अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:०४ | Colorodo: 23:19

प्रेस स्वतन्त्रता र मानव अधिकारविरोधी विधेयक पास हुन दिन्नौं- सभापति देउवा

बिआरटीनेपाल २०७६ जेठ ४ गते ६:२४ मा प्रकाशित

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले स्वतन्त्र प्रेस तथा मानवअधिकार नै कुण्ठित हुने गरी संसदमा ल्याएका कुनै पनि विधेयक पास पास हुन नदिने बताउनुभएको छ । शनिबार विराटनगर विमानस्थलमा पत्रकारसंग कुराकानी गर्दै सभापति देउवाले प्रेस र मानवअधिकारलाई कुण्ठित गर्ने विधेयक फिर्ता हुनुपर्छ भन्ने कांग्रेसको अडान रहेको उल्लेख गर्दै जबरजस्ती गर्न खोजे संसदबाट कुनै पनि हालतमा बिधेयक पारित हुन नदिने चेतावनी दिनुभयो ।

सरकारले विपक्षीको मागलाई सम्बोधन नगरी एकपक्षीय बजेट ढंगले ल्याएमा कांगे्रसले विरोध गर्ने तर रेलिङ नभत्काउने उहाको भनाई थियो । बन्द हड्ताल तोडफोडको नीति कांग्रेसको नरहेको देउवाले प्रष्ट पार्नुभयो । देउवाले कांग्रेसले सदनमा गरेको प्रस्तुति प्रभावकारी रहेको दाबी समेत गर्नुभएको छ । अदालत, मानवअधिकार, प्रेस काउन्सिलमा भएको हस्तक्षेपको विरुद्धमा कांग्रेस रहेको बताउँदै उहाँले डेढ वर्षमा सरकारको कामकारबाही केही नभएको टिप्पणी गर्नुभयो ।

पार्टीको महाधिवेशन समयमै हुने र कांग्रेसको जागरण अभियानले देशभर राम्रो सन्देश गएको सभापति देउवाको दावी थियो । तत्काल महाधिवेशन बोलाउन आवाज उठिरहेको भए पनि देउवाले भने समय आएपछि महाधिवेशन गरिने बताउनुभयो । विपक्षीलाई प्रधानमन्त्रीले गर्ने व्यवहारबारे पत्रकारले सोधेको प्रश्नमा देउवाले प्रधानमन्त्रीले जे पायो त्यही बोल्दै हिंडेकोले त्यस्तो व्यवहार आफैँ सुधार गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू