अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:५७ | Colorodo: 08:12

कांग्रेस केन्द्रीय समिति बैठक – तनहुँमा गोविन्दराज जोशीले बनाएको समानान्तर समिति खारेज, जोशी कारवाहीमा !

बिआरटीनेपाल २०७६ साउन २९ गते ९:४२ मा प्रकाशित

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको बुधवार बसेको केन्द्रीय समिति बैठकले तनहुँमा पूर्व सहमहामन्त्री गोविन्दराज जोशीद्वारा गठित समानान्तर समितिलाई खारेज गरिदिएको छ । बैठकले तनहुँमा बैकुण्ठनाथ न्यौपाने सभापति र जितप्रकाश आले कार्यवाहक सभापति रहेका जिल्ला कार्यसमिति र सो मातहतका कार्यसमिति मात्र नेपाली कांग्रेसको आधिकारिक र वैधानिक कार्यसमितिहरु रहेको स्पष्ट पारेको छ ।

’नेपाली कांग्रेसको आधिकारिक कार्यसमितिबाहेक अन्य कुनै पनि सदस्यले आफूखुसी कार्यसमिति गठन गर्न सक्दैन,’ बैठकमा सहभागी एक केन्द्रीय सदस्यले भनेका छन्, “तनहुँमा रहेको अनाधिकृत कार्यसमितिलाई पार्टीले वैधता दिन नसक्ने र त्यस्तो कार्यसमिति बनाउनेहरू अनुशासनको कारवाहीमा पर्ने निर्णय भएको छ” ।

साथै बैठकले कांग्रेसका पार्टी सदस्यहरू यस्तो भ्रममा नपर्न आग्रह पनि गरेको छ । तनहुँ जिल्लामा देखिएको यस किसिमको अवैधानिक र पार्टी अनुशासनको गम्भीर उल्लघंनको गतिविधिमा संलग्न पार्टीका सदस्य उपर पार्टीको विधान र नियमावली अनुसार आवश्यक निर्णय गर्नका लागि केन्द्रमा प्राप्त उजुरी सहितको फायल र सबै कागजात केन्द्रीय अनुशासन समितिमा पठाउने निर्णय गरिएको हो ।

बैठकमा केन्द्रीय अनुशासन समितिका संयोजक भीष्मराज आङ्दम्बेले समितिको हालसम्मको कार्यप्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । बैठकमा महामन्त्री पूर्णबहादुर खड्का, केन्द्रीय सदस्यहरू भीष्मराज आङदाम्बे, कमला पन्त र रमेश लेखकले आफ्नो आफ्नो धारणा राख्नुभएको थियो । बैठक भदौ ११ गतेसम्मका लागि स्थगित भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू