अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:५० | Colorodo: 21:05

दिनहुँ प्रदर्शन बढ्न थालेपछि चितवनमा निषेधित क्षेत्र घोषणा

बिआरटीनेपाल २०७६ भदौ २ गते ९:४३ मा प्रकाशित

चितवनमा निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले चौबिसकोठीदेखि मालपोतचोकसम्म निषेधित क्षेत्र घोषणा गरेको हो । शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा पक्राउ परेका टेलिभिजन प्रस्तोता रवि लामिछानेसहित तीन जनालाई रिहाईको माग गर्दै दिनहुँ प्रर्दशन बढ्न थालेपछि प्रशासनले यस्तो घोषणा गरेको हो ।

चौबिसकोठीदेखि मालपोत चोकसम्म अस्पताल, अदालत, प्रहरी कार्यालयलगायतका कार्यालयहरु रहेकाले सुरक्षा संवेदनशीलताको कारण निषेधित क्षेत्र घोषणा गरिएको प्रहरीले जनाएको छ । निषेधित क्षेत्रमा प्रदर्शन तथा समुह बनाएर बस्न समेत नपाइने प्रहरीले जनाएको छ । चितवनका प्रहरी प्रमुख दानबहादुर मल्लले आजदेखि जिल्लाको सुरक्षा व्यवस्था थप कडा बनाइएको समेत जानकारी दिए । यसैबीच, चितवनका राजनीतिक दलहरूले पत्रकार शालिकराम पुडासैनी हत्या प्रकरणबारे निष्पक्ष छानबिन गर्न प्रशासनलाई सहयोग गर्ने सहमति गरेका छन् ।

दलहरूले घटनाबारे निष्पक्ष छानविनका लागि प्रहरीलाई सहयोग गर्न र शान्तिपूर्ण प्रर्दशन गर्न सर्वसाधारणलाई आग्रह गरेका छन् । पत्रकार पुडासैनी गत साउन २० गते चितवनको नारायणगढ, बसपार्कमा रहेको कंगारु होटलमा झुण्डिएको अवस्थामा भेटिएका थिए । उनको मृत्यु रहस्मय भएकाले यसबारे निष्पक्ष छानबिन हुनुपर्ने माग उठ्दै आइरहेको छ ।यसबारे पछिल्लो समय जिल्ला प्रहरी कार्यालय, चितवनसँगै केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईवी)ले अनुसन्धान गरिरहेको छ ।

पत्रकार पुडासैनीको मोबाइलमा रहेको भिडियोका आधारमा टेलिभिजन प्रस्तोता लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीलाई काठमाडौंबाट पक्राउ गरि चितवन लगिएको थियो ।लामिछानेसहितका तीन जनामाथि जिल्ला प्रहरी कार्यालय, चितवनले साउन ३१ गते जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान गरिरहेको हो । अनुसन्धान नसकिएकाले प्रहरीले भोलि पुनः म्याद थपका लागि उनीहरुलाई अदालतमा उपस्थिति गराउने तयारी गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू