अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:३० | Colorodo: 13:45

हङकङका हजारौं विद्यार्थीले गरे कक्षा बहिष्कार, आन्दोलनलाई साथ दिने

बिआरटीनेपाल २०७६ भदौ १६ गते ५:५८ मा प्रकाशित

हङकङ विश्वविद्यालय तथा विद्यालयका हजारौं विद्यार्थीहरुले प्रजातान्त्रिक प्रदर्शनमा सहभागी हुन सोमबार कक्षा छोडेका छन् । हङकङ आन्दोलनको १३ औं सातामा सरकार विरोधी प्रदर्शनमा सहभागी हुन हजारौं विद्यार्थीले कक्षा छोडेर भागेको यो पहिलो पटक हो ।

यस आन्दोलनलाई एक दशककै सबैभन्दा ठूलो राजनीति संकट भनिएको छ । पछिल्ला केही हप्तामा प्रदर्शनमा प्रहरी हस्तक्षेप बढेपछि प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो भने सयौं प्रदर्शनकारीहरु घाइते भएका थिए । केहीलाई प्रहरीले नियन्त्रणमा लिएर यौन दुर्व्यवहार गरेकोसमेत आरोप लागेको छ ।

शनिबार राति भएको आन्दोलनमा प्रहरीले पानीको फोहोरासँगै अश्रु ग्यास प्रहार गरेपछि प्रदर्शनकारीले समेत पेट्रोल बम प्रहार गरेका थिए । पछिल्ला केही हिंसात्मक गतिविधि भएको हङकङ विमानस्थलको सडकखण्डमा सोमबार दंगा प्रहरीले गस्ती गरिरहेको छ ।

हङकङस्थित चाइनिज विश्वविद्यालयबाहिर जम्मा भएका सयौं विद्यार्थीहरुले हङकङमा भइरहेको प्रदर्शनमा आफ्नो समर्थन भएको बताएका थिए । हङकङ सरकारका मुख्य सचिव सञ्चारकर्मीसँग कुरा गर्दै विद्यालयमा आन्दोलन गर्ने क्षेत्र नभएको बताएका छन् । सन् २०१४ को अर्मेला मुभमेन्टपछि यति ठूलो संख्यामा विद्यार्थीको उल्लेख्य उपस्थिति भएको बताइएको छ ।
विमानस्थल अधिकारीका अनुसार आइतबार २५ उडानहरु रद्द गरिएका थिए भने यातायात सेवा भने सामान्य अवस्थामा आएको छ । चिनियाँ सञ्चारमाध्यमका अधिकांश सम्पादकीयले आन्दोलनको निन्दा गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू