अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:०६ | Colorodo: 01:21

तीव्र विकास नभए जनतामा निराशाः प्रचण्ड

बिआरटीनेपाल २०७६ भदौ १८ गते ८:१३ मा प्रकाशित

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनतामा निराशा बढिरहेको बताउनुभएको छ ।बुधबार भरतपुर महानगरपालिकाले गरेको ‘भरतपुर विमानस्थल विस्तार एवम् सुधार’ सम्बन्धमा सरोकारवाला बीचको अन्तरक्रिया कार्यक्रममा अध्यक्ष प्रचण्डले यस्तो बताउनुभएको हो ।

निराशाले गर्दा जनतामा बेचैन बढेर जाने खतरा छ, प्रचण्डले भन्नुभयो, ‘जनतालाई निराश हुन नदिन तीव्ररुपमा विकास गर्न सकिएन भने जनतामा बेचैन बढेर जाने खतरा छ, त्यसले छिटो काम गरेर नेपाल विकासको युगमा गयो भन्ने सन्देश दिन जरुरी छ ।’देशले फेरि अराजकता र अन्योलता थेग्न नसक्ने भन्दै अध्यक्ष प्रचण्डले हरेक क्षेत्रमा एक्सनका साथ काम गर्दै देशमै रोजगारी सिर्जना गर्नुपर्ने बताउनुभयो ।

उहाँले चितवनलाई नयाँ मोडेलको रुपमा विकास गर्न खोजेको भन्दै केही तत्वहरु जनतालाई भ्रम पार्न र विकासको विरोधमा लागि परेको उल्लेख गर्नुभयो ।नवलपरासी, मकवानपुर, तनहुँ, गोरखा र धादिङको केन्द्र पनि भरतपुर नै रहेकाले यहाँ रहेको विमानस्थललाई काठमाण्डौमा रहेको विमानस्थलको वैकल्पिक विमानस्थलको रुपमा विकास गर्नुपर्ने उहाँको भनाई थियो ।

चितवनकै मेघौली विमानस्थललाई वैकल्पिक रुपमा राखेर पूर्वाधार विकास गर्दै लैजानुपर्ने प्रचण्डको धारणा थियो ।भरतपुर विमास्थल विस्तारका लागि एकहप्ता भित्र रक्षा मन्त्री, प्रधानसेनापति र पर्यटनमन्त्री सहितको बैठकका लागि पहल गर्ने प्रचण्डको भनाई रहेको छ । यसअघि भरतपुरमा विमानस्थल विस्तारका लागि सर्वपक्षीय छलफल भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू