अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०१ | Colorodo: 20:16

अर्थमन्त्रीले डराएर बजेट ल्याएको डा. बाबुराम भट्टराईको टिप्पणी

बिआरटीनेपाल २०७६ असार ६ गते ०:३७ मा प्रकाशित

समाजवादी पार्टी, नेपालका संघीय परिषद अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आर्थिक वर्ष २०७६/७७ को बजेट नयाँ नभएको बताउनुभएको छ । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बजेटमाथि धारणा राख्दै भट्टराईले अर्थमन्त्री डा. युवराज खतिवडाले ’डराएर’ बजेट ल्याएको टिप्प्णी गर्नुभयो ।

वर्तमान बजेट संक्रमणकालिन अवस्थाको जस्तो आउन नहुने थियो तर अहिले पनि त्यस्तै पाराको बजेट आएको भट्टराईको भनाइ थियो। उनले भने, ’विगतको भन्दा पछाडि हटेर बजेट आएको जस्तो लाग्यो।’ अहिलेको बजेट आयातमुखी अर्थतन्त्रलाई निर्यातमुखी बनाउने र विकास खर्च पनि बढाएर ल्याएको भए अर्थतन्त्रमा सही किसिमले प्रभाव पार्ने थियो भन्ने भट्टराईको भनाइ थियो। बजेटको संरचनामा कुनै पनि परिवर्तन नआएको उहाँले बताउनुभयो । आर्थिक वृद्धिदर ७ प्रतिशत गर्ने लक्ष्य लिनु राम्रो भए पनि तथ्यांक नै सबै कुरा नभएको भट्टराईको भनाइ थियो।

सम्बोधनका क्रममा डा. भट्टराईले संविधान संशोधन गर्ने र मधेस तथा थारु आन्दोलनको छानबिन गर्नका लागि गठित सर्वोच्च अदालतका न्यायाधीश गिरिशचन्द्र लाल नेतृत्वको समितिको प्रतिवेदन सार्वजनिक गर्न माग समेत गर्नुभयो । बजेट संघीयताअनुरुप नभएको उहाँको टिप्पणी थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू