अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:४२ | Colorodo: 21:57

ज्ञानेन्द्र शाहीलाई यातना नदिईएको प्रहरीको दावी

बिआरटीनेपाल २०७६ जेठ २० गते ९:३८ मा प्रकाशित

एक भिडियो अन्तर्वार्ताका क्रममा कर्णालीको पत्रकारिता र पत्रकारहरुलाई तथानाम गालीगलौज गर्ने जुम्लाका ज्ञानेन्द्र शाहीलाई प्रहरीले यातना नदिएको प्रष्ट पारेको छ । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले सोमबार पत्रकार सम्मेलन गर्दै शाहीले प्रहरीमाथि लगाएको आरोप गलत र निराधार भएको बताएको हो ।

गत वैशाख १८ गते एक अनलाइनलाई फेसबुकमार्फत अन्तर्वार्ता दिँदै पत्रकारलाई तथानाम गाली गरेपछि नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश र सुर्खेत शाखाले संयुक्त रुपमा शाहीविरुद्ध जायरी दिएको थियो । प्रहरीको जाहेरीका आधारमा जिल्ला अदालत सुर्खेतले वैशाख १९ गते शाहीलाई पक्राउका लागि वारेन्ट जारी गरेको थियो।

अदालतको आदेशमा शाहीलाई जेठ १५ गते वीरेन्द्रनगरको खुल्लामञ्चबाट प्रहरीले पक्राउ गरेको थियो। शाही पक्राउ परेयता सामाजिक सञ्जालमा प्रहरी र पत्रकारहरुमाथि टिकाटिप्पणी हुन थालेको हो । पत्रकार सम्मेलनमा बोल्दै कर्णाली प्रदेश प्रहरी प्रमुख डिआईजी महेशविक्रम शाहले सञ्चार माध्यममा शाहीले प्रहरीबाट यातना खेप्नुपरेको भनेर दिएको अन्तरवार्ता निराधार र गलत भएको दावी गर्नुभयो ।

शाहीलाई पक्राउ पूर्जी विनै पक्राउ गरेर हिरासतमा चरम यातना दिइएको भन्दै विरोध भएपछि प्रहरीले उक्त अभिव्यक्तिहरु आधारहिन भएको बताएको हो । प्रहरीका अनुसार अदालतले पक्राउ पूर्जी जारी गरे पश्चात शाहीको खोजतलास गरिएको थियो । शाहीलाई पक्राउ गर्ने क्रममा प्रहरी निरीक्षक निरञ्जन घिमिरे, प्रहरी हवल्दार प्रकाश बुढा र प्रहरी जवानद्वय रामसागर वर्मा, जीतबहादुर बोहरा, पवन सुवेदी र हस्त सिंह घाइते भएका छन्।

शाहीसँगै प्रहरीले वीरेन्द्रनगर–६ का प्रेम विक, दीपक शाही, जुम्ला सिंजाका हिक्मत खत्री, मदन शाही, कोहलपुर बाँकेकी मेनुका भूषाल र रजिना परियारलाई प्रहरीले पक्राउ गरेको थियो। शाहीसँगै पक्राउ परेका समर्थकहरुलाईसमेत सार्वजनिक अपराध अन्तर्गत मुद्दा चलाइएको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू