अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:१९ | Colorodo: 12:34

सशस्त्रका चार पूर्वआइजिपीलाई बिशेष अदालतद्धारा भ्रष्टाचार मुद्दामा सफाइ

बिआरटीनेपाल २०७६ असार १६ गते १०:०१ मा प्रकाशित

विशेष अदालतले सशस्त्र प्रहरीका चार पूर्व प्रमुखलाई भ्रष्टाचार मुद्दाबाट सफाइ दिएको छ। न्यायायधीश बाबुराम रेग्मी, द्वारीकामान जोशी र प्रमोदकुमार श्रेष्ठ बैद्यको इजलासले सोमबार चारैजनालाई सफाइ दिएको हो।

सफाइ पाउनेहरुमा पूर्व आइजिपीहरु कोषराज वन्त, शैलेन्द्र कुमार श्रेष्ठ, वसुदेव वली र सनतकुमार बस्नेत छन्।अख्तियारले उनीहरूविरूद्ध २०७२ सालमा भ्रष्टाचार मुद्दा चलाएको थियो। उनीहरूले आफ्नो कार्यकालमा सामान ढुवानी नै नगरी ढुवानी गरेको भनी झुठ्ठा बिल भरपाई पेश गरी भ्रष्टाचार गरेको भन्दै अख्तियारले मुद्दा चलाएको थियो।

अख्तियारले ०७२ माघ १८ गते सशस्त्र प्रहरीका बहालवाला महानिरीक्षक कोषराज वन्तविरुद्ध ६ करोड ७९ लाख ४१ हजार रुपैयाँ भ्रष्टाचार गरेको अभियोगसहित विशेष अदालतमा मुद्दा दायर गरेको थियो। उनीसँगै भ्रष्टाचारको अभियोग लागेका अन्य ८ प्रहरी अधिकारीले पनि सफाइ पाएका छन्।

२०६३ वैशाख देखि ०६५ चैत सम्म सशस्त्रको आइजीपि भएका वसुदेव वलीले संगठनमै नभएका कर्मचारीको नाममा सामान खरिद गरी ढुवानी गरेको अख्तियारको आरोप थियो। उनले त्यसरी १ करोड १४ लाख ५४ हजार भ्रष्टाचार गरेको अख्तियारको दाबी थियो। उनीसहित ३ जना अन्य प्रहरीलाई २०७२ माघ २९ गते अख्तियारले विशेषमा मुद्दा चलाएको थियो। उनीहरू सबैले सफाइ पाएको विशेष अदालतले जनाएको छ।

त्यस्तै सनत कुमार बस्नेतले नक्कली बिल बनाएर ढुवानी गरेरै ९ करोड १५ लाख भ्रष्टाचार गरेको अख्तियारको आरोप थियो। उनीसहित ७ जनालाई ०७२ फागुन १७ गते अख्तियारले मुद्दा चलाएको थियो। पूर्वआइजीपी शैलेन्द्र श्रेष्ठसहित चार जनालाई भने अख्तियारले ८० लाखको भ्रष्टाचार मुद्दा लगाएको थियो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू