अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:५७ | Colorodo: 02:12

रक्तदान नै गर्न पटक पटक अफ्रिकामा

अर्जुन मैनाली २०७६ असार ७ गते ७:३७ मा प्रकाशित

बिरामीहरूलाई रगत दिएर बच्चाउनु संसार भरमा एक सामान्य चिकित्सा उपचार हो । यस्तो भएता पनि धेरै बिरामीहरूले समयमा नै रगत नपाएर जीवन गुमाउने गरेका हामीले सुन्दै आएका छौँ । केहीलाई भए पनि मेरो आफ्नै रगत दीइ बचाऊँ, केहीलाई रक्तदान गर्न हौसला प्रदान गरूँ, केहीलाई उत्प्रेरणा गरूँ भन्ने भावनाले पटक पटक अफ्रिकाको मलावी, युगान्डा, इथियोपिया जस्ता देशमा गएर रक्तदान गर्ने गरेको छु । 

अफ्रिकामा अझ बढी सेवा गर्न मैले अफ्रिका सोसाइटी ब्लड ट्रान्सफ्युजन संस्थाको सदस्यता लिएको छु । यस संस्थामार्फत वर्ल्ड ब्लड डोनर्स डे २०१९ रुवान्डामा जुन १४ मा मनाउन लागेको थाहा पाएँ । मैले तुरुन्तै रुवान्डा बायो मेडिकल सेन्टरका पब्लिक हेल्थ डाइरेक्टर जनरल एसोसिएट प्रोफेसर डा जेनिन कोन्डोसँग सम्पर्क गरेँ । उनले मलाई इमेल लेखे, ‘यस वर्ष विश्व स्वास्थ्य सङ्गठनले मनाउन लागेको वर्ल्ड ब्लड डोनर्स डे २०१९ हामीले होस्ट गर्दै छौ, जुन १३ – १४ सम्म हुने उक्त कार्यक्रममा तपाईँले स्वैच्छिक रक्तदान “सबै को लागि सुरक्षित रगत” गर्न को लागि एक उपाय विषयमा बोलिदिनु पर्‍यो।’ मैले तुरुन्तै जवाफ दिँदै, ‘हुन्छ, म आउँछु’ भनेँ । मैले नाइँ भन्ने कुरै नै भएन । यो मेरो लागि ठुलो अवसर पनि थियो ।

न्यु योर्कबाट रुवान्डा जान सिधा हवाईजहाज सेवा भएको भए करिब १० घण्टामा पुग्थेँ होला । त्यस्तो नभएकाले हवाई जहाजले रुवान्डा भन्दा पनि धेरै टाढा कतार लग्यो । त्यहाँबाट अर्क्रो हावाइजहाजले फर्केर रुवान्डा ल्याउँदा २२ घण्टा लाग्यो । थकाइले लखन्तराण भएको थिएँ । त्यहाँका युवाहरूमा रक्तदान गर्न हौसला बढाउन उनीहरूका सामुन्ने नै मैले रगत दिन थकाइको वास्ता नगर्दै ब्लड बैङ्कमा गएर रक्तदान गरेँ । त्यसपछि त्यहाँ उपस्थित करिब एक दर्जन जति युवाहरूमा अफ्रिकामा रगत नै नपाएर धेरै बिरामीहरूले जीवन गुमाउनु पर्दा मलाई करुणा लाग्यो । त्यसैले, मेरो आफ्नै रगतले एक जना बिरामीलाई मात्र भए पनि बच्चाउन र तपाईँ उपस्थित युवाहरूमा पनि कम्तीमा वर्षको एक पटक भए पनि रक्तदान गर्न उत्प्रेरणा गरु भन्ने उद्देश्यले पटक पटक अफ्रिका आउनु परेको हो भनेँ ।

भोलिपल्टको वर्ल्ड ब्लड डोनर्स डे को एकेडेमी सत्रमा प्रमुख अतिथि रुवान्डाका स्वास्थ्य राज्य मन्त्री र १५ देशका ५२ जना सहभागीहरूलाई सम्बोधन गर्दै आफूले रक्तदान र रक्तदान उत्प्रेरणा गरेका विभिन्न कार्यहरू र स्वैच्छिक रक्तदान “सबै को लागि सुरक्षित रगत” गर्न को लागि एक उपाय विषयमा १८ वटा पावर प्वाइन्ट स्ल्याइड मार्फत कुराहरू प्रस्तुत गरेँ । ‘मैले ३२ वर्ष यता १७१ पटक रक्तदान गरी सकेछु । मैले दान गरेको रगतको करिब ८५ हजार मिलिलिटर परिमाण हुन आउँछ । मेरो आफ्नै रगतले मात्रै करिब ५१३ जना सम्मलाई बच्चाउन सहयोग हुन्छ’ भनेको थिएँ । रक्तदान गरौँ भन्ने लाखौँमा सन्देश पुर्‍याएँ, सयौँ रक्तदान कार्यक्रम राखेँ, हजारौँ पोका रगत सङ्कलन गर्न सघाएँ। दिवा भोजको समयमा धेरैले मेरो कामको तारिफ गरे ।

पर्सीपल्टको कार्यक्रममा रुवान्डाका करिब २५० जना रक्तदाताहरु पनि थपिए । त्यही बेलामा आयोजक, केही अतिथि र म पनि बाहिर ढोकासम्म पुगेर प्रमुख अतिथि मन्त्रीलाई स्वागत गर्दै रक्तदान कार्यक्रम चली रहेको ठाउँमा गयौ । मन्त्रीले कार्यक्रम बढो रुचिका साथ अवलोकन गरी रहेका थिए । मैले मन्त्रीलाई ‘हजुर पनि रक्तदान गर्नु हुन्छ कि ?’ सोधेँ । समय धेरै लाग्ने हो कि भन्दै मन्त्रीले रक्तदान गरे । रुवान्डामा बिरामी भएका जनतालाई मन्त्री आफैँले रक्तदान गरेर बच्चाउन प्रयास गरे, त्यहाँका युवाहरूमा रक्तदान गर्न सन्देश गयो भन्ने मलाई लाग्यो ।

दिउसो, कार्यक्रम आयोजकले मलाई टेष्टिमोनि स्पिचको लागि मञ्चमा बोलाए । यो अवसर मेरो लागि अर्को राम्रो अवसर थियो । मैले बोल्ने टिप्पणी हरायकोले बोल्ने क्रममा उत्प्रेरणा गर्न महत्त्व राख्ने मुख्य मुख्य कुराहरू नै छुटे । म पछुताएँ । कार्यक्रमको अन्त्यमा प्रमुख अतिथि मन्त्रीले म लगायत देश विदेशका विभिन्न १५ जनालाई सम्मान गरे । मलाई सम्मान गरिएको प्लेकमा ‘बिरामीहरूको जीवन बच्चाउन तपाईँले उदारतकासाथ रगत दान गर्नु भएकोमा स्वास्थ्य मन्त्रालय तपाईँलाई पुरस्कृत गर्न पाउँदा खुसी छ’ लेखिएको थियो ।

यसरी दुईदिनको समयमा अफ्रिकाका युवाहरूमा रक्तदान गरी रहन जुरुक्क जुरुक्क गराएँ । मेरो कृयाकलापलाई स्थानीय टेलिभिजन, समाचार पत्रहरूले महत्त्व दिएका थिए ।

आफ्ना यी कार्यहरूलाई सोसिएल मिडिया, फेसबुकमा राखेँ । करिब तीन हजार दुइसय जनाले हेरेछन् । २६० जनाले मनपराउनुको साथै ३० जनाले साझेदारी गरेछन् । त्यसमद्धे केही ले ‘राम्रो काम, प्रेरणात्मक, कस्तो सपर्पण,मानवताको प्रत्यक्ष उदाहरण, असली नायक’ जस्ता कुराले टिप्पणी गरेछन् । अझ मैले काम गर्ने कम्पनीका प्रमुखले ‘अर्जुनले मिसन पुरा गर्न अद्भुत र अर्को अविश्वसनीय यात्रा गरेका छन्’ लेखेका थिए ।

अफ्रिकाका धेरै देशहरूमा राष्ट्रिय रक्त सञ्चार सेवाहरूले बिरामीहरूको लागि चाहिए जति रगत सङ्कलन गर्न सकेका छैनन् । यस्तो अवस्थामा मेरो उपस्थिति तथा रक्तदान उत्प्रेरणाका प्रयासले थोरै भए पनि रक्त दाता बढ्न सके भने म आफूलाई धन्य सम्झिने छु ।