अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५९ | Colorodo: 20:14

युएस बंगला विमान दुर्घटनाका मृतक पीडितको परिवारद्वारा २ अर्ब क्षतिपूर्ति दावीसहित मुद्दा दायर

बिआरटीनेपाल २०७६ साउन १८ गते ९:४७ मा प्रकाशित

युएस–बंगला एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएका ७ यात्रुका पीडित परिवारले २ अर्ब क्षतिपुर्तिसहित मुद्धा दायर गरेका छन् । सन् २०१८ को मार्च १२ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको विमान दुर्घटनामा ज्यान गुमाएका ७ जना एमबीबीएस विद्यार्थीहरुमा आश्रित पीडित आमाबाबुले वायुसेवा सञ्चालक कम्पनी एयर करिअर का विरुद्ध २ अर्ब १० करोड रुपैंया (१९ मिलियन ९० हजार अमेरिकी डलर) भन्दा बढी क्षतिपूर्ति रकम दावी गरी मुद्दा दायर गरेका छन् ।

दुर्घटनामा मृत्यु भएकी एन्जिला श्रेष्ठ, आसना शाक्य, मिली महर्जन, निगा महर्जन, प्रिन्सी धामी, सञ्जय महर्जन र श्रेया झाका आमाबुबाले मुद्दा दायर गरेका हुन् । दुर्घटना भएको १६ महिना भइसक्दासमेत कम्पनीको तर्फबाट अन्तर्राष्ट्रिय कानून बमोजिम माग दावी गरिएको क्षतिपूर्ति प्रदान गर्न अस्वीकार गरिएपछि बाध्य भई पीडितहरुले न्यायलयमा मुद्दा दायर गरेको जनाएका छन् ।

युएस बंगला वायुसेवा संचालक को दायित्वसम्बन्धी अन्तर्राष्ट्रिय कानून बमोजिम क्षतिपूर्ति प्राप्तिका लागि नेपाल पक्ष रहेको Montreal Convention 1999, Warsaw Convention 1929 / Hague Protocol 1955  एवं दुष्कृति कानूनबमोजिम Wrongful Deathबापत निर्धारित क्षतिपूर्ति रकम एकमुष्ठ दिलाउने भराउने सम्बन्धी मुद्दा पीडितहरुको तर्फबाट काठमाडौं जिल्ला अदालतमा मुद्धा दायर गरिएको पीडितहरुका प्रमुख कानूनी सल्लाहाकार अधिवक्ता अमृत खरेलले जानकारी दिनुभयो ।

दुर्घटनाको सम्बन्धमा जाँचबुझ गर्नका लागि नेपाल सरकारले पूर्व सचिव यज्ञप्रसाद गौतमको संयोजकत्वमा गठन गरेको दुर्घटना जाँच आयोगकोे उक्त विमान हवाई उडानका लागि खटिएका कम्पनीको प्रतिनिधि र सेवकको रुपमा कार्यरत प्रमुख चालकको गम्भीर हेलचक्रयाइँ, असावधानी, गल्ती र चरम लापरवाहीका कारण भएको हो भन्ने तथ्यका आधारमा पीडितहरुले क्षतिपूर्ति रकमको विशेषज्ञ मूल्यांकन गराई दावी गरेको बुझिएको छ ।

मुद्धामा निर्धारित क्षतिपूर्ति रकमका अतिरिक्त मन्ट्रियल महासन्धिको धारा २१ अनुच्छेद १ बमोजिमको १ लाख १३ हजार स्पेशल ड्रइङ राइट्सले हुन आउने रकम र मन्ट्रियल महासन्धिको धारा २२ को अनुच्छेद ६ बमोजिम मुद्दामा लाग्ने अदालती शुल्क एवम् मुद्दा मामिला गर्दा लाग्ने खर्च र त्यसमा लाग्ने ब्याज समेत थप गरी एकमुष्ठ रकम वायुयान धनी/सञ्चालक युएस–बंगला एयरलाइन्स लिमिटेडबाट दिलाउन माग गरिएको छ ।

मन्ट्रियल महासन्धिको धारा २१ को अनुच्छेद २ र वार्सा महासन्धिको धारा २५ को व्यवस्था अनुसार वायुयानको हेलचेक्याइँबाट भएको दुर्घटनामा वायुयान सञ्चालकले असीमित दायित्व वहन गर्नुपर्ने व्यवस्था रहेको छ । मन्ट्रियल महासन्धिको उक्त व्यवस्थाको आधारमा नेपालमा अन्तर्राष्ट्रिय वायुयान धनीका विरुद्धमा मुद्दा दायर भएको यो पहिलो पटक हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू