अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:४५ | Colorodo: 11:00

निम्तोको दुःखले पनि रक्तदानलाई रोक्न सकेन

अर्जुन मैनाली २०७६ असोज ६ गते १०:३४ मा प्रकाशित

पृथ्वीको भूमध्य रेखामा रहेको अफ्रिका महादेशको करिब मध्य भागमा संसारकै गरिब देश कङो हो । प्राकृतिक स्रोतको हिसाबले कङोलाई विश्वकै धनी देशमा गन्न सकिन्थ्यो । त्यहाभएका खनिजहरू निकाल्ने हो भने २४ ट्रिलियन युएस डलर भन्दा बढी हुने अनुमान गरिएको छ । तर उपनिवेशवाद, दासत्व, र भ्रष्टाचारले यो देशलाई सबै भन्दा गरिबमा परिणत पारेको छ । द्वितीय विश्व युद्ध देखिएका हत्या हिंसा अहिलेसम्म सकिएको छैन । त्यहाँको जनसङ्ख्या करिब ९ करोड र वार्षिक बजेट ७८ बिलियन अमेरिकी डलर छ । यहाँको जनताको प्रतीब्यक्तीआम्दानी वार्षिक ८७० अमेरिकी डलर छ । नेपालको जनसख्या ३ करोड र वार्षिक बजेट ८४ बिलियन अमेरिकी डलर छ । यहाँको जनताको प्रतिव्यक्ति आम्दानी वार्षिक ९१९ अमेरिकिडलर छ । हाल विश्वकै धनी देश संयुक्त राज्य अमेरिकाको जनसङ्ख्या ३२ करोड र वार्षिक बजेट २० ट्रिलियन अमेरिकी डलर छ । यहाँको जनताको प्रतिव्यक्ति आम्दानी ६२ हजारअमेरिकि डलर छ । अहिलेको हवाईजहाजको बाटो अनुसार अमेरिकाको न्यु योर्क बाट कङो पुग्न २० घण्टा लाग्छ भने नेपालबाट १६ घण्टा लाग्छ ।

हरेक वर्ष अफ्रिका महादेशमा करिब छ लाख गर्भवती र सुत्केरी महिलाहरूको अत्यधिक रक्तश्रावका कारणले मृत्यु हुने गरेको छ । त्यस्ता बिरामीहरूले सजिलै रगत पाउन सकेका छैनन् । कुपोषण, विभिन्न रोग लागेका कारण धेरै जसो रक्तदान गर्न सक्ने अवस्थाका छैनन् । बाँकी रहेका केही स्वस्थ खालका युवाहरू रगत दिन डराउँदा रहेछन् । अझ ‘मेरो शरीरको रगत अरूलाई किन दिने’ सोच्दा रहेछन् । केहीले दिई हाले पनि ‘सित्तैमा किन दिने ?’ सोच्दा रहेछन् । अब मैले बिकासित देशहरूमा साबिकको भन्दा कम रक्तदान हुन नदिने र अल्पविकसित देशहरूमा रक्तदान वृद्धि गर्नु पर्छ भन्ने लाग्यो । त्यसले अमेरिका, युरोप, अष्ट्रेलियाका युवाहरूलाई रक्तदान गर्न लगाइ रहेँ । अफ्रिकी देशहरू मलावी, युगान्डा, इथियोपिया, रुवान्डामा गएर आफ्नै रगत दान गरी केहीलाई भए पनि बच्चाउन प्रयास गरेँ । त्यहाँका युवाहरूमा स्वफुर्त रक्तदान गर्न उत्प्रेरणा गरेँ । अफ्रिकाकै कङोमा संसारकै पहिलो उच्चतम मातृ मृत्युदर छ । त्यस्तै दोस्रो उच्चतम शिशु मृत्युदर छ । महिलाहरूलाई धेरै दुःख छ । बलिया पुरुषहरूले आफ्नो स्वार्थका लागि महिलाहरूको इच्छा विपरीत दासी, बलात्कार, यौन शोषण गर्दा रहेछन् । गरिब घरमा खानेकुरा छैन, केही गरी अलिकति जुटिहाले पनि महिलाको भागमा थोरै पर्दो रहेछ ।

कङोको यस्तो अवस्था थाहा पाए पछि सेप्टेम्बर ११, २०१९मा त्यहाँ पनि गएर रक्तदान गरौँ भन्ने मनमा आयो । तीन महिना अगाडि मात्रै रुवान्डामा गएर रक्तदान गरेको थिएँ । रगत नै नपाएर संसारका कुनै पनि कुनामा कसैले पनि जीवन गुमाउनु नपरोस् भन्ने मेरो चाहना हो । त्यसले आफ्ना व्यक्तिगत चाहनाहरूलाई थाँति राख्दै आफू भन्दा पनि धेरै टाढाका दुखिलाई सहयोग गर्न मलाई मन पर्छ । तर एउटा सामान्य व्यक्तिले कतिसम्म गर्न सक्छ ! समय, साधन श्रोत, शारीरिक सास्ती, आदि बारम्बार निम्ताउनुले अहिले मेरो जीवनमा एक दमै गाह्रो हुँदै गई रहेको छ । बिस बाइस घण्टा टाढा गै रक्तदान गरेर फर्किनु मेरो शरीरको लागि पनि हितमा छँदै छैन । मलाई एकदमै बाध्यताले त्यहाँ गएर रक्तदान गर्नु परेको जस्तो भयो । सधैँ हर्यास ! सधैँ प्रेसर ! यो मेरो कस्तो इच्छा हो ? यो मेरो कस्तो चाहना हो ? तमाम मेरा आफ्ना दुक्ख र समस्यालाई वास्ता नगर्दै आफूलाई सम्हालेँ । र यस्तै कठिन अवस्थामा पनि आफ्नो रक्तदानको कामलाई कमी ल्याउनु हुँदैन भन्ने भावना मन भरी भरेँ । र कङ्गोमा नै गएर रक्तदान उत्प्रेरणा गर्ने कार्यक्रम बनाएँ ।

कङोमा गएर रक्तदान गर्ने मेरो योजना अमेरिकी सरकारलाई जानकारी गराएँ । अमेरिकी सरकारले आफ्नो नागरिकहरूलाई कङोमा तत्काल नजान र गैइ हाले पनि सावधानी अपनाउन सूचना जारी गरेको रहेछ । कङोमा राजनीतिक द्वन्द्व, जातीय द्वन्द्व, लुटपाट, अपहरण, चोरी, हत्या जस्ता हिंसा हुँदो रहेछ । बिस वर्षको अवधिमा ५४ लाखले अकालमै जीवन गुमाइ सकेका रहेछन् । अझ एच आई भि, एड्स, झाडा पखला, औलोको पनि उत्तिकै जोखिम रहेछ । मलाई यी जोखिम भएता पनि त्यहाँ गएर रक्तदान दिन नै मन लाग्यो । मैले काम गर्ने कार्यालयका सहकर्मीहरूले मलाई कङ्गोमा जानु भनेको आत्महत्या गर्न जानु जस्तै हो भनेका थिए । मानिस जन्मे पछि एक दिन मरी नै हाल्छ । तर बाँची रहँदा अरूका लागि के गर्‍यो भन्ने कुरा महत्त्वपूर्ण हुन्छ जस्तो मलाई लाग्यो । संसारका कुनै पनि कुनामा रगत नपाएर मर्न लागेका बिरामीहरूलाई मेरो आफ्नै शरीरको रगत दिई बच्चाउनु नै मेरो जीवनको मुख्य उद्देश्य हो भन्ने मलाई लाग्यो । अरूका लागि मेरो रगत दिनु पनि म एक रक्तदाताको प्रतिभा निर्माण गर्नु जस्तै हो लाग्यो । मेरो यो कदमले संसारमा धेरैले अरूका लागि रक्तदान गर्न प्रेरणा पाउन सक्छन् जस्तो लाग्यो ।

विश्व स्वास्थ्य सङ्गठनले कङोमा इबोला रोग धेरै नै बढेको भन्दै अन्तर्राष्ट्रिय सङ्घ संस्थाहरूको ध्यानाकर्षण गराएको एक हप्तामै कङ्गोमा इबोला रोगको महामारीलाई नियन्त्रण गर्न नसकेको भन्दै स्वास्थ्य मन्त्रिले आफ्नो पदबाट जुलाई २३, २०१९मा राजीनामा नै दिएका रहेछन् । यस्तो थाहा पाए पछि जुलाई २५, २०१९ मा न्यु योर्क स्थित कङोको कन्सुलेटमा भिसाको लागि निवेदन दिएँ । त्यतिखेर मसँग न्यु योर्क देखी कङ्गोमा जान-आउन हवाईजहाज टिकट थिएन । बस्नको लागि होटेल बुक पनि गरेको थिइनँ । त्यसैले मेरो निवेदन स्विक्रित भएन । मैले त्यहाँका अधिकृतलाई ‘तपाइले मेरो पासपोर्ट राम्रोसँग हेर्नु त भयो नि?’ सोधेँ । मैले अमेरिकन पासपोर्ट छ भनेर फुर्ती लगाउने कुरा पनि भएन ।

विगत ६ वर्षमा १६ देशमा रक्तदान उत्प्रेरणा गराउन जाँदा लिएका भिसा र छापहरुले भरिएर पासपोर्टमा दुई पेज मात्र बाँकी थिए । न्याउरो मुख लगाएर घर फर्किदा बाटोमा मनमा कुराहरू खेल्न थाले ‘कङ्गोमा रक्तदानबारे जनचेतना कम भएर चाहिने जतिले रगत दान गरी रहेको अवस्था छैन, म आफ्नै खर्चमा त्यहाँ गएर रगत दान गर्छु, रक्तदान गर्न उत्साह जगाउँछु भन्दा पनि भिसा नै दिएनन् । हैन! उनीहरूलाई आफ्ना बिरामी जनताहरूका बारेमा चिन्ता छैन भने पनि मलाई चाहिँ के को मतलब नि’ सोच्ने कुरा नै भएन ।

भगवानले ‘तँ आँट म पुर्‍याउँछु’ भने जस्तै मैले पनि आँटेँ । र त्यस कार्यको लागि समुदायका मेरा साथीहरूको आशीर्वाद र केही आर्थिक सहायता पाउन ‘गोफ्यान्डमी’ कार्यक्रममा मेरो कुरा राखेँ । साथीहरूले सहयोग पनि गर्न थाल्नु भयो । गोफण्ड मार्फत( गोपेन्द्र भट्टराई २५, राजन गौली १५, वसन्त चापागाइँ २०, रघु न्यौपाने २०, विश्व थापा २०, सलिल देवकोटा ५१, आरती राई ५, हरिश हमाल १५, रेसम घर्ती १५, पशुपति पाण्डे १५, रोबर्ट एलिस २५, सूर्य लम्साल २१, दिनेश सञ्जाल ५, राम ढकाल २०, प्रेम गुरूगं ५१, राम विष्ट २०, शिव राई २०, जगदीश राउत २०, भरत बास्कोटा १५, टिका ढकाल ५१, विश्व बास्तोला ५१, नीराजन खड्का ५, पिपल मणि सिग्देल ५१) ५५६ डलर र व्यक्तिगत रूपमा नगद नै सहयोग गर्नुहुने महेश खड्का १००, विष्णु राना मगर १००, जङ्ग पाल ५०, राधाकृष्ण देउजा २५, नारायण तिमिल्सिना २५, उद्धव हुमागाइँ ४०, उद्धव शास्त्री २०, मोहन विष्ट ४०, जनक भण्डारी २१, रोनीश विष्ट २० सहित जम्मा ९९७ डलर सहयोग गर्नु भएको छ। चाहिने रकम जुट्ने भएपछि साथी टिका ढकालसँग क्रेडिट कार्ड लिएर टिकट र होटेलको कोठ बुक गरेँ ।

इबोला भन्ने एक दुर्लभ तर प्राण घातक रोग हो । यो रोग लागेकालाई शरीर दुख्ने, ज्वरो आउने, शरीर भित्र र बहिर रक्तस्राव हुने, रगत फटाउने जस्ता हुन्छन् । इबोला रोग लागेमा बाँच्न नै सकिँदैन । अहिलेसम्म औषधी नै पत्ता लागेको छैन । यो रोगबाट ११ हजार जनाको मृत्यु भई सकेको छ । यो रोग नलाग्न रोग ग्रस्त ठाउँमा नजानु, रोगीको रगत र शरीरका तरल पदार्थ; पसिना, स्तन, योनिको तरल पदार्थ, थुक, असुरक्षित यौन सम्पर्क, रोगीले प्रयोग गरेका लुगा, सुई, चिकित्सक उपकरण जस्ता कुराहरूबाट टाढै रहनु पर्छ । म सधैँ असल आचरणमा रहने भएको हुनाले त्यस्ता जोखिममा परिनँ ।

मैले कङ्गोको युवाहरूलाई रक्तदान गर्न हौसला दिन आउँदै छु भन्दा केही व्यक्तिहरूले मलाई शङ्काको दृष्टिले हेरेछन् । कङ्गो, किसनगानीकी युवती जिता अंवाङगाले म त्यहाँ गएपछि कुनै संवेदनशील योजना गर्दै हुनुहुन्छ कि भनेर सोधिन । सुरुमा त्यहाँको रक्त सञ्चार सेवाको संयोजक चेरुबिन बोङगोलाई पनि त्यस्तै भान भएछ । उनले भिसाको लागि सिफारिस गर्न सक्दिन पनि भनेका थिए ।’तपाईँहरूले मेरोबारेमा ठुलै भ्रम पाल्नु भएको रहेछ’ म विशुद्ध रक्त दाता हुँ भनेँ । मैले उनीहरूलाई रक्तदान अभियन्ता भएको विश्वास दिलाउन निकै समय खर्चिनु पर्‍यो । त्यसपछि मेरो सबै कुराकानीको बारेमा माथिल्लो निकायमा पठाएछन् । त्यहाँबाट निम्न इमेल पाएँ ।

प्रिय अर्जुन
मानव जीवन बचाउन रगत दान दिएर अरूलाई सहयोग गर्न परोपकारी मनोभाव भएको मानिसलाई देख्न पाउनु साँच्चै आनन्दको कुरा हो। हामी यस अर्थमा कठिनाइमा छौँ कि हाम्रा धेरै जना देशवासीहरूले रक्तदानको प्रासङ्गिकता बुझ्न सक्दैनन्, तपाईँको आगमन र तपाईँको योगदानले हामीलाई हाम्रो एउटा अभियान प्राप्त गर्न मद्दत पुर्‍याउँछ। हाम्रो टोली तपाईँको कार्यमा सघाउँछ ।

डेमोक्र्याटिक रिपब्लिक कङ्गो र केन्द्रीय रक्त सञ्चार सेवामा तपाईँलाई स्वागत छ।

शुभेच्छा सहित
जेफ कबिंडा, एमडी, पिएचडी

पुन जुलाई २६मा युपीएस (भोलि पल्टै पुग्ने गरी) बाट कङ्गोको कन्सुलेट कार्यालय, न्यु योर्कमा उपरोक्त निमन्त्रणा सहित भिसाको लागि निवेदन गरेँ । कङ्गो कन्सुलेटले मेरो पासपोर्ट एक महिना राखेर अगष्ट २८ मा भिसा नै नलगाइकिन फिर्ता गरे । भिसा नपाए पनि म हतोत्साहित भइनँ। अफ्रिकाका धेरै देशहरूमा पनि रक्तदान उत्प्रेरणा गर्नु नै छ । अगष्ट ३० मा केन्या देशमा रक्तदान उत्प्रेरणा गर्न जान रिपब्लिक अफ केन्याको कन्सुलेट कार्यालय, न्यु योर्कमा भिसाको लागि निवेदन गरेँ ।

मार्च १५, २०१९ मा केन्या रेडक्रस सोसाइटीका महासचिव अब्बास गुलेटले केन्यामा वार्षिक पाँच लाख युनिट रगत चाहिनेमा करिब आधा जति मात्रै उपलब्ध हुने गरेको छ भनेका थिए । केन्याका धेरै युवाहरू रक्तदान गर्न डराउँछन् । केन्याका युवाहरूमा अझै रक्तदान गर्नेतर्फ सचेतना छैन। केन्याका युवालाई अझै थाहा छैन कि रक्तदान गर्नेहरूका लागि त्यहाँ धेरै फाइदाहरू छन्। एक अन्तरवार्तामा नैरोबी विश्वविद्यालयकी विद्यार्थी अमीना मिशेलले ‘म व्यक्तिगत रूपमा सुईहरूसँग डराउँछु, रगत दिएमा शरीरमा तपाईँको रगतको मात्रा कम हुन्छ, र यसको कारणले म बिरामी हुन सक्छु’ सोचेर रगत दान गर्न डर लाग्ने गरेको बताएकी थिइन ।

यस्तो थाहा पाए पछि केन्यामा रक्तदान उत्प्रेरणा गर्न जाने सोच बनाएँ । त्यहाँकी एक रक्त दाता ऐशा डफल्लासँग केन्यामा रक्तदान उत्प्रेरणा कार्यक्रम गर्न योजना राखेँ । उनले आफ्ना साथीहरू र रक्त सञ्चार सेवासँग मेरो इच्छा पुर्‍याइन ।

केन्याको राष्ट्रिय रक्त सञ्चार विभाग तथा मानव अङ्ग प्रत्यारोपणका प्रमुख डा फ्रिदा ए गोवेडीले ‘केन्यामा रक्तदान सँस्क्रिती बढाउन तपाईँको उपस्थितिले ठुलो विशालता महसुस गर्न सक्दछौँ’ भन्दै मलाई आतिथ्य गर्न उत्साहित भएको बताएका थिए । अगष्ट २९, २०१९ का दिन केन्याका स्वास्थ्य मन्त्रालयका स्वास्थ्य सेवाका लागि महानिर्देशक डा जे वेकेसा मासाबीले केन्यामा रक्तदान अभियानमा भाग लिन मलाई आमन्त्रित पत्रमा ‘तपाईँको उपस्थिति र सहभागिता स्वैच्छिक गैर-पारिश्रमिक रक्त दाताहरूलाई नियमित रूपमा रक्तदान गर्ने संस्कृति दिन प्रोत्साहित गर्नेतर्फ लक्षित छ। तपाईँको उपस्थितिले सम्भावित दाताहरूलाई ज्यान बचाउन रक्तदानको भावना ग्रहण गर्न उत्प्रेरित गर्दछ’ भनेका थिए। त्यति भएपछि सेप्टेम्बर ३ मा केन्या जानको लागि भिसा पाएँ ।

मैले लिएको कङ्गो जाने टिकटमा हवाईजहाज करिब दुई घण्टा केन्यामा रोकिएर त्यहाँ केही उत्रिने र केही चढ्ने हुनुहुने थियो । त्यसैले म त्यही टिकटबाट केन्यामा ओर्लिन्छु भन्ने मनसायले एयरपोर्ट गएँ । तर एयरपोर्टमा मलाई त्यो टिकटबाट हवाईजहाज यात्रा गर्न पाइनँ । मैले केन्याका रक्तदाताहरुको संस्था केही सहयोग गर्छु र आफ्नो दैनिकी खर्चको लागि छुट्ट्याएको रकम १,०१६ डलरबाट पुन अर्को टिकट किनेँ । कस्तो अचम्म भयो भने, पहिलेको टिकटमा भएको जस्तै मिति र समय भएको यात्रा तालिका नै उल्लेख भएको नयाँ टिकट पाएँ । व्यापारमा कुनै पनि मानवीय समवेदना हेरिँदो रहेनछ भन्ने मलाई लाग्यो । यहाँनेर म ठगिएँ । म बेखर्ची पनि भएँ । १२ हजार किलोमिटरको दुरीको १५ घण्टाको हवाइयात्रा भरी मेरो मन रोयो तर म हतोत्साहित भइनँ ।

नैरोबी, केन्याको एयरपोर्टमा मलाई स्वागत गर्न केन्याकी सर्वाधिक महिला रक्त दाता एैसा र पुरुष रक्त दाता अल्फा स्वागत गर्न आउनु भएको रहेछ । वहाँहरू सँगै म सिधै त्यहाँको रक्तसञ्चार सेवामा गएँ । आधा घण्टा जति कुरा गरेपछि म नजिकैको होटेल हिलपार्कमा गएँ । न्यूयोर्कमा मैले वेबसाइटमा हेर्दा उक्त होटेलको रातको ७० डलर लाग्ने लेखेको थियो, तर त्यहाँ ११४ डलर लाग्ने बताए । होस, अब कता गएर बस्नु! यसैमा बस्न फर्म भरेँ ।

केन्याको रक्त सञ्चार सेवामार्फत स्वास्थ्य मन्त्रालयले म रक्तदान नै गर्न भनेर न्युयोर्कदेखि नैरोबिमा आउने थाहा पाएपछि सरकारी अधिकारीहरूले पनि विशेष चासो राखेका रहेछन् । किनभने उनीहरूले मेरो लागी त्यहाँ बसिन्जेलसम्म एउटा कार र ड्राइभर उपलब्ध गराएका थिए । त्यस अवधिमा म जहाँ जान पनि उक्त सुविधा प्रयोग गर्न सक्थेँ । त्यस दिन बेलुका एन आर एन केन्याको पदाधिकारीहरूले मेरो लागि आयोजना गर्नु भएको रात्रि भोजमा सहभागी भएँ । वहाँहरूलाई आफ्नो अनुकूलमा सानै भएपनी रक्तदान कार्यक्रम गर्न अपिल गरेँ । विश्व व्यापी रूपमा मेरो रक्तदान अभियानको काम र कुरा बारेमा जानकारी गराएँ ।

केन्याको स्वास्थ्य मन्त्रालयले मेरो लागि विशेष कार्यक्रम नै बनाएको रहेछ; सम्भावित रक्त दाता उपस्थित हुने समय, म कार्यक्रममा पुग्ने समय, केन्याकी सर्वाधिक रक्त दाता महिलाको मन्तव्य, केन्याको सर्वाधिक पुरुषको मन्तव्य, मेरो मन्तव्य, स्वास्थ्य मन्त्री (क्याबिनेट सेक्रेटरी) सिसिली कारीउकीको मन्तव्य, उपस्थित भएका हरुले मसँग फोटो खिच्ने समय, सञ्चारमाध्यमसँग अन्तरवार्ता र मेरो रक्तदानको समय निर्धारण गरेको थियो । अझ उनीहरूले म रक्तदान नै गर्न भनेर अमेरिका देखी केन्यासम्म आउन लागेको भनेर राष्ट्रिय पत्रिका ‘डेली नेशन’मा अघिल्लो दिनमा समाचार नै छापेका रहेछन् ।

सोही अनुरूप म भोलिपल्ट बिहान १० बजे राष्ट्रिय अभिलेख मैदान, नैरोबीको प्राङणमा आयोजित कार्यक्रम स्थलमा पुगेँ । दुई वटा ठुला पालहरू टाँगिएका थिए । एउटामा औपचारिक कार्यक्रम गर्नको लागि मेच अनि मञ्च, अर्कोमा रक्तदान गर्न आवश्यक व्यवस्था मिलाइएको रहेछ । सयौँ सर्व-साधारण र सम्भावित रक्तदाताहरुको उपस्थित रहेको थियो । ठिक ११ बजे मन्त्रीको आगमन भयो । लाइनमा म भन्दा अगाडि स्वास्थ्य मन्त्रालयका दुई जना वरिष्ठ पदाधिकारीहरू हुनुहुन्थ्यो र म तेस्रो नम्बरमा उभिएको थिएँ अनि सयौँ सर्व साधारण, सम्भावित रक्त दाता र करिब तीन दर्जन जति सञ्चार क्षेत्रका व्यक्तिहरू थिए । लाइनमा उभिएकाहरूसँग हात मिलाउँदै मन्त्री म उभिएको ठाउँमा आइपुगे पछि ठक्क उभिन ‘तपाइलाई केन्यामा स्वागत छ, तपाईँ सर्वाधिक रक्तदातासँग भेट गर्न पाउँदा धेरै खुसी लागेको छ, तपाईँले हाम्रो देशमा रक्तदान बढाउन साझेदारीको काम गर्नुभयो, अब मञ्चतिर जाउँ’ भनिन ।

विभिन्न क्षेत्रका अतिथिहरूले खचाखच भरिएको मञ्च भएको पाल अगाडि उपस्थित भएका सयौँलाई सम्बोधन गर्दै प्रमुख अतिथि मन्त्रिले ‘वास्तवमा हाम्रो देशमा वार्षिक १० लाख युनिट रगत चाहिनेमा करिब एक लाख ७० हजार युनिट मात्रै रगत उपलब्ध हुन्छ, हाम्रो देशमा पनि स्वयंसेवी रक्तदानको संस्कार बसाउनु पर्छ, यस्तो अवस्थामा रक्तदानको क्षेत्रमा उल्लेखनीय काम गरेका विश्व प्रख्यात रक्त दाता अर्जुन मैनालीको अनुभवले हाम्रा केन्याकी जनताहरूलाई रक्तदान गर्न थप उत्साह मिल्नेमा विश्वस्त भएकी छु,’ उनले भनिन्। प्रमुख अतिथि मन्त्रिले सम्बोधनकै बिचमा मलाई परम्परागत केन्याको क्राउन (राज डन्डा, ह्याट र गम्छाले सम्मान गरिन । त्यसपछि मैले बोल्ने क्रममा विश्व भरी रगतकै अभावमा कसैले पनि जीवन गुमाउनु नपरोस भन्दै यो स्वयंसेवी रक्तदान अभियान लिएर आज तपाईँहरू सामु रक्तदान नै गर्न भनेर न्यु योर्क देखी आएको छु, ३२ वर्षको अवधिमा मैले १७१ पटक रक्तदान गरी सकेको छु, आज तपाईँ सामु तपाईँका जनताको लागि रक्तदान गर्दै छु, अब तपाईँ पनि रक्तदान गर्नुहोस्, रक्तदान गरेर शरीरमा कुनै कमजोरी हुँदैन, हेर्नुहोस् त मलाई, मैले यतिका पटकसम्म अरूका लागि करिब ८५.५ लिटर रक्तदान गरी सकेको छु, मेरो आफ्नै रगतले मात्रै ५१३ जनासम्मलाई बच्चाउन सहयोग हुन्छ’ भनेँ । त्यसपछि उपस्थित व्यक्तिहरूले ताली बजाएर स्याबास व्यक्त गरे । मैले ६ वटै महादेशका १६ वटा देशमा गएर रक्तदान गरी सकेको छु, केन्या मेरो १७औँ देश हो ।

मन्तव्यको कार्यक्रम सकिएपछि एक जना पत्रकारले मलाई एक छेउमा बोलाएर अन्तरवार्ता लिन खोजेका थिए । त्यहाँ भएभरका सबै टि भि, रेडियो, अखबारका उपस्थित पत्रकारहरूले मलाई घेरी हाले । मैले किन रक्तदान गरेको, कहिल्यै कमजोरी हुनु भयो कि, र मैले केन्यामा नै रक्तदान गर्नु परेको कारणहरू सोधेका थिए । वहाहरुले मबाट रक्तदानमा ठुलो अपेक्षा राखेका रहेछन् भन्ने मलाई लाग्यो ।

त्यसपछि रक्तदान गर्न राखिएको पालमा गएँ । प्रमुख अतिथि मन्त्री रिबन काटेर कार्यक्रम उद्घाटन गर्न मलाई पर्खी राख्नु भएको रहेछ, वहाँले मलाई तानेर रिबन काट्दा सँगै राख्नु भयो । रक्त सञ्चार सेवाकी निर्देशक डा फ्रिदाह गोवेदीले रक्तदान गर्न स्वास्थ्य परीक्षण गर्न लगिन । विद्युतीय उपकरणबाट मेरो रक्तचाप परीक्षण गर्दा एक अङ्कले बढी भयो । ला ! अब रक्तदान गर्न नपाउने भएँ भन्ने चिन्तामा परेँ । स्वास्थ्य परिचारिकाले पुन परीक्षण गरिन । बल्ल तल्ल स्वास्थ्य परीक्षण पास भएँ । रगत दिने मेचमा मलाई सुताएपछि मेरो पाखुरा हेर्न मन्त्री आफैँ आफ्नू भयो । विगतमा रक्तदान गर्दा सुई घुसारेको ठाउँमा हेर्दै स्पर्श गर्नु भयो । सायद वहाँलाई यत्तिका पटक रगत निकाल्दाको पाखुरा कस्तो होला जान्ने उत्सुकता थियो कि! मैले रक्तदान गरी सकेपछि मन्त्री आफ्नो मन्त्रालय जानु भयो । करिब १ बजे तिर रक्त सञ्चार सेवाका पदाधिकारी साथ म पनि दिवा भोज गर्न गएँ । एउटा करिब दुई पाउ जतिको सिङ्गै माछा र ढिँडो खाएँ । फेरी एक घण्टा जति रक्तदान भई रहेको ठाउँमा बसेँ । हरेक रक्तदाताहरुलाई भेट गर्दै रक्तदान गर्नुभएकोमा धन्यवाद छ भनेँ । पाँच छ जनाले त ‘तपाईँको रक्तदान अनुभवले म त साह्रै प्रभावित भएँ अब म पनि वर्षको चार पटक रक्तदान गर्छु’ भने । उनीहरू यस्तो प्रतिकृयाले म साह्रै हर्षित भएँ । मैले यत्राो दुःख गरेर यहाँ सम्म आएको लक्ष पुरा भयो भन्ने लाग्यो । त्यहाँ रक्तदान गर्ने र हेर्नेहरूको पनि ठुलो भिड थियो। रक्तदान गर्न साना साना केटीहरू पनि आएका थिए । मैले अचम्म मान्दै ‘तपाइ पनि रक्तदान गर्ने ?’ सोधेँ। ‘हो’ भनिन । फेरी मैले ‘रक्तदान गर्न त कम्तीमा पनि शारीरिक तौल ५० किलोग्राम हुनुपर्छ नि’ सोधेँ । उनले ‘छु’ भनिन । ‘अनि उमेर त १८ वर्ष भन्दा माथि हुनुपर्छ नि’ सोधेँ । उनले ‘२६ वर्षकी भएँ’ भनिन । त्यहाँका मानिसहरू साना देखिए पनि खाँदिला र पाको उमेरका हुँदा रहेछन् ।

करिब ४:३० बजे तिर ‘मन्त्रिले वहाँकै कार्यालयमा बोलाउनु भएको छ’ भन्दै रक्तसञ्चार सेवाको पदाधिकारीले मलाई मन्त्रालयमा लिएर गए । मन्त्रालयमा सानो सेरो मनी कार्यक्रम राखिएको रहेछ । स्वास्थ्य महानिर्देशक डा जोन मससबी, प्रमुख सल्लाहकार डा प्रसाद लगायत सञ्चार क्षेत्रका प्रतिनिधिहरू र अन्य गन्यमान्यहरू उपस्थित रहेको थियो । तीन दिनसम्म चल्ने उक्त रक्तदान कार्यक्रममा पहिलो दिनमै करिब ५ सय जनाले रक्तदान गरेका डा फ्रिदाहले बताएकी थिइन । म आउने समाचारले सायद युवाहरूको राम्रो उपस्थित भएको होला भन्ने मलाई लाग्यो । मन्त्रिले ‘अमेरिका देखी यहाँसम्म आएर रक्तदान बढाउन साझेदारी गर्नु भएकोमा धन्यवाद छ’ भनिन ‘यस्तो अवस्थामा रक्तदानको क्षेत्रमा उल्लेखनीय काम गरेका मैनालीको अनुभवले हाम्रा केन्याली जनताहरूलाई रक्तदान गर्न थप उत्साह मिल्नेमा विश्वस्त भएकी छु,’ भनिन्। मन्त्रिले ‘रक्तदानको तपाईँको योगदानको उच्चतम कदर गर्दछौ भन्दै’ प्रशंसा–पत्रले सम्मान गरेकी थिइन। मेरो रक्तदान उत्प्रेरणा अभियानले अफ्रिकामा धेरै जनालाई रक्तदान गर्न उत्साहित बनाउन म सफल भएको छु जस्तो लागेको छ ।

यसरी १५ घण्टा लगाएर १२ हजार किलो मिटर टाढा गई कोही दुखिको लागि आफ्नो पाखुरामा सुई घुसारी थैला भरी रगत दिनु चान चुने कार्य छँदै थिएन । म केन्याली युवाहरूलाई रक्तदान गर्न हौसला गर्न गएको थिएँ । उल्टै त्यहाँको सरकारले मलाई नै थप हौसला प्रदान गरे । गौरवले मेरो छाती नै फुलेर आयो । धेरै खुसी भएँ । मेरो बुवा जीवित नै भाइ रहनु भएको भए अझ वहाँ कति खुसी हुनुहुन्थ्यो होला !

भोलि पल्ट बिहान पृथ्वीको बिच भाग भूमध्ये रेखामा जाने योजना बनाइ सुतेँ । बिहान ७ बजे डा फ्रिदाहले फोनबाट ‘तपाइको जी बि एस टेलिभिजनमा एक बजे अन्तरवार्ता तय भएको छ’ भनिन । अचकल्टो समयमा कार्यक्रम थपिएकोले घुम्न जान सकिएन । टि भि मा अन्तरवार्ता दिए पछि पाँच बजे रक्त सञ्चार सेवाकी निर्देशकको कार्यालयमा गई पुरै तीन दिनको समीक्षा गर्‍यौ । त्यसपछि ती निर्देशक र त्यहाँकी सर्वाधिक रक्त दाता ऐशाले मलाई एयरपोर्टमा ७ बजे पुर्‍याइ दिनु भयो । हवाईजहाजमा जान बोर्डिङ पास लिएपछि अध्यागमन अधिकारीको टेबलमा बोर्डिङ पास र पासपोर्ट दिएँ । ती अधिकारीले मेरो अनुहार हेर्दै ‘ तपाईँ हिजो बेलुका टेलिभिजन देखिनु हुनुहुने व्यक्ति हो?’ सोधे । मैले ‘हो, म यहाँ रक्तदान नै गर्न न्यु योर्क देखी आएको थिएँ’ भनेँ । उनले मसँग हात मिलाउँदै सेल्फी फोटो खिचे । ‘तपाइबाट म रक्तदान गर्न प्रभावित भएको छु’ ती अधिकारीले भने । यसरी त्यहाँको नागरिकबाट प्रतिक्रिया पाउँदा धेरै खुसी लाग्यो । एयरपोर्ट भित्रका पसलमा बेच्न राखेका समाचार पत्र ‘पिपल डेली’ मा मेरो समाचार देखेँ । एक प्रति लिएर म १०:५५ बजेको हवाई जहाजबाट शुक्रवार बिहान ७ बजे सकुशल न्यु योर्क आइ पुगेँ ।