अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०५ | Colorodo: 20:20

लमजुङको दोर्दीखोलामा अचानक बाढी, कम्तीमा ४ जनाको मृत्यु, १५ जना भन्दा बढी बेपत्ता, जलविद्युत आयोजनामा क्षति

बिआरटीनेपाल २०७६ साउन ८ गते ९:४७ मा प्रकाशित

लमजुङको दोर्दीखोलामा बुधबार दिउँसो अचानक बाढी आउँदा कम्तीमा ४ जनाको ज्यान गएको छ भने १५ जना भन्दा बढी वेपत्ता भएका छन् । बाढीले बगाउँदा ४ जनाको मृत्यु भएको हो । बाढीले ठुलो जनधनको क्षति पुगेको अनुमान गरिएको छ ।

मनास्लु हिमाल काखबाट बगेको दोर्दीमा मुहान वरपर पहिरो गएका कारण बाढी आएको स्थानीय वासिन्दाले बताएका छन् । दोर्दी गाउँपालिका वडा नम्बर–६, ताँजेमा रहेको ५४ मेगावाट क्षमताको सुप्पर दोर्दी जलविद्युत् आयोजनाको टनेलमा बाढी पस्दा आयोजनामा क्षति पुगेको छ ।

टनेलभित्र बाढी पसेपछि फसेका १७ मजदुरमध्ये १४ जनाको सकुशल उद्धार गरिएको आयोजनाका प्रवद्र्धक केशव रायमाझीले जानकारी दिनुभयो । उहाका अनुसार हराइरहेका अन्य मजदुरको खोजी भइरहेको छ । बाढीले आयोजनाको दुईओटा लोडर, दुईओटा ट्याक्टर, दुईओटा कम्प्रेसर, एउटा जेनेटरलगायतका सामग्री समेत बगाएको छ ।

बाढीमा परी लिबर्टी इनर्जी पावर कम्पनीद्वारा प्रवद्र्धित दोर्दी जलविद्युत् आयोजनामा कार्यरत् मजदुरहरु पनि हराइरहेका छन् । आयोजनाका प्रवर्द्धक राजेन्द्र वस्तीले आफ्नो जलविद्युत् आयोजनामा कतिजना मजदुर हराएका छन् भन्ने एकिन जानकारी नै पाउन नसकेको बताउनुभयो ।

बाढीले अरु धेरै जनधनको क्षति पुगेको स्थानीयले बताएका छन् । बाढीले वितन्डा मच्चाएपछि सदरमुकामबाट प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराई, डीएसपी रविन्द्रमान गुरुङ, प्रहरी निरीक्षक वसन्त पाण्डेसहितको टोली घटनास्थल पुगेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू