अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:४७ | Colorodo: 18:02

गलत सामाजिक/ सांस्कृतिक मान्यता र परम्परालाई ध्वस्त पार्नुपर्छ – राष्ट्रपति भण्डारी

बिआरटीनेपाल २०७६ जेठ ११ गते ५:४४ मा प्रकाशित

राष्ट्रपति विद्यादेवी भण्डारीले सदियौंदेखि समाजको आधारभूत तहमा जरा गाडेर बसेको गलत सामाजिक तथा सांस्कृतिक मान्यता र परम्परालाई ध्वस्त पार्नुपर्ने बताउनुभएको छ । राज्यले सुनिश्चित गरेको सामाजिक परिवर्तन र समृद्धिको यात्रामा धैर्य, साहस, सुझबुझ रुपमा समाजलाई परिचालित गर्न चेतनशील र जागरुक समुदाय अग्रसर हुन आवश्यक रहेको उहाँले बताउनुभयो ।

बुढानीलकण्ठ नगरपालिका–७ हात्तीगौंडामा  मानवअधिकारको लागि एकल महिला समूहको नवनिर्मित छहारी भवनको आज उद्घाटन गर्दै उहाँले यस्तो प्रयासबाट समाज, राष्ट्र र सम्पूर्ण विश्व नै सुसंस्कृत बन्ने र मानव जीवन सुखी र सम्पन्न हुने उल्लेख गर्नुभयो ।

राज्यले अँगालेका महत्वपूर्ण प्रावधानको प्रभावकारी कार्यान्वयनले महिलाको चौतर्फी विकासमा ठूलो योगदान पुग्ने अपेक्षा गरिएको बताउँदै राष्ट्रपति भण्डारीले स्वस्थ्य र सभ्य संस्कृतिको विकास गरी सामाजिक सुसम्बन्धमा आधारित समाज निर्माण गर्ने राज्यको लक्ष्य रहेको बताउनुभयो । उहाँले मौलिक हकको रुपमा संविधानमै असहाय र एकल महिलाको लागि सामाजिक सुरक्षाको व्यवस्था गरिएको समेत उल्लेख गर्नुभयो ।

कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले राजनीतिक र संवैधानिक दृष्टिकोणले आधारभूत रुपमा समाजमा भेदभाव टुङ्गिए पनि सामाजिक, सांस्कृतिक र आर्थिक पाटोबाट भने भेदभाव अझै हट्न बाँकी नै रहेको बताउनुुभयो । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले एकल महिलाको हक अधिकार र सम्मानको लागि २५ वर्षदेखि थालिएको अभियानले मुलुकभरका महिलालाई सङ्गठित गर्न सफल भएको बताउनुभयो ।

समूहकी अध्यक्ष कुन्ता शर्माले एकल महिलालाई धर्म र संस्कृतिको जन्जिरमा बाँध्ने काम हँुदै आएकाले सबैको प्रयासमा यस खालका कुरीतिलाई अन्त्य गर्न आवश्यक रहेको बताउनुभयो । संस्थाकी संस्थापक अध्यक्ष लिली थापाले एकल भएकै आधारमा कुनै महिलालाई विभेद गर्नु हुन्न भन्ने अभियान सञ्चालन गर्ने सोचले स्थापना गरिएको समूहमा अहिलेसम्म एक लाख ६० हजार एकल महिला सङ्गठित रहेको जानकारी दिनुभयो ।

उक्त समूह स्थापनाको रजत महोत्सवको अवसरमा आयोजना गरिएको कार्यक्रममा ७६ जिल्लाका ५०० प्रतिनिधिको सहभागिता रहेको थियो । पछिल्लो जनगणनाअनुसार मुलुकमा एकल महिलाको सङ्ख्या कूल जनसङ्ख्याको ५.८ अर्थात ६ लाख १ हजार छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू