अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:२२ | Colorodo: 21:37

संसदमा तनाव, कांग्रेसद्वारा बैठक अवरुद्ध

बिआरटीनेपाल २०७६ भदौ ३० गते ७:३६ मा प्रकाशित

बाँकेको खजुरामा गएको बिहीबार भएको घटनाको विषयलाई लिएर सोमबार संसदमा सत्तापक्ष र प्रतिपक्ष दलबीच तनाव सिर्जना भएको छ । तनावपछि सभामुख कृष्णबहादुर महराले प्रतिनिधिसभाको बैठक आउँदो असोज १ गते दिउँसो १ बजेसम्मका लागि स्थगित गर्नुभएको छ ।

बैठकको सुरुमै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसालले खजुरामा यही भदौ २६ गते भएको घटनामा संलग्नमाथि कारबाहीका लागि दिएको जाहेरी दर्ता भएकाले सदन सुचारु गर्न तयार रहेको बताउनुभएको थियो । तर, सचेतक भुसाल बोलेलगत्तै सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद नन्दलाल रोकायाले घटनालाई लिएर कसैमाथि कारबाही भए त्यो सह्य नहुने चेतावनी दिनुभयो । रोकायाको सो चेतावनीसँगै कांग्रेस सांसदहरु आक्रोशित हुँदै ‘बेल’ घेराउ गर्न उत्रिएका थिए ।

प्रतिपक्ष दलका सांसदहरुले लगातार आधा घन्टा नाराबाजी जारी राखेपछि सभामुख महराले बैठक स्थगित गर्नुभयो । बाँकेको घटनालाई लिएर कांग्रेसले आइतबार बसेको प्रतिनिधिसभाका दुईओटा बैठक पनि अवरुद्ध गरेको थियो ।

भदौ २६ गते कांग्रेसको दोस्रो चरणको राष्ट्रिय जागरण अभियानअन्तर्गत् बाँकेको खजुरामा भएको कार्यक्रममा सत्तारुढ दल नेकपाका कार्यकर्ताहरुले आक्रमण गरेपछि कांग्रेसका बाँके जिल्ला सभापति किरण कोइरालासहित केही घाइते भएका थिए । घटनामा संलग्न तीनजनालाई प्रहरीले पक्राउ गरिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू