अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:४७ | Colorodo: 21:02

पार्टी एकताका बाँकी सबै काम आजै टुंगो लाग्ने – अध्यक्ष प्रचण्ड

बिआरटीनेपाल २०७६ असार ३१ गते ९:४२ मा प्रकाशित

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकताका बाँकी सबै काम मंगलबार टुंगो लगाउने दावी गर्नुभएको छ । अध्यक्ष प्रचण्डले असार मसान्तसम्म दुई पार्टीबीचको एकताको सबै काम सम्पन्न गर्ने सार्वजनिक घोषणा अनुसार नै पार्टीका अर्का अध्यक्ष केपी शर्मा ओली र आफूबीच छलफल जारी रहेको र सबै काम आजै टुंगो लगाउने तयारी गरिएको बताउनुभयो ।

मंगलबार पार्टीको ललितपुर जिल्ला कमिटीको प्रथम पूर्ण बैठकमा बोल्दै उहाँले दुई अध्यक्षबीच पार्टीको केन्द्रिय सदस्यहरुको कार्य विभाजन, ज्येष्ठ नागरिक मंच, सल्लाहकार कमिटी, विभाग, आयोग गठनबारे सहमति भईसकेको पनि जानकारी दिनुभयो । प्रधानमन्त्री एवम् अर्का अध्यक्ष ओली र आफूबीच भएको सो सहमतिलाई पार्टीको सचिवालय र स्थायी समिति बैठकबाट अनुमोदन गराएर टुंगो लगाउने अध्यक्ष प्रचण्डको भनाई थियो ।

उहाँले पार्टी एकताको सबै कामले पूर्णता पाउने वित्तिकै पार्टी केन्द्रिय कार्य समितिको बैठक बोलाएर जनता र पार्टी संगठनहरुलाई सुदृढ बनाउने गरी राष्ट्रिय अभियान संचालन गर्ने घोषणा पनि गर्नुभयो । अध्यक्ष प्रचण्डले दुई पार्टीबीचको एकतालाई असफल बनाउन अझै पनि प्रतिक्रियावादीहरुले षडयन्त्र गरिरहेको उल्लेख गर्दै सचेत रहन पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिनुभयो । सो अवसरमा उहाँले जनताले विश्वास गरेर दुई तिहाई प्राप्त गरेको पार्टी र सरकार दुवैले जनताको चाहाना अनुसार काम गर्नुपर्ने चुनौति रहेको दोहोर्याउनुभयो ।

ठूलो त्याग, संघर्ष र बलिदानको जगमा निर्माण भएको दुई पार्टीबीचको एकतालाई असफल बनाउने देशी, विदेशी प्रतिक्रियावादीहरुको चाहनालाई परास्त गर्न सफल भएकोमा आफूलाई गर्व लागेको प्रचण्डको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू