ढुङ्गाना र उप्रेतीलाई ‘श्री दुर्गादेवी पुण्य निरौला स्मृति पुरस्कार’
काठमाडौँ । अभिनेता टिका पहारी र अभिनेत्री रेजीना उप्रतीलाई ‘हरितारा चलचित्र पुरस्कार’ र चलचित्र पत्रकार विष्णु सुबेदीलाई ‘हरितारा चलचित्र पत्रकारिता पुरस्कार’ प्रदान गरिएको छ । बिहीबार राजधानीमा आयोजित भव्य समारोहका बिच पहारीलाई २०८० तथा उप्रेती र सुबेदीलाई २०८१ सालको पुरस्कार प्रदान गरिएको हो । चलचित्र पुरस्कारमा जनही २५,०००।– र पत्रकारिता पुरस्कारमा १०,०००।– राशि समावेश छ ।
महनोज शमशेर जबरा संरक्षक तथा अध्यक्ष रहेको ‘हरितारा पुरस्कार’ चलचित्र क्षेत्रकै पहिलो पुरस्कारका रूपमा स्थापित छ । २०५२ सालमा समाजसेवी श्रीमती विजया राणा (तारा नानी)ले आफु र आफ्ना पति हरि शमशेरको नाममा अक्षयकोष राखी यो पुरस्कारको स्थापना गरेकी हुन् ।
परिवर्तन नेपालको आयोजनमा सम्पन्न कार्यक्रममा ‘श्री दुर्गादेवी पुण्य निरौला स्मृति पुरस्कार’ र ‘परिवर्तन – चलचित्रकर्मी विशेष सम्मान २०८१’ समेत अर्पण गरिएको छ । समारोहमा १०,०००।– राशिको ‘श्री दुर्गादेवी पुण्य निरौला स्मृति पुरस्कार’ कलाकार तथा अधिवक्ता कृष्ण ढुङ्गाना र निर्देशक सम्झना उप्रेती रौनियारलाई प्रदान गरियो ।
यस्तै अभिनेता रवीन्द्र सिंह बानिया, निर्देशक अमर ओली, अभिनेता जेबी रुवाली, अभिनेता सविन श्रेष्ठ, अभिनेता गोपाल ढकाल (छन्दे) र अभिनेता सुनिल कटुवाललाई ‘परिवर्तन – चलचित्रकर्मी विशेष सम्मान २०८१’ बाट सम्मानित गरिएको छ । साथै संचारकर्मी तुलसी गिरी भावुक, संचारकर्मी कृष्ण भुषाल र संचारकर्मी कमला जोशीलाई ‘परिवर्तन–चलचित्र पत्रकारिता सम्मान २०८१’ अर्पण गरियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै परिवर्तन नेपालका अध्यक्ष मोहन निरौलाले आ–आफ्नो शिल्पद्वारा आ–आफ्नो विधामा रचनात्मक योगदान दिँदै आएका चलचित्रकर्मी तथा पत्रकारलाई पुरस्कृत र सम्मानित गर्न पाउँदा गर्वको अनुभूति गरेको जनाएका छन् ।
कार्यक्रमका प्रमुख अतिथि चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले चलचित्र क्षेत्रमा ‘हरितारा पुरस्कार’को बेग्लै महत्त्व स्थापित भएको जनाए । उनले आफूले पनि ‘हरितारा चलचित्र पुरस्कार’ प्राप्त गरिसकेको जनाउँदै यो पुरस्कार आफ्ना लागि सदैव विशेष महत्वको भएको जानकारी दिए । कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ अभिनेत्री बुसन्धरा भुषाल र पुरस्कृत व्यक्तित्व अभिनेता टिका पहारीले पुरस्कारको महत्वबारे प्रकाश पारेका थिए ।
पुरस्कारको निर्णायक समितिमा मोहन निरौला, सुन्दर श्रेष्ठ र शान्तिप्रिय रहेका थिए । मायाङ्का राणा सिरोइयाको सभापतित्वमा भएको कार्यक्रममा चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष राजकुमार राई, वरिष्ठ अभिनेत्री चैत्य देवी, वरिष्ठ अभिनेत्री मिथिला शर्मा, वरिष्ठ अभिनेता शिव श्रेष्ठ, वरिष्ठ गायिका देवीका बन्दना, कलाकार संघका पूर्व अध्यक्ष रवीन्द्र खड्कालगायत विभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधि र चलचित्रकर्मी तथा पत्रकारहरूको बाक्लो उपस्थिति रहेको थियो । देवेन्द्र पाण्डेको संयोजनमा भएको कार्यक्रमलाई माधवराज खरेलले सहजीकरण गरेका थिए ।
तस्विरः बद्री थापा