएको हो ।
चलचित्रको असोसियट निर्देशकमा ‘प्रेम गीत ३’ अभिनेता मनिष राउत छन् । बलियो लाइन अप देखिएको चलचित्रमा विजयसँगै अभिनेत्री केकी अधिकारी, अभिनेत्री मिरुना मगर, गौरव पहाडी, सुशांक मैनाली भोलाराज सापकोटा, रियर राई, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापालगायतको पनि अभिनय रहेको छ ।
पेपर क्लिपको ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुन् । सह–निर्मातामा आरके मानन्धर, रुपेश लामा, सिआर बस्नेत, नारायण तिमिसिना र चुडामणि सिवाकोटी रहेका छन् । थानेश्वर गौतम, अर्जुन पोखरेल, एसडी योगी र प्रशान्त सिवाकोटीको संगीत रहेको चलचित्रमा नवीन गुरुङ डीओपी र कृष्ण परियारको सिनेमेटोग्राफी रहेको छ ।
चलचित्रको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका हुन् । दिनेश बहादुर राउत मुख्य सहायक निर्देशक रहेको सिनेमामा तर्कराज न्यौपाने, रवीन्द्र नेपाल, मोनिका थापा र आकाश के.सी सहायक निर्देशक रहेका छन् । चलचित्रका निर्माण नियन्त्रक लक्ष्मण राज पौडेल हुन् । गोविन्द शाहीको काफिया फिल्मसले वितरणको जिम्मा लिएको छ ।
अल टाइम ब्लक बस्टर चलचित्र ‘पूर्णबहादुरको सारंगी’ पछि विजय बरालको मुख्य भूमिकामा आउन लागेको यस वर्षको यो पहिलो चलचित्र हो ।विसं. २०८१ मा नेपाली चलचित्र उद्योगलाई ब्लकबस्टर सिनेमा दिने विजय र केकी ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’को मुख्य भूमिकामा सँगै देखिँदै छन् ।
Announcement
We’re sharing an important update: BRTNepal.com will be closing soon and will be replaced by USNepalToday.com.
Our new platform will continue to bring you the latest news and updates, now with an even better experience.
For inquiries or further information, please contact us at our new email address:
usnepaltoday@gmail.com
Thank you for your continued support, and we look forward to serving you on USNepalToday.com!