अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:०८ | Colorodo: 17:23

छोराछोरीले बाबुआमाको सम्पत्ति दाबी गर्न नपाउने

बिआरटीनेपाल २०७६ साउन ९ गते ९:५१ मा प्रकाशित

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद देवेन्द्रराज कँडेलले ज्येष्ठ नागरिकले आफूले चाहेको व्यक्ति वा संस्थालाई सम्पत्ति दिन पाउने कानुनी व्यवस्था गर्नुपर्ने प्रस्ताव अघि सार्नुभएको छ । कांग्रेस सांसद कँडेलले ज्येष्ठ नागरिकको सम्पत्तिमाथि सन्तानले हक दावी गर्ने कानुनी व्यवस्था पनि खारेज गर्नुपर्ने माग पनि गर्नुभयो ।

बिहीबार संघीय संसदको महिला तथा सामाजिक समितिको बैठकमा ‘ज्येष्ठ नागरिकसम्बन्धि विधेयक’ माथिको दफावार छलफलमा भाग लिँदै उहाँले आफ्नो खुट्टामा उभिने बनाउन पनि ज्येष्ठ नागरिकको सम्पत्तिमा सन्तानले हक दावी गर्न पाउने कानुनी व्यवस्था खारेज गर्न उपयुक्त हुने तर्क गनुृभएको हो । सांसद कँडेलले युरोपतिर पनि ज्येष्ठ नागरिकको सम्पत्तिमाथि उसको सन्तानले हक दावी गर्ने कानुनी व्यवस्था नरहेको पनि स्मरण गराउनुभयो ।

नेपाली कांग्रेसका अर्का सांसद दिव्यमणि राजभण्डारीले पैतृक सम्पत्तिमा आफ्ना सन्तानले हक दावी गर्न पाउनुपर्ने बताउनुभयो । उहाँले ज्येष्ठ नागरिकले आफूले आर्जन गरेको सम्पत्ति भने आफूलाई चाहेको व्यक्ति वा संस्थालाई दिन उपयुक्त हुने पनि ठहर गर्नुभयो । सत्तारुढ नेकपाकी सांसद वृन्दा पाण्डेले असामान्य अवस्थामा रहेका ज्येष्ठ नागरिकको पालनपोषण गर्नेलाई सम्बन्धित स्थानीय तहको सहमतिमा उनको सम्पत्ति दिन सकिने कानुनी व्यवस्था गर्न उपयुक्त हुने तर्क गर्नुभयो ।

विधेयकमा ज्येष्ठ नागरिकलाई कम्तिमा ६ महिना पालनपोषण गर्नेले उनको सम्पत्तिमाथि हक दावी गर्न पाउनेपर्ने प्रस्ताव गरिएको छ । त्यसमा सांसद पाण्डेको पनि असहमति छ । उहाँले आफ्नो सम्पत्ति दिने विषयमा ज्येष्ठ नागरिककै स्वविवेकीय अधिकार हुनुपर्ने कानुनी व्यवस्था गर्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू