काठमाडौँ । समसामयिक सामाजिक तथा राजनीतिक विषयमा निर्माण हुन लागेको फिल्म ‘बिगुल’ को एउटा गीतमा नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सङ्गीत दिएका छन् । रमेश कोइरालाको निर्देशनमा बन्ने फिल्मको ‘आऊ यस्तो देश बनाऔँ’ बोलको गीत बुधवार अनामनगरस्थित सायारेम स्टुडियोमा रेकर्ड गरिएको हो । चर्चित गायक राजेश पायल राईको स्वरमा रहेको सो गीतको शब्द पनि महामन्त्री शर्माले रचेका हुन् ।
‘महामन्त्री शर्माले निकै सान्दर्भिक शब्द र मिठासपूर्ण सङ्गीत सृजना गर्नुभएको छ,’ निर्देशक कोइरालाले भने,‘‘बिगुल’मा यो गीतको उपस्थिति निकै अर्थपूर्ण छ । कुशल राजनीतिज्ञका साथै गीतसङ्गीतमा समेत निकै दक्खल राख्ने विश्वप्रकाश दाइको शब्द,सङ्गीतप्रति नतमस्तक छु ।’ उनले ‘बिगुल’ ले आम दर्शकमा मनोरञ्जनका साथै राष्ट्र र राष्ट्रियताको विषयमा चेतना जागृत गराउन प्रयत्न गर्ने बताए ।
म्याग्नेसियम ग्रुप प्रालिको ब्यानरमा निर्माण हुने ‘बिगुल’ मा नरेन खड्का,बेनिशा हमाल,रमेश बुढाथोकी,गीता अधिकारी,सुमोद भारद्वाजलगायतका कलाकार अनुबन्धित भइसकेका छन् । शिव ढकालले खिच्ने फिल्मको कथा दिनेश कोइरालाको हो भने पटकथा,संवाद मौनता श्रेष्ठले लेखेका छन् । वैशाख तेस्रो साताबाट सुटिङ सुरु हुने फिल्मका गीतमा विश्वप्रकाशका साथमा अर्जुन पोखरेल र मनोज चौलागाइको सङ्गीत छ । कविराज गहतराजको कोरियोग्राफी रहेको फिल्मको निर्माण व्यवस्थापकमा श्याम केसी छन् । चितवनका विभिन्न स्थानमा खिचिने ‘बिगुल’ लाई एक बिचार,आवाज र एक वैचारिक क्रान्तिको सङ्केतका रूपमा अर्थ्याइएको छ ।