अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:०७ | Colorodo: 17:22

साउदी विमानस्थलमा यमनी विद्रोहीको ड्रोन आक्रमण, हतियार भण्डारमा आगो

बिआरटीनेपाल २०७६ जेठ ७ गते ९:३६ मा प्रकाशित

यमनका हुथी विद्रोहीहरुले साउदी अरेबियाको सीमावर्ती सहर नजरानस्थित नजरान सैनिक बिमानस्थलको हातहतियार भण्डारणमा ड्रोन आक्रमण गरेका छन् । हुथी विद्रोहीद्वारा सञ्चालित अल(मासिराह टेलिभिजनले कासिफ(के२ ड्रोनबाट गरिएको आक्रमणबाट हतियार भण्डारमा आगो लागेको दाबी गरेको छ ।

यसैबीच साउदी समर्थित गठबन्धनका प्रवक्ता कर्णेल टुर्की अल–मलेकीले बिस्फोटक पदार्थ बोकेको ड्रोनबाट नजरान बिमानस्थललाई लक्षित गरी आक्रमण भएको बताउनुभयो । साउदी अरेबियाले पश्चिमी शहरहरु जेद्दाह र ताइफलाई लक्षित गरिएका ब्यालेस्टिक क्षेप्यास्त्रहरु ध्वस्त बनाएको दाबी गरेकै भोलिपल्ट नजरानमा हुथी विद्रोहीबाट ड्रोन आक्रमण भएको हो । हुथी विद्रोहीहरुले यमनमा युद्ध भडकिएदेखि नै साउदी अरेबियाका विभिन्न शहरहरुलाई लक्षित गरी आक्रमण गरिरहेका छन् ।

आइतबार, इरान समर्थित हुथी विद्रोहीहरुले साउदी अरेबिया र संयुक्त अरब इमिरेट्समा रहेका ३०० वटा महत्वपूर्ण सैनिक ठेगानाहरुमा आक्रमण गर्ने चेतावनी दिएको छ । हुथी विद्रोहीले साउदी गठबन्धनले यमनमा आक्रमण गर्न छाडेमात्र आफूहरुले पनि आक्रमण रोक्ने बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू