अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:५१ | Colorodo: 17:06

“हेग लगे विश्वकै हिरो हुन्छु, संसारले चिन्छन्”– प्रचण्ड

बिआरटीनेपाल २०७६ साउन १३ गते ९:२३ मा प्रकाशित

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले आफूलाई अन्तर्राष्ट्रिय अदालत हेग लगिए पनि केही फरक नपर्ने बताउनुभएको छ । सोमबार आफ्नै निवासमा नेत्रविक्रम चन्द समूहका कार्यकर्तालाई पार्टी प्रवेश गराउँदै अध्यक्ष प्रचण्डले आफूहरुलाई हेग लैजाने र एक दिन भए पनि जेल हाल्ने भनेर गरिएको प्रचार डिजाइनअन्तर्गत भएको जिकिर गर्नुभयो । आफूलाई हेग लगेर विश्वकै हिरो बनाउलान् भन्ने चाहिँ नलागेको उहाको टिप्पणी थियो ।

परिवर्तन नचाहने तत्वहरु त्यसमा लागेको उल्लेख गर्दै प्रचण्डले आफुलाई हेग लगेर पनि केही फरक नपर्ने दोहोर्याउनुभयो । आफुलाई त्यहाँ लगे भने विश्वकै हिरो भएर निस्किने दावी गर्दै प्रचण्डले संसारले पुनः आफुलाई एकैपटक चिन्ने बताउनुभयो । संसारभरिका जनताले प्रचण्ड शान्ति र न्यायको पक्षमा रहेछ भन्ने ठाउँ रहने र त्यो आफ्नो लागि गर्वको कुरा हुने उहाको भनाई थियो । शान्ति प्रक्रियामा नआएको भए आफूहरु श्रीलंकाली विद्रोही लिट्टे झै बन्ने खतरा रहेको स्मरण गर्दै उहाँले नेपालमा आएको परिवर्तन अफुहरुले नै ल्याएको जिकिर गर्नुभयो ।

प्राप्त उपलब्धिलाई टेकर अगाडि बढ्न शान्ति प्रक्रियामा आएको प्रष्ट्याउँदै अध्यक्ष प्रचण्डले शान्ति प्रक्रियामा नआए नेत्रविक्रम चन्द समूह सकिने चेतावनी दिनुभयो । क्रान्ति दुई/चार जनाले गरेर हुने चिज नभएको प्रष्ट पार्दै प्रचण्डले ‘जनताबिना क्रान्ति नहुने ठोकुवा गर्नुभयो । संघीय लोकतान्त्रिक गणतन्त्र उल्ट्याउन पाए हुन्थ्यो भन्नेमा केही प्रतिक्रियावादी रहेको भन्दै उहाँले त्यसका लागि नेताहरुलाई बदनाम गर्न थालिएको आरोप पनि लगाउनुभयो ।

पछिल्लो समय खासगरी माओवादीको पूर्वबालसेनाका संयोजक लेनिन विष्टको युरोप यात्रा र त्यसपछि आएका खबरको प्रतिक्रियास्वरुप प्रचण्डको यो भनाई बाहिर आएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू