अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:५३ | Colorodo: 06:08

हराउँदै गएका आफन्तजन, नाता सम्बन्ध, आफ्नो पन र कठोर मनहरू

रामप्रसाद खनाल

रामप्रसाद खनाल २०७६ असोज २० गते १०:०२ मा प्रकाशित

अमेरिका बसेको पनि १२ वर्ष नाघेछ । अमेरिकामा होस वा नेपाल बाहिर अन्य कुनै पनि देशमा होस वा नेपालमै पनि किन नहोस्, म नजिक बाट नियाल्ने प्रयास गर्छु – नेपालीहरूमा यति बिघ्न स्वार्थी पन, कठोर मनको विकास हुँदै गएको छ कि यदि यही गतिमा जाने हो भने अबका केही वर्षमा छोराछोरीले आफ्नै बाउ आमा चिन्न छाड्ने छन् । चिनिहाले जस्तो अभिनय गरे पनि उनीहरूको आत्मामा बाउ आमा प्रतिको माया, अन्तर सम्बन्ध सबै सिसा जस्तै झर्याम झुरुम टुटेको हुने छ । आजले भोलि देखाउँछ । यो मैले नजिकबाट नियाली रहेको कहाली लाग्दो भोलिको तस्बिर हो ।

श्रीमानलाई श्रीमती, श्रीमतीलाई श्रीमान् भए पुग्ने, आफूले जन्माएको छोरो र बुहारी, छोरी र ज्वाइँ मात्र आफ्ना । अरू सबै पराया जस्तो देखाउने चलनको विकास नै हाम्रो मानव सभ्यता, मानवीय धर्म, नैतिकता र आदर्शको विनाश उन्मुख बाटो हो । तर आफ्ना छोरा बुहारी र छोरी ज्वाँईलाई मात्र आफ्नो देख्दै गरेका बाउ आमा यो पनि भुलिसकेका छन् कि हाम्रा छोरा बुहारी, छोरी ज्वारभाटा पनि हामीले सोचे जस्तै माया पाइरहेका छौँ त ? भनेर । छोरो बुहारीको भैसकेको हुन्छ । उ बुहारीको रोबर्ट बनेको हुन्छ भने छोरी ज्वाँईको । उनीहरू आफ्ना जोइपोइको जोडीमा मात्र संसार देखिरहेका हुन्छन् बाँकी सब भाँडमा जाए ।

बाउ आमा, हजुर वा, हजुर आमा, दाइ भाइ, दिदी बहिनी, फुपू फुपाजु, मावली, आफन्तजन, नाल नाता, कुटुम्ब भनेको के हो ? हामीले आफ्ना सन्ततिलाई चिनाउन बुझाउन छोडिसकेका छौँ । आफूलाई जन्मदिने, हात समाएर हिँड्न सिकाउने, शिक्षा दीक्षा दिने, आफ्नो प्राण भन्दा बढी माया गर्ने, कर्म दिने बाबु आमा प्रति हामी आफै बेखबर बन्छौँ भने के भोलि हाम्रा सन्ततिले हाम्रो खबर राख्लान् ? हेर्लान ? अहँ आशा नगर्नुस् ।

विज्ञानको विकास सँगसँगै हामीले मानवता र सामाजिक भावनाको विनाश रोजिसकेका छौँ । अहिले घर घरमा श्रीमान् श्रीमतीहरू पहिला जस्तो एक आपसमा कुरा र व्यवहार गर्दैनन् । छोराछोरी आ आफ्नै तालमा छन् । परिवारजनको माया भन्दा आजकाल सबैलाई फेसबुक, ट्विटर, युट्युब, स्मार्ट फोन प्यारो लाग्न थालेको छ । रात दिन हाम्रो ध्यान त्यतै छ । कसैले कसैलाई भेट्दा हार्दिकता हराइसकेको छ । जन्मदिन होस वा विवाह उत्सव, भुँडी मुसार्ने बेबी सावर होस वा अन्य कुनै कुरा अब त्यो सब मान्छेबाट पूर्ण अलग भएर फोन सेटमा मात्र अटाउने भैसकेको छ । औपचारिकतामा मात्र केन्द्रित भएको छ । विज्ञानको बिकासलाई हामीले दुरुपयोग गर्दै विनाशको बाटोमा लागेका छौँ । विकृति, विसङ्गति सब कुरा सिक्दै हामी गलत बाटो हिँडिरहेका छौँ । खाना खाँदा थालमा होइन फोनमा हेरेर खाने भैसकेका छौँ हामी । पारिवारिक, व्यावहारिक कुराकानी त धेरै टाढाको कुरा भैसकेको छ । भर्खर जन्मेका प्युसा प्युसीलाई पनि फोन देखाएर आफू जस्तै क्रेजी बनाइसकेका छौँ हामी । चरम दुरुपयोग गरेका छौँ हामीले प्राबिधिको ।

दुई वर्षको बिचमा म सपरिवार तीन पटक नेपाल गएँ । म अहिले बसिरहेको अमेरिकामा भन्दा नेपालमा मैले झन् बढी विकृति र विसङ्गतिको पराकाष्ठा देखेँ । अधिकांश मान्छे सबै फेसबुक, ट्विटर, युट्युब, स्मार्ट फोन प्रेमी भएका छन् । भेट हुँदा उनीहरू हाल खबर सोध्दैनन् । आत्मीयता दर्शाउँदैनन । कसैलाई भेट गर्न घरमा गयो घरका हरेक परिवारजन फोनमा लिसो टाँसिएझैँ टाँसिरहेका, फोनको स्क्रिन हरेर बहुलाहा झैँ एक्लै हाँसिरहेका भेटिए ।

एउटा बिहेको निम्तो मान्न जाँदा दुलहीले दुलाहा र दुलाहाले दुलही भन्दा बाहिर ध्यान दिएको देखिएन बरु दुलाहा दुलही फेसबुकमै व्यस्त भएको देखियो मण्डपमै । आउने आफन्तजनलाई न दुलाहाले सोधे न दुलहीले । दिएको बधाईमा धन्यवाद सम्म फर्काउन उनीहरूलाई फुर्सद देखिएन । मलाई लाग्यो – आफन्तजन, नाता सम्बन्ध, आफ्नो पन, व्यावहारिकता, हार्दिकता सबै कुरा हामीले आर्यघाटमा लगेर पोलिसकेका छौँ ।

त्यति मात्र होइन अझ खतरनाक कुरा मैले यो देखेँ अनुभव गरेँ कि – श्रीमानलाई श्रीमती, श्रीमतीलाई श्रीमान् भए पुग्ने, आफूले जन्माएको छोरो र बुहारी, छोरी र ज्वाइँ मात्र आफ्ना । अरू सबै पराया जस्तो देखाउने चलनको ठुलो विकास नै भएछ हाम्रो नेपाली समाजमा । मेरो छोरो जस्तो, मेरी बुहारी जस्तो, मेरो छोरी जस्तो, मेरो ज्वाइँ जस्तो, मेरो श्रीमान् जस्तो, मेरी श्रीमती जस्तो भन्दै बढाइ चढाइ गर्दै र अरू नाल नाता, सम्बन्धहरू, आफन्तजनहरूलाई माइनस गर्दै पारिवारिक सम्बन्धलाई साँघुर्याउंदै लगेको देख्दा, नबुझ्दा त्यसले निम्त्याउँदै गरेको खतरा असाध्यै डर लाग्दो देखेँ ।

आफ्नो पन हराइसकेको देखेँ । जन्म दिने बाउ आमा, दाजु भाइ, दिदी बहिनी, नाल नाता, कुटुम्बको सम्बन्ध हराउँदै गएको देखेँ र मै ठुलो, मै जान्ने सुन्ने, मै राम्रो, मेरा मात्र राम्रा भन्ने भावना सँगै धेरै मान्छे डिप्रेसनका सिकार भएको भेट्टाएँ ।

देखावटी रूपमा ठुला र राम्रा तर भित्र भित्रै हरेक कुरामा खोक्रिँदै गएकाहरूको सङ्ख्या पनि ठुलै रहेछ । अर्काको ईर्ष्या र डाह गर्ने, तडक भडकका कुरामा प्रतिस्पर्धा गर्ने, अर्काको कुरा काट्न व्यस्त हुने, काम काज भन्दा खुराफातमै बिताउनेहरूको सङ्ख्या अत्यन्त बढी देखियो । मुखमा राम राम बगलिमा छुरा उखान प्रचुर देखेँ । यता नेपाल बाहिर त थियो थियो, नेपाल मा झन् बढी यस्तो देख्दा लाग्यो हामी सकिने र सकाउने बाटोमा पूर्ण अग्रसर छौँ ।

आफूलाई जन्म दिएका बाउ आमा नहेर्नेहरूले आफूले जन्म दिएका छोरा छोरीले भोलि आफूलाई पनि नहेर्ने कुरा चटक्कै भुलेका छन् यस्ता बेहोसीहरुलाई देख्दा अचम्म पनि लाग्यो । बाउ आमा मात्र होइन, दाइ भाउजू, दिदी भिनाजु, बहिनी ज्वाइँ, भाइ बुहारी, फुपू फुपाजु, मावली, आफ्नै कुल कुटुम्ब, नाल नाता, बन्धुत्व सबै कुरा लाई आफ्नो निहित स्वार्थमा जोडेर मात्र हेर्ने, झार्न पाए ठिक र नपाए बाल मतलब नगर्ने जुन प्रवृत्ति को विकास देखिएको छ यसले भोलि समाजलाई नराम्ररी भड्खालोमा जाक्ने देखिएको छ । आफ्नो स्वार्थ सिद्ध हुने भए आफ्नो नत्र आफ्नै मान्छे पराइ हुने गरेको पनि देखियो । पैसो भए झरे आफ्नो नत्र आफ्नै पनि पराइ हुने परिस्थिति अत्यन्त बिडम्बनायुक्त छ ।

यदि हामी सबैले माथिका कुरा मनन गरेनौँ र सच्चिएनौँ भने सम्झिनुस् हामी सबै आफन्तजन, नाता सम्बन्ध, आफ्नो पन मात्र होइन हामी आफै पनि यी कुराहरू सँगै सकिने र सकाउने बाटोमा छौँ । चेतना भया ।

( नोट : लेखक खनाल अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिकाका अध्यक्ष, वरिष्ठ लोक तथा दोहोरी गायक र जाने मानेका कलाकार हुन जो साढे तीन दशक देखी नेपाली भाषा, साहित्य, कला, संस्कृतिको क्षेत्रमा निरन्तर काम गर्दै आएकाछन् – सम्पादक )