अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:२८ | Colorodo: 15:43

प्रमुख प्रतिपक्ष नेपाली काङ्ग्रेसद्वारा संसद्मा जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेस

बिआरटीनेपाल २०७६ साउन ८ गते ९:५१ मा प्रकाशित

प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसले संघीय संसद् प्रतिनीधिसभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश गरेको छ । केही दिनदेखि मुलुकका विभिन्न भागमा भएको अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानबाट भएको जनधनको क्षति तथा भइरहेको खोज, उद्धार र राहतका कार्यक्रममा सरकारलाई सदनबाट निर्देशन होस् भनी जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश गरिएको हो ।

प्रतिनिधिसभाको बुधबारको बैठकको प्रारम्भमै काँग्रेसका डा. मीनेन्द्रप्रसाद रिजालले अप्ठेरो परेको बेलामा सबै राजनीतिक दल एक ठाउँमा उभिन्छन् भन्ने उदाहरण प्रस्तुत गर्नका लागि सो प्रस्ताव प्रस्तुत गरिएको जानकारी दिनुभयो । प्रस्तावमा अविरल वर्षा र यसका कारण आएको बाढी, पहिरो र डुबानका कारण देशभर एक सयभन्दा बढी नागरिकले ज्यान गुमाउनु परेको, कतिपय नागरिक बेपत्ता तथा घाइते भएको, केही राजमार्ग र विद्युतसेवा अवरुद्ध भएको र अर्बौं मूल्य बराबरको धनमालको क्षति भएकाले सरकारद्वारा सञ्चालित उद्धार तथा राहत कार्यको प्रगति तथा प्रभावित क्षेत्रको विद्यमान अवस्थाबारे प्रतिनिधिसभामा जानकारी दिन माग गरिएको छ ।

प्रस्तावमा तीनै तहका सरकारद्वारा सञ्चालित उद्वार, राहत र त्यसपछिको पुनस्र्थापनाको एकीकृत कार्यक्रम प्रभावकारी तथा निष्पक्ष तवरले सञ्चालन गर्न नेपाल सरकारलाई नीतिगत निर्देशन दिन आवश्यक भएको उल्लेख गरिएको छ । कांग्रेसका नेत्री पुष्पा भुसालले जनताको बाँच्न पाउने र स्वास्थ्य सेवा लिन पाउनेजस्ता आधारभूत अधिकारका साथै विभिन्न राहत र उद्धारसँग जोडिएको कार्यक्रम जनतामा पुर्याउन सबै राजनीतिक दल एक ठाउँमा रहेर काम गर्नका लागि सदनबाट निर्देशन होस् भनेर प्रस्ताव आएकोमा समर्थन गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू